0
गोल्डेन न्यूज संवाददाता
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले आफ्नो आठौं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । पोखराको फेवातालमा जलकुम्भी झार सफा गरि र चियापान कार्यक्रम गरि स्थापना दिवस मनाएको जिल्लाका सह–सचिव सन्तोष परियारले जानकारी दिए । जिल्ला सचिव गणेश पौडेलको संयोजकत्वमा आयोजित फेवाताल सरसफाई कार्यक्रममा करिब ३० जनाको उपस्थिति थियो । लोकतान्त्रिक विद्यार्थी फोरमका केन्द्रिय महासचिव राजु पौडेलको विशेष उपस्थितिमा आइतबार बिहान ६ बजेदेखि १० बजेसम्म फेवाताल रहेको जलकुम्भी झार निकालिएको थियो ।  सरसफाई कार्यक्रम पश्चात संयोजक पौडेलले फेवाताल अहिले पुरै जलकुम्भीमय भएको र सरसफाईमा सबै मिलेर लाग्नु पर्ने बताए । फेवाताल पोखराको प्रमुख सौन्दर्यका रुपमा रहेको र यसको संरक्षण अभियानमा पनि आफ्नो पार्टी सँधै सरिक रहने उनले बताए । सरसफाई कार्यक्रममा करिब ३ टन जलकुम्भी तालबाट बाहिर निकालिएको परियारले जानकारी दिए ।  यसैबीच केन्द्रिय कार्यालय तीनकुने काठमाडौंमा पनि एक समारोहका बीच स्थापना दिवस मनाएको केन्द्रीय कार्यालयका मुख्य सचिव परमानन्द मेहेताले जानकारी दिए । केन्द्रीय पार्टी कार्यालयमा नयाँ झण्डा फेरी शुभकामना आदान–प्रदान गरिएको थियो ।  कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद मञ्चले केन्द्रिय अध्यक्ष विजयकुमार गच्छदारलाई सम्मान गरेको थियो । र पार्टीले ६ जना कलाकारहरुलाई पनि सम्मान गरेको थियो । समारोहमा बोल्दै अध्यक्ष गच्छदारले आफूले र आफ्नो पार्टीले विगतदेखि वर्तमानसम्म नेपालको राजनीतिमा विशेष भूमिका खेल्दै आएको बताए । हिजो जसरी ३ ठूला पार्टी र लोकतान्त्रिक फोरम एक ठाउँमा बसेर संविधान ल्याइएको थियो हो त्यसरी नै यसको कार्यान्वयनको लागि पनि सबै एकजुट हुन आवश्यक छ उनले भने । अब बन्ने सरकार पनि सहमतिको नै हुनुपर्ने र त्यस सरकारमा आफ्नो पार्टी पनि सरिक हुने भन्दै उनले केही विखण्डकारीहरुले अवरोध गरे पनि सबैलाई सहमतिमा ल्याउन र नयाँ संविधान कार्यान्वयनका लागि सबैसँग सहकार्य गरिराख्ने बताए ।


Post a Comment

 
Top