0
गोल्डेन न्यूज संवाददाता
सनातन धर्मावलम्वीहरुले बिहीबार जन्माष्टमी महापर्व भगवान श्री कृष्णको पूजा अर्चना, वर्त, उपासना एवं विविध धार्मिक कार्यक्रम गरि मनाउदैछन् । हिन्दु धर्मावलम्बीहरुको मान्यता अनुसार द्धापर युगमा धर्मको संस्थापन र दुष्टहरुको विनाशका निम्ति भगवान् कृष्णको आजैका दिन धर्तीमा अवतरण भएको थियो । माता देवकी र पिता बशुदेवको आठौं सन्तानका रुपमा जन्मनु भएका श्रीकृष्णले कंस, जरासन्ध, पुतना, शिशुपाल जस्ता असुरहरुको विनाश गरेका थिए । भगवान कृष्णका विश्व प्रशिद्ध धार्मिक ग्रन्थ श्रीमद्भागवतगीता हिन्दुहरुका प्रमुख धार्मिक ग्रन्थ मानिन्छ । यसै उपलक्ष्यमा सनातन धर्म सेवा समिति कास्कीले विगत २९ वर्ष देखि सञ्चालन गर्दै आइरहेको जन्माष्टमी शोभायात्रामा यस वर्ष स्थानीय रामकृष्ण टोल स्थित गोपाल जी मन्दिरबाट शुरु भै नारायण स्थानमा विर्शजन गरिने परम्परा रहेको छ ।  यसैबीच सनातन धर्म सेवा समिति कास्कीले जन्माष्टमी शोभायात्राको तयारी पुरा गरेको जनाएको छ । समितिका सचिव रामचन्द्र पौडेलका अनुसार शोभायात्रामा करीब ३ हजार श्रद्धालु भक्तजनको सहभागिता रहने छ । स्थानीय रामकृष्ण टोल स्थित गोपालजी मन्दिरबाट शुरु हुने शोभायात्रामा पोखरामा सबै धार्मिक संघ संस्था, मठमन्दिर, भजनटोली, आमा समूह, विद्यालय, टोल विकास संस्था सहभागी हुनेछन्। त्यस अतिरिक्त विभिन्न व्यक्तिहरुले आफ्नो सन्तानलाई बालकृष्णको भेषमा श्रृगारेर शोभायात्रामा नगर परिक्रमा गर्नेछ । शोभायात्रा पछि आयोजित हुने धार्मिक सभालाई महायोगी सिद्धबाबा श्री कृष्णदायजी महाराज लगायतमा सन्तमहन्त विद्धानहरुले प्रवचन गर्ने व्यवस्था मिलाइएको सचिव पौडेलले जानकारी दिए ।


Post a Comment

 
Top