0
अमरदीप पराजुली
तुलनात्मक रुपमा हार्दिक रहेको नेपाल–भारत सम्बन्धमा त्यतिबेला दरार देखियो, जतिबेला दलहरु आफ्नो स्वत्वसहित संविधान निर्माणमा केन्द्रित भए । २०७२ जेठ २५ गते भएको १६ बुँदे सहमतिमा आफ्नो अस्तित्वको गुञ्जायस नभएपछि दिल्ली गर्मीको पारो हृवात्तै बढ्यो । संविधान रोक्न दिल्लीले कुटनीतिक मर्यादा नाघेर सम्भव–असम्भव सबै प्रयत्न ग¥यो । अन्ततः स्वाभिमानले जित्यो, अभिमान र प्रभुत्ववादी सोंचले हा¥यो । तर, परिणाम देशले नाकाबन्दीजस्तो जटिल परिस्थितिको सामना गर्नुप¥यो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्थे, ‘सरकारसँग संविधान साटिएको हो ।’ सत्तामा कांग्रेस–एमाले गठबन्धन थियो । सुशील सत्ता बहिर्गमनको त्रासमा थिए, ओली जीवनको उत्तरार्धमा प्रधानमन्त्रीको कुर्सीमा चढ्ने अभिलाषामा । चतुर प्रचण्डले सुशील–ओली नाडी छामे । ठाने, ‘राष्ट्रपति र प्रधानमन्त्रीको पित्कोले संविधानमा देखिएको प्रतिगामी अडान गल्नेछ ।’ अन्ततः त्यही भयो, ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बिराजमान गराउने प्रयत्नपछि संविधान बन्यो र ओली प्रचण्डकै बुई चढेर प्रधानमन्त्री बने ।
 
महाकाली सन्धिका सारथी ओली दिल्लीको विपरित धारामा उभिनु बाध्यता त पक्कै थियो, त्यसमाथि आश्चर्यजनक पनि । कमैले ठान्थे, दिल्ली दाहिना ओली यति छिटै राष्ट्रवादी कित्तामा उभिएलान् । उनी राष्ट्रवादी कित्तामा त उभिए । तर, पुष्पलाल र मदन भण्डारीको मार्गमा नभएर पृथ्वीनारायण र महेन्द्रको मार्गमा । यसले छिमेकीसँगको दुरी मात्र बढेन, आन्तरिक राष्ट्रियता पनि दुर्घटनाको डिलैमा पुग्यो । ओली टुक्काले देशलाई नश्लवादी र बिखण्डनवादीको मिथ्या अभियोगमा कित्ताकाट गर्रुयो । उनको बोलीमा ताली र गालीको विपरित परिदृश्य देखा प¥यो । अहिले प्रचण्ड दिल्ली भ्रमणमा छन् । उनी चाहन्छन्, नेपाललाई शक्तिशाली छिमेकीका बीच सशक्त पुल बनाउन सकियोस् । उनी चाहन्छन्–दिल्लीले नाकाबन्दीको आत्मसमिक्षा गरोस्, नेपाललाई हेर्ने आफ्नो पूर्ववत् दृष्टि बदलोस्, मित्रतामा फेरि उतार चढावपूर्ण परिस्थिति निम्तने सम्भावना सदाका लागि अन्त्य होस् । उनी चाहन्छन्, दिल्लीले आफ्नो विगतको कमजोरी बोध गरोस्, नेहरु डक्ट्रिनबाट आफूलाई माथि उठाउने प्रयत्न गरोस् । उनको भ्रमण यसैमा केन्द्रित देखिन्छ ।शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको वार्ता र त्यसपछि गरिएको संयुक्त सम्बोधनले प्रचण्ड मिसन सफल भएको प्रमाण बोल्दछ । कतिपय राष्ट्रवादी ठान्नेहरु प्रचण्डको कमजोरीको गौंडो कुरेर बसेकै थिए । हप्तौं पहिले नै झोलामा कालो ब्यानर बोकेर विरोधको तयारी गर्दै थिए । तर, त्यो परिस्थिति आउन नदिन प्रचण्ड बढ्ता नै सचेत थिए । किनकि, राष्ट्रियताको मोर्चामा उनले खेलेको भूमिका सबैभन्दा अग्रभागमा थियो । यसरी विरोधका ढोकाहरु स्वचालित रुपमै बन्द भएपछि एकथरी मान्छेहरु भ्रमणको कुटनीतिक र रणनीतिक महत्वलाई घटाउन प्राविधिक विषयलाई प्रचारबाजी गरिरहेका छन् ।
 
