0
गोल्डेन न्यूज संवाददाता
एमाले निकट धादिङ–पोखरा सम्पर्क मञ्चको १५औं साधारणसभा शनिबार पोखरामा सम्पन्न भयो । साधारणसभामा एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपाल गुटको प्रभाव राम्रैसंग पर्यो । कार्यक्रममा धादिङका सबै नेता आउने प्रचार–प्रसार गरिएपनि गुट-उपगुटको कारण केही नेतामात्र साधारणसभामा सहभागी भए । मञ्च स्रोतका अनुसार कार्यक्रमको तयारीका क्रममा १/२ जना नेतालाईमात्र सहभागी गराउने थियो । तर सामाजिक संजाल, संचारमाध्यम बाट प्रचार–प्रसार गरिएपछि उक्त प्रचारले अर्कै मोड लियो ।  गुटको प्रभावका कारण मञ्चकै पदाधिकारी बीच  विवाद उत्पन्न भएपछि धादिङका प्रायःजसो नेतालाई बोलाउने निर्णय भएको मञ्चका एक पदाधिकारीले जानकारी दिए । सबै नेतालाई बोलाउने भएपछि पनि कार्यक्रमको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विषयमा मञ्चमा विवाद कायमै रह्यो । अन्ततः पार्टीको पदीय हैसियतले कार्यक्रमको प्रमुख अतिथि ओली पक्षका आमन्त्रित स्थायी कमिटी सदस्य तथा केन्द्रीय लेखा समिति संयोजक डा.पुष्पराज कंडेललाई बनाउने निर्णय मञ्चले गर्यो । तर जिल्लाका नेताहरुलाई मञ्चको यो निर्णय मन परेन । कंडेललाई प्रमुख अतिथि बनाउने विषयमा नेपाल पक्षका पूर्व मन्त्री समेत रहेका सांसद राजेन्द्र पाण्डेले आपत्ति जनाए। उनले पार्टीको केन्द्रीय हिसावले होइन पार्टीमा गरेको कामको मूल्याङ्कनको आधारमा कंडेल प्रमुख अतिथि हुन नसक्ने भन्दै पाण्डेले आपत्ति जनाएपछि शुक्रबार राति अबेरसम्म प्रमुख अतिथिको टुङ्गो लागेको थिएन । यता पाण्डेको आपत्तिपछि मञ्चका पाण्डे पक्षधरले पनि पार्टीमा मर्यादाको हिसाबले कंडेल अगाडि रहेपनि योगदान र भूमिकाको हिसावले पाण्डे अगाडि रहेको भन्दै पाण्डेलाई नै प्रमुख अतिथि बनाउनुपर्ने अडान राख्यो ।  यी २ नेता र पक्षधरको टकरावपछि नेता गंगाधर तुलाधर पक्षधरले पनि प्रमुख अतिथि गंगालाललाई बनाउने अडान राख्न थाल्यो ।  नेता कंडेललाई प्रमुख अतिथि बनाएकोमा नेता तुलाधर समेत असन्तुष्ट थिए भने नेता कंडेल प्रमुख अतिथिका लागि भनेर आफू पोखरा आइसकेको भन्दै प्रमुख अतिथि नबनाउने भए कार्यक्रममै सहभागी नहुने चेतावनी दिए ।

पाण्डे र तुलाधर शनिबार मात्र पोखरा आउने भएपनि नेता कंडेल भने शुक्रबारै पोखरा आएर विभिन्न कार्यक्रममा सहभागी भइसकेका थिए । यता मञ्चलाई पनि प्रमुख अतिथि डा. कंडेल नै भनेर प्रचार गरिसकेपछि अर्को व्यक्तिलाई प्रमुख अतिथि बनाउन समस्या पर्यो । प्रमुख अतिथि आ-आफ्ना पक्षका नेतालाई बनाउन केन्द्रबाट मञ्चका पदाधिकारीलाई लगातार फोन दवाव आएको थियो । शनिबार बिहानसम्म पनि सबै नेता आ-आफ्नै अडानमा रहेपछि साधारण सभा नै नहुने हो कि भन्ने अन्यौलता सृजना भयो । नेता राजेन्द्र पाण्डे पक्षधरले लचिलो भएर नेता पाण्डे र सांसद धनबहादुर घले, जिल्ला सभापति भूमि त्रिपाठीलाई नबोलाउने निष्कर्षमा पुग्यो । नेता पाण्डे अस्वस्थताको कारण देखाउँदै, सांसद घले काम विशेष भन्दै पोखरा आएनन् । पाण्डे, घले र त्रिपाठी नआउने भएपछि उनीहरुको स्थानमा सांसद गुरु बुर्लाकोटी र जिल्ला सचिव तथा उप–सचिव सहभागी थिए ।
