0
वर्तमान संसारमा सुसूचित गर्नेमात्र हैन सुशासन स्थापनाका सन्दर्भमा पनि पत्रकारिताको भूमिका महत्वपूर्ण हुन्छ । पारदर्शिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न मिडियाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । पत्रकारिता पारदर्शिता बढाउने महत्त्वपूर्ण औजार हो भने सुशासनको स्थापना पारदर्शितामा मात्र सम्भव हुनसक्छ । विविध प्रकरणमा मिडियाले सञ्चालन गरेको अभियानबाट पनि यसको पुष्टि हुन्छ । विगतमा भ्रष्टाचारका विभिन्न मुद्दा जनसमक्ष ल्याई सुशासन कायम गर्न मिडियाले निर्णायक भूमिका निर्वाह गरेको अहिले पनि सम्झनै पर्ने हुन्छ ।  भ्रष्टाचार नियन्त्रणका लागि अन्य थुप्रै उपाय उपयोगी होलान् तर व्यावसायिक पत्रकारिता सबैभन्दा प्रभावकारी उपाय हुन सक्नेमा विवाद छैन । यस सन्दर्भमा खोजी पत्रकारितामार्फत् मिडियाले आफ्नो भूमिका अझै सशक्त बनाउन सक्छ । विश्वका अन्य देशमा  झैँ नेपालमा पनि पछिल्लो समयमा पत्रकारिताको बिस्तारै संस्थागत हुँदैगएको छ । साथै, दुःखद पक्ष के छ भने पत्रकारिताभित्र विकृति पनि बिस्तारै बढ्दैछ । यस्तै एउटा विकृति हो –भ्रष्टाचार । 
पत्रकारिता र भ्रष्टाचार
भ्रष्टाचार र अनियमितता प्रायः अपारदर्शितामा मौलाउँछन् । जहाँ अँध्यारो अर्थात् सार्वजनिक निकायका गतिविधि जनताबाट लुक्ने अवस्था हुन्छ त्यहाँ भ्रष्टाचारले प्रश्रय पाउँछ । पत्रकारिताको महत्त्व यहाँनिर बढ्छ । पत्रकारिताले लुकेका कुरालाई बाहिर ल्याउने, अँध्यारो चिरेर उज्यालोको निर्माण गर्ने अर्थात् अनियमितता सार्वजनिक गरेर खबरदारी गर्ने विश्वास गरिन्छ । पत्रकारिताले पारदर्शिता अभिवृद्धि गरी भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा हुनु अस्वाभाविक पनि होइन । पत्रकारिताले अफ्नो यही दायित्व निर्वहनमार्फत् अनेकौं खुलासा गरेको साक्षी हाम्रै सन्दर्भ पनि छ । माथि उल्लेख गरियो, पारदर्शिता अभिवृद्धि गरी भ्रष्टाचार नियन्त्रण र यसका माध्यमबाट सुशासन कायम गर्ने विषयमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुन्छ । पत्रकारिताले जनतालाई सुसूचित गरी चेतना जगाउँछ र सम्बन्धित पक्षबीच खबरदारी गर्ने कार्य गर्छ । जनतालाई अनियमितताविरुद्ध आवाज बुलन्द गर्न अभिप्रेरित गर्छ भने दोषीलाई कठघरामा ल्याई कानुनी प्रक्रियाका लागि हौस्याउने गर्छ । यही गुणका आधारमा पत्रकारितालाई समग्रमा लोकतन्त्रको पहरेदार भनिएको हो । 
तर, भ्रष्टाचार नियन्त्रणका लागि सक्रिय उपकरणका रूपमा स्थापित मिडिया जब आफैँ भ्रष्टाचारको मतियार बनेको आरोप लाग्छ, समस्या त्यसबेला उत्पन्न हुन्छ । यस्तो अवस्थामा मिडियाले खबरदारी र पहरेदारी गर्ने नैतिक क्षमता त गुमाउँछ नै समग्रमा जनताको विश्वास गुमाउने अवस्था उत्पन्न हुन्छ । यस्तत्र अवस्था लोकतन्त्रका लागि त खतरनाक हो नै पारदर्शी शासन व्यवस्था र समाजको निर्माणका लागि पनि बाधक हो । यो अवस्था स्वयं पत्रकारिता जगतका लागि झन् बढी घातक हुन्छ ।  
साख र विश्वसनीयताको संकट
