0
पोखरा २१ साउन ।

गत वर्षको भूकम्पका कारण कास्की जिल्लामा सबै भन्दा बढी क्षतिग्रस्त पञ्चकोशी निम्न माध्यमिक विद्यालय, चापाकोट कास्कीलाई पञ्चासे हर्पन डाँडा समाज युकेबाट दुई लाख ३४ हजार ७४२ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । सोही विद्यालयका पूर्व विद्यार्थी एवं पत्रकार गंगाधर पराजुलीको पहलमा वेलायतमा रहेका नेपालीहरुबाट उक्त रकम प्राप्त भएको हो । विद्यालयमा शुक्रबार आयोजित एक समारोहकाबीच पञ्चासे हर्पन डाँडा समाज युकेका तर्फबाट पोखरा सम्पर्क समितिका अध्यक्ष हिरालाल गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पराजुली र प्रधानाध्यापक मातृकाप्रसाद पराजुलीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा पञ्चासे हर्पन डाँडा समाजका स्थानीय कार्यक्रम संयोजक पदमबहादुर गुरुङले समेत व्यक्तिगत रुपमा १० हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका थिए ।
कार्यक्रममा गुरुङले भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विद्यालयका अत्यावश्यकीय समानका लागि उक्त सहयोग सदुपयोग हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय समाचार समितिका सञ्चालक सदस्य तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीले बेलायतमा विभिन्न पेशा र व्यवसायमा आवद्ध भदौरेतामागी र चापाकोट क्षेत्रका वासिन्दाको पहलमा रकम संकलन गरिएको जानकारी दिए । पराजुलीले आफूले केही साता अघि बेलायत भ्रमण गर्दा समाजका पदाधिकारी र सदस्यहरुसंग भेटघाट भएपछि विद्यालयको अवस्थाका बारेमा जानकारी गराएको र सोही कारणले सहयोग प्राप्त भएको स्पष्ट पारे ।
विद्यालयका पूर्व शिक्षक तथा थापाकोट गाविसका पूर्व अध्यक्ष भेषराज पराजुलीले भूकम्पले क्षतिग्रस्त विद्यालयका लागि विभिन्न तवरबाट सहयोग प्राप्त भएको बताउँदै प्राप्त सहयोग अत्यन्त उपयोगी बन्ने विश्वास व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष छविलाल अधिकारी लगायतले भूकम्पले क्षतिग्रस्त बनेसँगै विद्यालयका लागि विभिन्न तवरबाट सहयोग प्राप्त भइरहेको भन्दै विद्यालयका पूर्व विद्यार्थी र अग्रज पत्रकार पराजुलीको पहलमा वेलायतबाट सहयोग प्राप्त भएकोमा खुशी प्रकट गरेका थिए ।
विद्यालयललाई सहयोग गर्नेहरुमा पञ्चासे हर्पन डाँडा समाजका अध्यक्ष डम्बर काजी गुरुङले २५ हजार रुपैयाँ, महासचिव प्रकाशले १०० पाउण्ड सहयोग गरेका छन् । यसैगरी संस्थाका कोषाध्यक्ष रवि गुरुङले १०० पाउण्ड, कल्चरल सेक्रेटरी खुशीमान गुरुङले १०० पाउण्ड, डा. सचिन गुरुङ १०० पाउण्ड तथा सल्लाहकार मेजर बुद्धि गुरुङले ५० पाउण्ड सहयोग गरेका छन् । सहयोग गर्ने अन्य दाताहरुमा कृष्ण घलेले २५ हजार रुपैयाँ, लालबहादुर घलेले १०० पाउण्ड, आनन्द पौडेल र पूर्व विद्यार्थी रमा पराजुली पौडेलले १०१ पाउण्ड, यामबहादुर गुरुङ, तेजु गुरुङ, अनिता गुरुङ, देवी गुरुङ, निरबहादुर गुरुङ र कमल गुरुङले ५०/
५० पाउण्ड, सुवाश गुरुङले ४० पाउण्ड, झलक गुरुङले ३५ पाउण्ड, हुमानसिंह गुरुङ र डुमबहादुर गुरुङले ३०/३० पाउण्ड, जगन गुरुङ, रामबहादुर गुरुङ र मनबहादुर गुरुङले २५/२५ पाउण्ड, कृपा गुरुङ र देउकाजी गुरुङले २०/२० पाउण्ड सहयोग गरेका छन् । यसैगरी संस्थाको तर्फबाट १०० पाउण्ड सहयोग गरिएको बताइन्छ । सहयोगदाता हरु मध्ये आनन्द पौडेल हर्पन, लालबहादुर र कृष्ण घले मकनपुर, मनबहादुर, रामबहादुर, कमल र निरबहादुर गुरुङ दमदमे, जगन र देउकाजी गुरुङ कुद्वीडाँडा र अन्य सबै सिधानेबाट बेलायत गएर विभिन्न स्थानमा बस्दै आएका छन् ।

Post a Comment

 
Top