0
मेघराज सापकोटा
अन्तरजातीय विवाहले अजित मिजार ढकालको मृत्युको यात्रा दिलाएको खबर सेलाउन नपाउँदै पोखरामा अर्का एक जोडीले आफ्नो अमूल्य जीवन गुमाए । स्याङ्जाको किचनास–३ का सञ्जीव नेपाली र पौवेगौडे–२ की सोनम रेग्मीको जीवनले पूर्णविराम पाएको यो दर्दानक हत्याको कारण पनि अन्तरजातीय विवाह थियो । सञ्जीव र सोनमको विवाहले विशेष गरी सोनमको परिवार खुशी थिएन । सञ्जीव दलित परिवारका थिए भने सोनाम आफुलाई उपल्लो जातको भनिने बाहुन परिवारकी छोरी । कलिलै उमेरमा (१७ वर्ष) भागेर प्रेम विवाह गरेका यी दुई जोडीको विवाह भएको ५ वर्षपछि मृत्यु हुनुमा हाम्रो समाज कत्तिको दोषी छ ? यसको लेखाजोखा बिदेशमा बस्ने नेपालीहरुले पनि उत्तिकै गर्नेगरेका छन् । सञ्जीव विगत १९ महिनादेखि यूएईमै कार्यरत रहेको र श्रीमती सोनमको हत्या गरी आत्महत्या गर्नु भन्दा १ दिनअघि मात्र उनी नेपाल गएका थिए । उनलाई यो अवस्थासम्म ल्याइपुर्याउन कसको हात रहेको छ भनेर विदेशमा रहेका दलित समाजसेवी र अधिकारकर्मीहरुले विशेष आवाज उठाउन थालेका छन् । अझ नेपालका केही मिडियाले अन्तरजातीय विवाहका कारण भएको उक्त दुःखद् घटनालाई सोनमको रुपसँग जोडेर उनको रुपलाई कारण बनाउँदै दलित अधिकार र छुवाछूतविरुद्धको आन्दोलनलाई कमजोर बनाउने काम भन्दै सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् ।
घटनाक्रम के थियो ?
सञ्जीव नेपाली र सोनम रेग्मीबीच किशोरावस्थामै माया प्रेम बस्यो । हुर्कदै गएको प्रेम परिवारले स्वीकार नगर्ने भएपछि दुवैले भागी विवाह गरे । तर सोनमको परिवारले स्वीकार गर्न सकेन । केही दिनमै सोनमको माइती पक्षले केटाबाट खोसेर सोनमलाई लगे । तर सञ्जीवले पुनः सोनमलाई फर्काए । विवाह भएको ३ वर्षसम्म सामान्य जीवन बिताइरहेका यी दुई जोडीलाई आर्थिक अभाव खड्केको थियो । सोनमलाई माइती पक्षले अपहेलना गर्दै कुनै पनि सहयोग नगरेको र सञ्जीवको पनि आर्थिक अवस्था राम्रो नभएकाले दुवै जनाको सल्लाह अनुसार नै १९ महिना अगाडि सञ्जीव अबुधाबी स्थित लुलु हाइपर मार्केटमा वैदेशिक रोजगारका लागि आएका थिए । पछिल्लो समय सञ्जीवका यी दुई जोडी सँगसँगै रहँदा सोनमका माइतीले वास्ता नगरे पनि सञ्जीव विदेश गएको भन्ने खबर सुनेपछि भने फेरि उनीहरुलाई छुटाउने प्रयास सुरु गरे । माइती पक्षले सञ्जीव दलित भएको, पढालेखा पनि नभएकाले छोरी सोनमलाई अस्ट्रेलिया पठाइदिने भनी फकाए । सोनमले पछिल्लो समयमा माइती पक्षकै उक्साहटमा अदालतमा सम्बन्ध विच्छेदको मुद्दासमेत दर्ता गरिन् । उनीहरुले सञ्जीवको जानकारी र अनुमतिबिना नै छोरी सोनमलाई पोखरा–८ चालिसे मार्ग्स्थित दामोदर चालिसेको घरमा कोठा भाडामा लिएर राखिदिए । सो खबर पाएका सञ्जीवले आफ्नी श्रीमतीलाई सम्झाउने बुझाउने प्रयास गरे ।
पछिल्लो ७ महिनामा उनी ३ पटक नेपाल छुट्टी गए । दूरी बढ्दै गएको सम्बन्धलाई फेरि कसिलो पार्ने प्रयास गरे । उनी कसै गरे पनि सोनमलाई छोड्ने पक्षमा थिएनन । उनी भन्थे– सँगै जिउने सँगै मर्ने हामीले खाएको कसम पूरा गरेरै छोड्नेछु ।
धेरै प्रयास गर्दा पनि नभएपछि उनी गत साउन ३२ गते मङ्गलबार (१६ अगस्ट) का दिन फेरि कम्पनीमा इमर्जेन्सी छुट्टी मिलाई नेपाल गए । भदौ १ गते बुधबार (१७ अगस्ट) का दिन उनी सोनमलाई खोज्दै खोज्दै दामोदर चालिसेको घरमा पुगे । अनुहारमा मास्क लगाएर बेलुकी ६ बजेतिर पुगेका उनले धारिलो हतियारले सोनमाको हत्या गर्दै आफुले विष सेवन गरी आत्महत्या गरे । घटना भइरहेको कसैले पत्तो पाएनन् । छिमेकीहरुले दुवैजना लडिरहेको देखेपछि घटना स्थलमा पुग्दा सोनमको मृत्यु भइसकेको थियो भने सञ्जीवको मृत्यु अस्पतालमा भएको थियो ।
कस्ता स्वभावका थिए सञ्जीव ?