मिडिया स्वयं भ्रष्टाचारको मतियार बनी अनियमिततामा संलग्न रहेको आरोप लागेका अनेकौं उदाहरण छन् । यस्तो आरोप सम्बद्ध पत्रकारका लागि त हानिकारक हो नै सम्वन्धित मिडियाका लागि अझ बढी दूर्भाग्यपूर्ण हुन्छ । यस्तो अवस्थाका कारण उत्पन्न परिस्थितिले सम्बद्ध मिडियाको विश्वसनीयता र साख तल्लो स्तरसम्म गिर्न पुग्छ । यसरी खस्केको साख पुनःस्थापित गर्न सकिँदैन । सकेमा पनि पुरानै अवस्थामा पुर्रुयाउन निकै कठिन हुन्छ ।  करिब दुई वर्षअघि यस्तै अवस्थाको समना गर्नुपरेको थियो भारतीय टेलिभिजन च्यानल जी टीभीले । यसका दुईजना पत्रकारले कोइलाको खरिद विक्रीका सम्बन्धमा सम्प्रेषण गरेको समाचार आरोपित हुन पुग्यो । अनुसन्धान गर्दै जाँदा पछि त्यसमा पत्रकारले आर्थिक भ्रष्टाचार गरेको प्रमाणित भएको थियो । यस घटनापछि उक्त च्यानलको विश्वसनीयतामा निकै दिनसम्म समस्या अनुभव गरिएको थियो । यस्तै एक अन्य सन्दर्भमा अर्को चर्चित च्यानल आजतक पनि विवादमा मुछिएको थियो । यो विवादपछि त्यहाँ उपल्ला तहमा कार्यरत केही सञ्चारकर्मीले जिम्मेवारी त्याग गरेका थिए ।  भारतकै सन्दर्भमा हेर्ने हो भने त्यहाँ अहिले ‘पेड न्युज’ को प्रवृत्तिको बाहुल्य भएको अनुभव गरिन थालेको छ । विश्लेषकहरूले यस प्रवृत्तिलाई व्यावसायिक पत्रकारिताको ‘भाइरस’ भनेर भयावह अवस्थातर्फ संकेत गर्ने गरेका छन् ।
यस प्रवृत्तिअन्तर्गत विज्ञापनका रूपमा प्रकाशित वा प्रसारित हुनुपर्ने सामग्री रकम लेनदेनका आधारमा समाचारका रूपमा प्रकाशित गर्नु वा कुनै पनि समाचार प्रकाशित वा प्रसारित गर्न सम्बन्धित पक्षले आर्थिक मूल्य चुकाउनुपर्ने अभ्यास पर्छ । यस प्रवृत्तिले पत्रकारिताको आत्मा नै मर्ने अवस्था सिर्जना हुन पुगेको छ । पछिल्ला दिनमा स्टिगं अपरेसनहरू मोलमोलाइ र सौदावाजीका माध्यमका रूपमा प्रयोग हुन थालेको पाइएको छ ।  हामी पनि समस्याग्रस्त छिमेकी मुलुक भारतको पत्रकारितामा देखिएको भ्रष्टाचारको नकारात्मक प्रवृत्तिजस्तै दुःखद अवस्था नेपालमा पनि अनुभव गरिन थालेको छ । केही दिनअघिको कुरा हो, नापी कार्यालयका एकजना कर्मचारीले यस पंक्तिकारलाई एउटा अनलाइनको हवाला दिँदै आफ्नाविरुद्ध एउटा समाचार प्रकाशित गरी एक लाख रुपैयाँ माग गरेको र नदिए थप सामग्री प्रकाशित गर्ने धम्की दिएको बताएका थिए । पंक्तिकारले निजलाई प्रेस काउन्सिलमा उजुरी गर्न सल्लाह दिएको सन्दर्भको उल्लेख गर्नु यहाँ जरुरी छ । सम्भवतः तिनले काउन्सिलमा उजुरी गरेका छन् वा गर्ने तयारीमा छन् । यस्तो आरोप अहिले नेपालका थुप्रै अनलाइनले बेहोरिरहेका छन् । परिणामतः अनलाइनहरू अहिले विश्वसनीयताको संकटमा छन् । विसं २०५२÷५३ तिरको कुरा हो । नेपाली पत्रकारिताको आकाशमा एकैपटक धेरै ‘ब्रोडसिट’ अखवार अस्तित्वमा आए । तीमध्ये केही बन्द भइसकेका छन् भने केही अहिले पनि प्रकाशित भइरहेका छन् । त्यसबेला अस्तित्वमा आएका अखवारहरू विविध आरोपबाट आरोपित भए । यस्ता आरोपमा मूलतः कालो धनलाई सेतो बनाउने प्रयास केन्द्रित थियो भन्ने गरिएको छ । कुनैलाई एलसी घोटालाको परिणाम, कुनैलाई आपराधिक आम्दानीको उपज त कसैलाई व्यापार चोख्याउने दाउका रूपमा हेरियो । यी आरोपमा सत्यता कति छ त्यसको लेखाजोखा भविष्यले बिस्तारै गर्दै जाला तर एउटा सत्य के हो भने यस्ता सञ्चारमाध्यम आरोपमुक्त हुन नसक्दा तिनले विश्वसनीयताको संकट भने बेहोर्नुपर्रुयो । भ्रष्टाचारको सन्दर्भ केलाउने हो भने निश्चय पनि यस्ता आरोप महत्वपूर्ण हुन्छन् ।
 