देशको प्रधानमन्त्रीको भ्रमणको समीक्षा कसरी गर्ने ? यो निकै महत्वको विषय हो । किनकि, प्रचण्डको भारत भ्रमण उनको नीजि मामिला हुँदै होइन । उनी देशका प्रधानमन्त्री हुन् । तर, उनको भ्रमणको सफलता वा असफलताको मापन र समीक्षा गर्ने सोंच र विधिमा निष्पक्ष बहस हुन सकेको छैन । एकथरी मान्छेहरु दुई देशका प्रधानमन्त्रीले गरेको सम्वाद र सार्वजनिक गरेको धारणालाई ओझेलमा पार्ने गरी सीता दाहालले कुटनीतिक परिपक्वता प्रदर्शन गर्न नसकेको हो–हल्ला गरिरहेका छन् । उनीहरु ठान्छन्, बायाँ उभिनुपर्ने सीता दायाँ उभिँदा देशको शीर झुक्यो । तर, के यसलाई नै पूर्ण सत्य मान्न सकिएला ? प्रचलित र स्थापित मान्यताअनुसार भ्रमणको प्राविधिक पक्ष पनि मिलेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्न सकिन्छ । तर, यसैका कारण भ्रमणको महत्व घटेको मान्न सकिँदैन ।
 
सीता दाहाल राष्ट्रिय गुरुत्व बोकेकी नेतृ पक्कै होइनन् । उनी एक ग्रामिण परिवेशबाट हुर्किएर राजनीतिमा आएकी महिला हुन् । उनका लागि मर्यादाभन्दा माओवादी आन्दोलन र देशको चिन्ता नै प्रमुख कुरा हो । उनी औपचारिकता जान्दिनन्, यो उनको प्रमुख सरोकारको विषय पनि होइन, उनको सरोकारको विषय हो, प्रचण्ड नेतृत्वको वर्तमान सरकार सफल हुनुपर्छ, राष्ट्रियता र नागरिक अभिमतको सम्मान हुनुपर्छ । यसका लागि प्रधानमन्त्री प्रचण्डलाई उनको निष्छल साथ छ । सीताको यथार्थ यही हो । यद्यपि, मर्यादा पालकहरुले यथेष्ट जानकारी दिनु राम्रो हुन्थ्यो भन्ने कुरामा तुक छ ।
 