आफ्नी श्रीमतीलाई ससुराली पक्षले अस्ट्रेलिया पठाएर आफूबाट छुटाउन खोजेको जानकारी सञ्जीवले पाइसकेको अबुधाबीमा एउटै कोठामा बस्ने खेम सुनार बताउँछन् । खेमका अनुसार ससुरालीले आफ्नो वैवाहिक जीवनमा फेरि खेले भन्ने थाहा पाएपछि उनी अत्यन्तै चिन्तित देखिन्थे । सामान्यत कम बोल्ने सञ्जीव यो खबर सुनेपछि दोहोरो संवाद गर्न नै मन गर्दैन थिए । उनी कम बोल्ने स्वभावका व्यक्ति थिए । १९ महिनासँगै एउटै कोठामा बस्दा सञ्जीवले कहिल्यै पनि मदिरापान गरेनन् । उनी चुरोट सेवन पनि गर्दैन थिए । झैझगडा र वादविवाद गर्न नरुचाउने सञ्जीव आफ्नो श्रीमतीलाई कसरी सुखी र खुशी राख्ने होला भन्ने ध्याउन्नमा थिए । उनीसँग एउटै कोठामा बस्ने कसैले पनि सञ्जीवले यस्तो कार्य गरे भनेर विश्वास गर्न सक्दैनन । सञ्जीवका म्यानेजर त झन् घटना सुनेर तीन छक्क परे । ‘एक इमानदार प्रेमी जसले सँगै जीउने सँगै मर्ने आफ्नो कसम पुरा गरे” उनका साथीहरु यसै भन्छन् ।
हत्याको कारण सोनमको सुन्दरता कि जातीय विभेद ?
सोनम सुन्दर थिइन । गोलो अनुहार, चिटिक्क परेको शरीर अनि गोरो वर्ण, लोभलाग्दो शरीर र उस्तै उचाइ, उनी यस्तै थिइन् । सोनमको सुन्दरताबाट मोहित थिए सञ्जीव । सञ्जीव सोनम अरुको नहोस् भन्ने चाहन्थे । नेपाल रहुन्जेल सोनम ठीक थिइन् । जब सञ्जीव अबुधाबी आए, सम्बन्धमा चिसोपन सुरु भयो । कारण थियो अस्ट्रेलिया पठाउने माइती पक्षको प्रलोभन । माइती पक्ष सोनमलाई सञ्जीवबाट छुटाउन चाहन्थ्यो । किनभने सञ्जीव दलित परिवारका थिए ।
सोनामको सञ्जीवसँगको विवाह नेपाली समाजमा बिलकुल पचेको थिएन । छोरीले दलितसँग विवाह गरेपश्चात रेग्मी परिवारले समाजमा आफ्नो शिर निहुरेको महशुस गरेको थियो । त्यो शिरलाई उचो बनाउन कसैगरी रेग्मी परिवार सोनमलाई सञ्जीवबाट छुट्याउन चाहन्थ्यो । त्यसैको परीणाम आज यो दर्दानक घटना घट्न पुग्यो । रेग्मी परिवारले छोरी सोनमलाई गुमाए, दलित परिवारले सञ्जीवलाई गुमाए । तर अझै पनि रेग्मी परिवारले ज्वाइँ गुमाएको छैन । आखिर जिम्मेवार को हो ? सञ्जीव, रेग्मी परिवार, कि हाम्रो समाज ? हो, मन मिलेन, सँगै बस्न सकिएन भने सम्बन्ध विच्छेद गर्ने अधिकार सबैलाई छ । तर जातीयताको आधारमा मानव मानवीबच पर्खाल खडा गर्ने हाम्रो समाजले यस्ता घटना जिम्मा किन लिन सक्दैन ? दलित समाजमा चेतनाको स्तरलाई वृद्धि गर्दै आर्थिक, सामाजिक, शैक्षिक स्तरलाई उकास्न सकियो भने मात्र यस्ता घटनाहरुलाई कम गर्न सकिने ११ वर्ष देखि युएईमा रहेका कृश सुनारको भनाइ छ । उनी भन्छन्– हरेक नेपालीलाई यो संसारमा पहिलो दर्जाको सम्मान मिलोस्, कसैलाई जनवार जस्तो व्यवहार नगरियोस् । जातीयताको नारामा एक आपसको विरोध र अपमान गरि नै रहने हो भने यस्ता आपराधिक घटना अझै बढ्ने छन्, अनि हाम्रो समाज मुकदर्शक बन्नेछ ।



Post a Comment

 
Top