यस्तै करिब तीन वर्ष पहिले आफूलाई पत्रकार भनेर दाबी गर्ने एक जनाले ‘हिडेन (लुकाइएको) क्यामेरा’को सहयोगमा स्टिङ अपरेसनका नाममा विभिन्न पेसाकर्मीसँग रकम असुलीको धन्दा चलाएको स्मरणीय छ । निज पत्रकार भन्नेको बदनियतको सिकार एक जना चिकित्सक पनि बनेको सार्वजनिक भएको थियो । कथित पत्रकारले निज चिकित्सकसँग पनि रकमको माग गरेको खुलासा भएको थियो । यस्तै एक मासिक पत्रिकाले चार पाँच वर्षपहिले एउटा सुरक्षा निकायविरुद्ध लगातार समाचार सम्प्रेषण गरेको र पछि उक्त निकायले पत्रिकाविरुद्ध प्रेस काउन्सिलमा उजुरी गरेको घटना पनि निकै चर्चामा आएको थियो । पत्रिकालाई काउन्सिलले कारबाही गरेको थियो । यसैगरी विगतमा नेपाल प्रहरी प्रत्यक्षतः जोडिएको सुडान घोटालाका सम्बन्धमा पनि मिडिया विवादमा आएको स्मरणीय छ । सुडान घोटालाका सम्बन्धमा केही सञ्चारमाध्यम घोटालाको खुलासाका दिशामा सक्रिय रहेको पाइयो भने केही सञ्चारमाध्यम सुडान मिसनमा भ्रष्टाचार नभएको प्रमाणित गर्न कस्सिएका थिए ।  यस्तै अवस्था सुडान घोटालाअघिको लाउडा र चेज एयर विवादका सम्बन्धमा पनि देखिएको थियो । कतिले यसको विरोध गरे भने कतिले यसको समर्थन गरेका थिए । दुवैथरी मत असन्तुलित थिए । यी प्रकरणमा सन्तुलित समाचार सामग्रीको नितान्त अभाव थियो । यसकापछाडि सम्बद्धहरूको भ्रष्ट आचरण जिम्मेबार थियो भनियो भने अस्वाभाविक हुनेछैन । रकम लेनदेनको सन्दर्भ निकै चर्चामा आएको थियो । 
 
विगतको ०६२र०६३ को जनआन्दोलनको समयमा देशमा क्रियाशील तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको सरकारले केही पत्रकारलाई ’बक्सिस’ वितरण गरेको समाचार जनआन्दोलनपछि सार्वजनिक भएको थियो । त्यसो त त्यसमा नाम मुछिएका धेरैजसोले विभिन्न निकायबाट सफाइ पनि पाएका थिए तर यस घटनापछि जनताले पत्रकारलाई हेर्ने दृष्टिकोणमा नकारात्मक परिवर्तन आएको अनुभव गरिएको थियो । यस्तै विगतमा एक स्वास्थ्य मन्त्रीको सचिवालयबाट वितरण गरिएको र पत्रकारले स्वीकार गरेको ‘नगद उपहार’ को विवरण पनि निकै चर्चामा आएको थियो । यसरी वितरण गरिएको उपहार केही पत्रकारले स्वीकार गरे पनि एक जना पत्रकारले अस्वीकार गरेको समाचार सार्वजनिक भएपछि यस प्रकरणको खुलासा भएको थियो । यस्तै केही सञ्चारमाध्यम बैंकिङ अपचलनका लागि पनि आरोपित छन् । यस्ता माध्यमले स्रोत खुल्न नसकेको सम्पत्ति लगानी गरी वैध बनाउने प्रयास गरेको आरोप लाग्ने गरेको छ । यसैगरी नेपालका टेलिभिजन र रेडियो पनि अपवाद छैनन् । यी माध्यम र यसमा कार्यरत सञ्चारकर्मी पटकपटक विवादमा आइरहन्छन् । विगतमा