0
सरकारले गत मंगलबार सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको रूट परमिट र चालकको लाइसेन्स तत्कालै खारेज हुने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काभ्रेमा गत सोमबार भएको बस दुर्घटनामा क्षमताभन्दा धेरै यात्रु बोकेकै कारण दुर्घटना भएको निष्कर्ष निकाल्दै सवारी उल्लंघन गर्ने सबै सार्वजनिक गाडी, तिनका मालिक तथा चालकलाई कडा कार्बाही गर्ने निर्णय गरेको छ । नेपालमा पछिल्लो समय सवारीसाधन दुर्घटनामा वृद्धि हुँदै गएपछि सरोकारवाला निकायलाई ठूलो चुनौती बढेको थियो । बढ्दो दुर्घटना रोक्न असफल भएपछि ढिलै भए पनि सवारी कानूनमा कडाइ गर्न लागिएको छ, यो अत्यन्त सकारात्मक कुरा हो । मन्त्रालयले यातायात व्यवस्था विभाग तथा सडक विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायीलगायत सरोकारवालाबीच बैठक गरी क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको रूट परमिट तथा चालकको लाइसेन्स खारेजसहित अधिकतम दण्ड जरिवाना गर्ने निर्णय गरेर यात्रुको ज्यान जोगाउन संवेदनशील भएको छ । यसले आमसर्वसाधारणमा थोरै भए पनि आशा जगाएको छ । नेपालमा नियम कानूनको कार्यान्वयनभन्दा दुरूपयोग धेरै भइरहेका छन् । राज्यका नियम कानूनको कार्यान्वयन हुन सकेमात्रै मुलुक प्रणालीमा चलेको ठहर्छ । बेथिति र दुरूपयोगको पुनरावृत्तिले गर्दा ‘सिस्टम’ नभएको देश भन्ने आलोचना चौतर्फी रुपमा सुन्न पाइन्छ । ऐन कानूनको पालना गर्नु हरेक जिम्मेवार नागरिकको कर्तव्य हो । हरेक व्यक्ति आफ्नो ठाउँमा इमानदार हुने हो भने असल शासन लागू हुन समस्या पर्दैन । आफूले नियम पालना नगर्ने र खाली राजनीतिक नेतृत्वलाई मात्रै दोषारोपण गरेर समस्याको समाधान हुन सक्दैन । राजनीतिक नेतृत्वलाई खबरदारी गर्ने र राज्यका नियम कानून प्रभावकारी बनाउन र कार्यान्वयन गर्न दबाब दिने काम असल नागरिकको हो । यातायात मन्त्रालयले सवारी नियममा भएका कमीकमजोरी हटाएर ऐन संशोधनको मस्यौदा तयार पार्ने निर्णय गरिसकेको छ । सवारी उल्लंघन गर्ने गाडी चालक र मालिकलाई ‘ठाउँका ठाउँ’ कारबाही गर्न जिल्ला प्रशासन, यातायात कार्यालय एवम् सरोकारवाला निकायलाई निर्देशनसमेत भइसकेको छ । यसले जोखिमपूर्ण यात्रा घटाउने विश्वास लिइएको छ । कानून बनाएरमात्रै दुर्घटना न्यूनीकरण हुन सक्दैन । त्यसका लागि सरोकारवाला सबै क्षेत्रको उत्तिकै प्रतिबद्धता जरूरी हुन्छ । ट्राफिक प्रहरीले केही समययता सवारी दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन (मापसे) रहेको ठहर गर्दै मापसे नियन्त्रणमा जोड दियो । र अहिले पनि मापसे चेकिङ अभियान कडाइका साथ लागू भइरहेको छ । यसले मानिसलाई नियमित बनाउनुका साथै मापसे गर्नुअघि ट्राफिकको चेकिङ स्मरण गर्न बाध्य बनाएको छ । मध्यरातमा मापसे गरेर हिँड्ने मानिस धमाधम घट्न थालेका छन् । फलस्वरुप, मापसेका कारण हुने सम्भावित दुर्घटनामा केही कमी आएको छ । अब थोत्रा गाडी नियन्त्रण गर्नुपर्ने देखिएको छ । थोत्रा गाडी सवारीका लागि जोखिमपूर्ण हुन्छन् नै, त्यसले फाल्ने कालो धूवाँले वातावरण प्रदूर्षणसमेत बढेको छ । अत्यधिक गतिमा गाडी कुदाउने चालकलाई कारबाहीको दायरामा ल्याएर जवाफदेही बनाउनु आवश्यक भएको छ । यात्रुले सिट क्षमताभन्दा बढी यात्रु चढाएको पाइएमा खबरदारी गर्दै सरोकारवाला निकायमा जानकारी गराउनु उत्तिकै जरूरी देखिएको छ । सवारी कानून उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउन सकिएमात्रै मानवीय लापर्बाहीबाट हुने दुर्घटनामा स्वतः कमी आउने देखिन्छ ।






Post a Comment

 
Top