 प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण गुरुत्वपूर्ण नै देखियो । विरोधलाई नै प्रतिपक्षीय राजनीतिको सिद्धान्त ठान्नेहरुका लागि लोकले पत्याउने त्यस्तो अस्त्र भेटिएन । त्यसपछि चिन्तनमा प्रतिपक्ष नै आफ्नो प्रगतिशील धर्म ठान्नेहरु सीताको निष्छल र पवित्र भावनामाथि प्रहार गर्न कसिएका छन् । तर, यसले भ्रमणको गुरुत्व किमार्थ घट्दैन र घट्ने छैन । प्रधानमन्त्रीको भारत भ्रमण देशको स्वाभिमानसँग गाँसिएको छ । उनको भ्रमणको आलोचना गर्दा देशको अस्मिताप्रति ख्याल गर्नैपर्दथ्यो । राजकीय भेटमा सीताको उपस्थितिको मर्यादामाथि भारतीय मिडियामा कुनै प्रश्न उठेन, सामाजिक सञ्जालमा लेखिएन । तर, आफूलाई दिग्गज बुद्धिजीवी र देशभक्त ठान्ने लाहाछापे प्रतिपक्षीहरु नै देशको स्वाभिमानप्रति आँखा चिम्लेर सीताका विरुद्ध उभिए । तिनीहरुले बुझ्नुपर्दथ्यो । मर्यादामा सीताको अज्ञानतावश् भएको त्रुटीलाई हामीले कलात्मक ढंगले रक्षा गर्नुपर्छ । तर, त्यसो गरिएन ।  बरु, तिललाई पहाड बनाएर भ्रमण र दुई देशीय सम्बन्धको गरिमा घटाउने प्रयत्न गरियो । मेरो विचार यो देशको स्वाभिमान माथिको आक्रमण हो, नेपालको अस्मितामाथिको आक्रमण हो । विरोधका नाममा देशको शीर झुकाउन कूप्रचार गर्ने सोंच दरिद्र मानसिकताकै उपज हो । मान्छे हो, जीवन हो । कसैको पनि सबै कुरामा सधैं ख्याल पुग्दैन । तर, हाम्रो पत्रकारिता र चेतनाले दृष्टिकोण कस्तो बनाउँछ ? त्यो कुरा मुख्य हो । हाम्रो सोंच र मानसिकता नै व्यवहारमा झल्कने हो । एउटा मानिस दिनभर एउटै औपचारिक तरिकाले रहँदैन । दिनभरी उसले गरेका सत्कर्महरुलाई बङ्ग्याउन बहाना खोज्ने हो भने जति पनि भेटिन्छ । तर, त्यसले सत्य छोप्न सकिँदैन । सीताले महाकाली बेचिनन्, उनी दिल्लीसामू लम्पसार परिनन्, उनले राजाको पाउमा दाम राखिनन्, उनले जनआन्दोलन र गणतन्त्रलाई बयलगाढा भनिन्, उनले सत्ताका लागि बिन्तीपत्र हालिनन्, उनले ठूलदाइ खुसी पार्न झण्डा झिकेर दराजमा राखिनन् । उनले जति जानिन्, त्यति नै गरिन् । एउटा गाउँले परिवेश, सामान्य जीवनशैली, सामान्य साक्षरता र सन्ततिका लागि भलो सोंच्न हाम्रा आमाहरुको जीवनको बिम्व नै सीता दाहाल हुन् । उनले कुनै दम्भ प्रदर्शन गरेर दायाँ वा बायाँ उभिएकी पक्कै होइनन्, त्यसमाथि विश्व राजनीतिमा यस्ता थुप्रै कुटनीतिक भेटघाट छन्, जहाँ औपचारिकभन्दा अनौपचारिक सम्बन्धलाई महत्व दिने गरिएको छ ।
 
अज्ञानता र नियत एउटै कुरा होइन । गुरुलाई गधा र गधालाई गुरु बनाउने बिजातीय सोंचले नियतलाई अज्ञानता र अज्ञानतालाई नियतमा बदल्न खोज्छन् । तर, एकदिन असल नियतले नै जित्छ । भारत भ्रमणको क्रममा सीता दाहाल दायाँ उभिइन् वा बायाँ भन्ने कुराले उनको चरित्र र राष्ट्रको अस्मिता निर्धारण गर्दैन । बरु, उनको निष्छल मन, पवित्र सोंच र कुटनीतिक ज्ञानको सीमालाई बजारमा बिकाएर देशको बदनाम गर्नेहरुको कूकर्मले नै देशको अस्मिता डुवाउँछ । यो प्रश्न भारतीय मिडियाले उठाएको भए पनि हामीले कलात्मक रुपमा रक्षा गर्नुपर्दथ्यो । तर, अरुले प्रश्न नउठाउँदै हामी आफूलाई बहादुर र विद्वान सम्झेर देशको अस्मिता बेचिरहेका त छैनौं ? सीता दाहाल प्रचण्ड वा मोदीको नजिक उभिइन् भनेर चर्चा गर्नुपूर्व हामी देशको स्वाभिमान र अस्मिताका पक्षमा उभियौं कि विपक्षमा उभियौं ? प्राटेकल कस्तो छ भनेर बुझ्यौं कि बुझेनौं ? आत्मसमीक्षा गर्ने कि !
(लेखक पराजुली माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेता हुन्)





Post a Comment

 
Top