मेडिकल कलेजहरू र तारे होटलको सेयरको सन्दर्भ नेपाली सञ्चारमाध्यममा बडो जोडतोडका साथ उठेको यहाँ उल्लेख्य छ । केही सञ्चारमाध्यम माथि विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय संघसंस्थाबाट औपचारिक वा अनौपचारिक सहयोग प्राप्त गरी अपारदर्शी ढंगबाट सञ्चालित रहेको आरोप लाग्ने गरेको छ । यस्ता मिडियाका कभरेजमा भ्रष्टाचार भएको थियो कि थिएन भन्न कठिन छ तर जनमानसमा एक किसिमको जिज्ञासा भने उत्पन्न भयो र त्यसको सम्बोधन हुन सकेन । यो सत्य हो । प्रश्न उठ्छ, यस्ता कभरेज खोजी समाचारका प्रमाण हुन् ? मोलमोलाइका आधार हुन्र ? भ्रष्टाचारका नमुना हुन् ? वा मिडियाविरुद्धको सुनियोजित षडयन्त्र ? उत्तर कठिन छ । उपत्यका र उपत्यकाबाहिरबाट प्रकाशित हुने केही साप्ताहिक पत्रिका यदाकदा विवादमा तानिने गरेका छन् । यस्ता प्रकाशन राजनीतिक गुट उपगुटबाट, व्यावसायिक घरानाबाट र कतिपय अवस्थामा आपराधिक छवि भएकाहरूबाट पनि सञ्चालन गर्ने गरिएको आरोप लागेको छ । यस्ता प्रकाशनको उद्देश्य नै बार्गे्निङ, ब्द्याकमेलिङ गर्ने, डराउने, धम्क्याउने र आर्थिक स्वार्थ पूरा गर्नु हो भनेर जनमानसमा चर्चा चल्नुलाई व्यावसायिक पत्रकारिताको प्रतिष्ठाका दृष्टिले सम्भवतः कसैले पनि उचित ठहर्रुयाउन सक्दैन । यस्ता चर्चा जति उत्कर्षमा पुग्छन् पत्रकारिताको साख त्यति नै स्खलित हुन्छ । 
अन्त्यमा
माथि उल्लेख गरिएका सन्दर्भहरू अन्तिम होइनन् । बरु यी त केही उदाहरणमात्र हुन् । यस्ता अनेकौ घटना छन्, सबैको चर्चा यहाँ सम्भव छैन र आवश्यक पनि छैन । दुःखको कुरा त के छ भने भ्रष्टाचारका घटनामा सञ्चारकर्मी र सञ्चारमाध्यम मुछिने घटनाको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यो अवस्था निर्माणका लागि पत्रकार र पत्रकारितासम्बन्धी संस्थामात्र जिम्मेवार भने छैनन् । कतिपय सन्दर्भमा कर्मचारीतन्त्र, राजनीतिक कार्यकर्ता, सुरक्षा संयन्त्रसँग सम्वद्ध निकाय पनि जिम्मेवार हुन्छन् । यी निकाय आफ्नो स्वार्थसिद्धिका लागि मिडियालाई प्रयोग गर्न तम्सन्छन् र मिडिया जानिँदो नजाँनिदो ढंगले भ्रष्टाचारमा मुछिन पुग्छ । यस्तै मुद्दा मामिलालाई प्रभावित गर्न पनि मिडियाको अवाञ्छित प्रयोग गरिने आरोप लाग्ने गरेकोछ । यो क्रम राजधानीमा मात्र सीमित छैन बरु राजधानीबाहिर मोफसलमा पनि यस्ता घटनाका अनेकौं उदाहरण छन् । पछिल्ला दिनमा प्रेस काउन्सिलमा यस्ता उजुरी पर्ने संख्यामा लगातार वृद्धि भइरहेको छ जो पत्रकारिताका निम्ति लाजमर्दो अवस्था हो । अन्यत्रका भ्रष्टाचारको खुलासा गर्नुपर्ने दायित्व बोकेका समाचारमाध्यम र पत्रकार स्वयं भ्रष्टाचारको आरोपमा लपेटिनुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुनु अशोभनीयमात्र होइन दुःखद छ । समाजमा पारदर्शिता कायम गरी भ्रष्टाचार नियन्त्रणमा सहयोगी साबित हुनुपर्ने मिडिया नै यस्ता अवाञ्छित गतिविधिमा संलग्न भएको प्रमाणित हुन्छ भने त्यस समाजमा कस्तो अवस्थाको सिर्जना हुन्छ ?




Post a Comment

 
Top