0
अत्यन्त न्यून सङ्ख्यामा रहेका र म्याग्दी जिल्लामा मुख्य बसोबास गरेका छन्त्याल जातिले आफ्नो भाषा भुल्दै जान थालेका छन् ।     छन्त्याल जातिको मुख्य बसोबास रहेको म्याग्दी जिल्लामा कतिपय छन्त्याल जातिका मानिसले आफ्नो मातृभाषा भुलिसकेको बताएका छन् । नेपालमा रहेका थुप्रै जातजातिले भाषा संस्कृति जगेर्नामा लागिरहँदा जिल्लाको अधिकांश गाविसमा बसोबास गर्ने छन्त्याल जातिले भने आफ्नो भाषा विस्तारै भुल्न थालेका छन् । म्याग्दीको सदरमुकाम तथा विकट ग्रामीण बस्तीमा बसोबास गर्ने छन्त्यालले घर परिवारमा आफ्नो भाषा प्रयोग नगरेका कारण भाषा भुल्दै गएका र बालबालिकाले समेत भाषा नजानेको गुर्जाका कमल छन्त्यालले बताए । भाषा प्रयोगमा पछिल्लो पुस्ताले हीनताबोध गर्नुले भाषा लोप भएको छन्त्यालको भनाइ थियो । छन्त्याल जातिले बोल्ने भाषामा कमी आउनुको मुख्य कारण समुदायमा जातजातिको मिश्रित बसोबास र विद्यालयमा अङ्ग्रेजी र नेपाली भाषामा मात्र पठनपाठन हुने भएकाले भाषा लोप भएको नेपाल छन्त्याल सङ्घ, म्याग्दीका पूर्व अध्यक्ष मुकुन छन्त्यालले बताए ।  छन्त्याल भन्छन्“घरपरिवारमा मातृभाषा नबोल्नु, साथीभाइसँगको भेटघाटमा नेपाली भाषा प्रयोग गर्नुले छन्त्यालले भाषा भुल्दै गएका हुन् ।”  यसरी भाषा प्रयोगमा कमी आउँदै जाने र भाषा बिर्सिँदै जाने हो भने पहिचान दिन गाह्रो हुने अघिल्ला पुस्ताका छन्त्यालको ठम्याइ छ । बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको मुलुकमा भाषा संरक्षणमा ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ । रासस

Post a Comment

 
Top