साधारणसभामा ओली पक्षका कंडेललाई प्रमुख अतिथि बनाउने र नेपाल पक्षका सांसद तथा पूर्व मन्त्री तुलाधरलाई विशेष अतिथि बनाउने तयारी भयो र सोही अनुरुप कार्यक्रम सम्पन्न भयो । कंडेल प्रमुख अतिथि बन्ने भएपछि तुलाधर असन्तुष्ट थिए । नेता तुलाधरले कार्यक्रमको उद्द्घाटन कंडेलले गर्दा ताली समेत बजाएका थिएनन भने मन्तव्यका क्रममा राम्रोसंग बोलेका पनि थिएनन् । तुलाधर आफ्नो मन्तव्य सके लगत्तै निराश अनुहारमा कार्यक्रम स्थलबाट बाहिरिएका थिए। यस्तै सम्पर्क मञ्चको अवस्था र कार्यक्रमको तयारीका बारेमा बुझ्न जिल्ला सभापति भूमि त्रिपाठीका साथै नेता पाण्डेले दुई जना पत्रकार समेत पोखरा पठाएका थिए । उनीहरुले नेता पाण्डे, जिल्ला अध्यक्ष त्रिपाठी पोखरा आउन उचित नहुने जानकारी गराएपछि नेपाल पक्षधरका अन्य तल्ला तहका नेता पोखरा आएको बताइन्छ । पोखराको कार्यक्रमका लागि भनेर आएका पत्रकारहरु नेता नेपाल पक्षधर रहेको प्रष्ट बुझ्न सकिन्थ्यो । किनकि उनीहरु कार्यक्रम स्थलमा केही मिनेटमात्र बसेका थिए भने शुभकामना मन्तव्यका लागि उद्घोष गरिंदा समेत पत्रकार शुभकामना मन्तव्य दिन आएनन् । पत्रकारलाई शुभकामना मन्तव्यका लागि उद्घोषक गोर्कण अधिकारीले नाम दोहोर्याउन खोज्दा प्रमुख अतिथि कंड्लले रोकेका थिए । मञ्चमा आवद्ध सदस्यहरु अधिकांश नेपाल पक्षधर तथा क्षेत्र नं. १ र २ का रहेको बताइन्छ । नेपाल पक्षधर नेता पाण्डे र क्षेत्र नं. १ का सांसद घले र जिल्ला अध्यक्ष त्रिपाठी नआएपछि अधिकांश कार्यकर्ता तथा मञ्चका सदस्यहरु निराश थिए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि कंडेलले जिल्लाको विकास विशेषगरि क्षेत्र नं. १ र २ को विकासका बारेमा जिज्ञासा राख्दा उक्त क्षेत्रका सम्बन्धित सांसद तथा नेतालाई सोध्न भन्दै सो बारेमा आफूलाई जानकारी नभएको बताएका थिए । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.पुष्पराज कंडेलले मुलुकको अबको पहिलो शक्ति एमाले नै भएको ठोकुवा गरे । उनले मुलुकको विकास र संवृद्धि समेत एमाले बाहेक अन्य कुनै पनि पार्टीले गर्न नसक्ने बताए ।  सांसद एवं पूर्व मन्त्री गंगालाल तुलाधरले मुलुकको परिस्थिति एमालेले सोचेजस्तो नभएको बताए । उनले एमालेले माओवादी लाई बाँदरको घोडा बनाएर हिंड्दा अहिले यो अविगत भएको भन्दै प्रचण्डको गलत रवैयाका कारण नेपालको राजनीति सधैं अस्थिरतामा चल्ने गरेको बताए । उनले एमाले मुलुकको जिम्मेवार र शक्तिशाली पार्टी भएको ठोकुवा गर्दै उनले अबको पहिलो शक्ति एमाले नै बन्ने दावी गरे । अर्का सांसद गुरु बुर्लाकोटीले पार्टीको गुट-उपगुटलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । उनले धादिङको विकास निर्माणका काममा आफूले ध्यान दिएको बताउँदै गाउँका बाटोहरुमा कालोपत्रे गर्ने योजना अघि सारेको जनाए । कार्यक्रम संयोजक एवं मञ्चका निवर्तमान अध्यक्ष कृष्ण बहादुर लम्सालले मतदाताले दिएको मतको कदर गर्न जिल्लाको विकासमा ध्यान दिन नेताहरुलाई आग्रह गरेका थिए ।
मञ्चका अध्यक्ष वेनी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा एमाले धादिङ जिल्ला सचिव शिव प्रसाद कंडेल, उपसचिव शम्भु थापा, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य कृष्ण अर्याल,  उपाध्यक्ष शेरबहादुर अधिकारी, सचिव गोकर्ण अधिकारी, कोषाध्यक्ष समिर अर्याल, सल्लाहकार शम्भु अधिकारी लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top