0
गोल्डेन न्यूज संवाददाता
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चाहिने उपकरणहरु केही दिनमा पोखरा आइपुग्ने भएका छन्। निमार्ण कम्पनीले मुख्य कार्यालयबाट पोखरा सामान ल्याउन लागेको हो । विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले विमानस्थलको सम्पूर्ण जग्गामा तारवार लगाउन सुरु गरेको छ । कम्पनीले २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार १०६ रोपनी जमीनको तारवार लगाउन बाँकी भाग र पछि थप गरिएएको ६२९ रोपनीको पूरै जग्गामा तारवार लगाउन सुरु गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिए । यस्तै, कम्पनीले प्राविधिक कर्मचारी, कामदार र सामान राख्ने अस्थायी भवन पनि बनाउन सुरु गरेको र आगामी कात्तिक ४ गतेसम्ममा ती सबै अस्थायी भवन बनाइसक्ने इन्जिनियर सापकोटाले बताए। ठेकेदार कम्पनीले विमानस्थल निर्माणको प्रारम्भिक डिजाइन अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई बुझाइसकेको छ । विमानस्थल निर्माणका लागि चाहिने आवश्यक उपकरण कम्पनीको मुख्य कार्यालयबाट लोड गरिसकिएको र अब केही दिनमा निर्माणस्थलमा आइसक्ने बताइएको छ । मुलुककै गौरवशाली आयोजनाका रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२० जुलाईसम्ममा सक्ने लक्ष्य राखिएको छ ।

Post a Comment

 
Top