0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारले भारतको राजदूतमा दीपकुमार उपाध्यायको नाम सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यायको नाम राजदूतको लागि सिफारिस गरेको हो। कांग्रेसको नेता समेत रहेका उनलाई यसअघिको केपी ओली नेतृत्वको सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । ओली सरकारले गत बैशाखमा उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उपाध्याय सरकार परिवर्तन गर्न नांगोरुपमा प्रस्तुत भएको, नेपालमा आउँदा परराष्ट्रलाई जानकारी नगराएको र भारतीय राजदूत रञ्जीत रेसँग मधेसका जिल्ला भ्रमण गरेर सरकारविरोधी गतिविधि बढाएको लगायतका आरोप लगाउँदै उपाध्यायलाई हटाएको थियो । उपाध्यायलाई पूर्ववर्ती सुशील कोइराला सरकारले २०७१ माघमा राजदूत नियुक्त गरेको थियो । कपिलवस्तुबाट दुई पटक सांसद निर्वा्चित भएका उपाध्याय अर्थ राज्यमन्त्री र पर्यटन मन्त्री भइसकेका छन् ।
 
यसैगरी सरकारले विभिन्न महत्वपूर्ण मन्त्रालय तथा निकायका ८ सचिवलाई सरुवा गर्नुका साथै दुई जना सहसचिवलाई विशिष्ट श्रेणीमा बढुवा गरेको छ । मन्त्रिपरिषदको बैठकले अर्थसचिव लोकदर्शन रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगोलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई अर्थमन्त्रालयमा सरुवा गरिएको छ । तत्कालीन अर्थमन्त्री वर्षमान पुनका पालामा समेत सुवेदी अर्थसचिव थिए । उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई अख्तियारमा सरुवा गरिएको छ ।
स्थानीय विकास मन्त्रालयका सचिव महेन्द्र गुरुङ र सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणि शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्थानीय विकास मन्त्रालयका सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकै अर्का सचिव शान्त बहादुर श्रेष्ठलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषदले सहसचिवद्वय लोकप्रसाद आचार्य र पूर्णचन्द्र भट्टराईलाई सचिवमा बढुवा गरेको छ । सरकारले सबभन्दा वरिष्ठबाट बढुवा हुने एक पदमा सहसचिव आचार्यलाई सचिवमा बढुवा गरेको हो । बढुवा समितिले कार्यसम्पादन र योग्यताक्रमअनुसार सिफारिस गरेका तीन सहसचिवमध्येबाट सरकारले भट्टराईलाई पदोन्नति गरेको हो । बढुवा समितिले विनोद केसी, कृष्ण देवकोटा र पूर्णचन्द्र भट्टराई सचिव पदोन्नति गर्न सिफारिस गरेको थियो । वरिष्ठलाई छाडी सरकारले तेस्रो वरियताका भट्टराईलाई बढुवा गरेको हो । मन्त्रिपरिषदले आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय डोटीको क्षेत्रीय प्रशासक र भट्टराईलाई सामान्य प्रशासन मन्त्रालयमा सचिवमा पदस्थापन गरेको छ । भट्टराई बढुवा हुनासाथ मन्त्रालय पाउने सौभाग्यशाली सचिव भएका छन् । यसैगरी मन्त्रिपरिषदले प्रधानमन्त्री पुष्पकमल दाहालको आर्थिक सल्लाहकारमा अर्थविद डा. श्रीराम पौडेल र परराष्ट्र मामिला सल्लाहकारमा डा.ऋषिराज अधिकारीलाई नियुक्त गरेको छ । पौडेल त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा प्राध्यापक हुन् भने अधिकारी मलेसियाका लागि नेपालका पूर्व राजदूत हुन् । अधिकारी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका प्रमुखसमेत थिए । यसैगरी सरकारले राष्ट्रबैंकका कार्यकारी निर्देशक मीनबहादुर श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ । उनी बैंकमा राष्ट्र ऋण विभाग प्रमुख थिए । यस्तै मन्त्रिपरिषदले प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाको निर्वाचनसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।









Post a Comment

 
Top