0
गत वैशाख १२ गते ‘पाँच लाख पाउन्डको चिट्ठा पर्यो’ भन्दै ठगी गर्ने समूहका एजेन्ट अशोककुमार थापालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको थियो । दियाले–१ ओखलढुंगा स्थायी घर भएका ३१ वर्षीय थापा नयाँ शक्तिका केन्द्रीय पार्षद् थिए । माओवादीका पूर्व लडाकु कम्पनी कमान्डरसमेत रहेका थापालाई प्रहरीले काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको थियो । पेप्सी मोबाइल ड्र, युकेबाट पाँच लाख पाउन्ड पुरस्कार परेको भनी पोखराकी एक महिलासँग सात लाख २५ हजार लिएको आरोप उनीमाथि लागेको थियो । प्रहरीलाई सहयोग गर्न भन्दै नयाँ शक्तिले उनलाई कारबाही गर्यो ।
घटना २ ः गत जेठ २६ मा नयाँ शक्तिकी केन्द्रीय सदस्य मञ्जु सरदार पक्राउ परिन् । सरदारमाथि नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै पैसा असुलेको आरोप लाग्यो । उनले नेपाल प्रहरीको मान्छे हुँ भन्दै इटहरी–४ बस्ने तारा लिम्बूबाट एक लाख ५० हजार रूपैयाँ ठगेको आरोप लागेको थियो । इलाका प्रहरी कार्यालय इटहरीले उनीमाथि अनुसन्धान गरेको थियो ।
 
घटना–३ ः भदौ ५ मा एक दैनिक पत्रिकामा पूर्वसभासद् तथा नेपाल आदिवासी जनजाति महासंघ पूर्वअध्यक्ष पासाङ शेर्पा र वर्तमान उपाध्यक्ष डन्डु शेर्पा अवैध मानव ओसारपसारमा तानिएको विषयमा समाचार प्रकाशित भयो । उनीहरुले सांस्कृतिक कार्यक्रमको आवरणमा तीन करोड ९० लाख रूपैयाँ असुलेर १३ जना गैरकलाकारलाई कलाकार भन्दै मेक्सिको पुर्याई उतै छाडेर आएको आरोप समाचारमा थियो । पासाङ नयाँ शक्तिका १ नम्बर प्रदेशका इन्चार्ज हुन् । मेक्सिकोमा आयोजित हिमाली आदिवासी जनजातिको संस्कृति आदान–प्रदान कार्यक्रममा सहभागी गराउन गत चैतमा पासाङ र डन्डुले १३ जनालाई त्यहाँ लगेको, जाँदा १५ जना गए पनि फर्कंदा उनीहरुमात्र फर्किएको समाचारमा थियो । समाचारमा ती १३ जना अमेरिका पुगिसकेका दाबी गरिएको छ ।
समाचार आएपछि पासाङले फेसबुकमा सफाइ लेखे ः ‘मानव तस्करको आरोपसहित मेरो चरित्रहत्या हुनेखालको समाचार ‘..छापिएको रहेछ । ‘पत्रिकालाई केही भन्नु छैन । कसैले सूचना दियो होला अनि समाचार छाप्यो होला । तर झुटा आरोप लगाई, हुँदै नभएको आरोप लगाई मेरो बदनाम गराउने यो षड्यन्त्रप्रति म गम्भीर भएको छु । केन्द्रीय अनुसन्धान व्युरोको अनुसन्धान प्रक्रियामा पूर्ण रुपमा सहयोग गरिरहेको छु । अझै सहयोग गर्नेछु । तर, अनुसन्धान व्युरोमा झुटो सूचना दिने, कसैको व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले यस्तो घृणित कार्य गर्नेप्रति म घोर भत्र्सना गर्दछु । म आज आफ्नो कार्यक्षेत्र बाट काठमाडांै फर्कंदै छु । ममाथि लगाइएको यो झुटा आरोपको कानुनी उपचार खोज्नेछु ।’ पासाङले पार्टीभित्र पनि आफू दोषी नरहेको बताएका छन् ।
घटना–४ ः डीएसपी र उपसचिवलाई कफिसँगै १० लाख थमाउन खोज्दा समातिएका एक व्यक्ति नयाँ शक्तिका जिम्मेवार नेता रहेको पाइयो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग फन्दामा परेका सोलुखुम्बुका सोनाम छिरिङ शेर्पा नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा सदस्य रहेका छन् । नयाँ शक्तिको ९९ सदस्यीय सूचीमा उनको नाम ७३ नम्बरमा छ । नयाँ शक्तिको औपचारिक घोषणापूर्व जेठमा शेर्पा पार्टी प्रवेश गरेका थिए । त्यतिमात्र होइन, शेर्पाले पूर्वस्थानीय विकास राज्यमन्त्री नरबहादुर बुढालाई यसै साता नयाँ शक्तिमा प्रवेश गराउने तयारी गरेका थिए । पक्राउ परेका शेर्पा राप्रपाबाट ०५१ र ०५६ मा सोलुखुम्बुबाट चुनाव लडेका थिए । ०५६ पछि राजेश्वर देवकोटाले खोलेको पार्टीमा गएका थिए । ०७० को दोस्रो संविधानसभा चुनावमा स्वतन्त्र उम्मेदवार भएर लडेका थिए । पार्टीको औपचारिक घोषणा नहुँदै बाबुरामका अन्य नेता तथा कार्यकर्ता विवादमा तानिन थालेका थिए । पारदर्शी र सुशासनको राजनीतिक नारा अगाडि सारेका बाबुरामका लागि यी चार घटना पक्कै पनि दुर्भाग्यपूर्ण हुन् । उनले सोचेको हुनुपर्छ– खासमा गल्ती भयो कहाँ र किन विवादमा आइरहेका छन्, नयाँ शक्तिका नेता तथा कार्यकर्ता ? हुन त बाबुराम पार्टी बनाउनुपूर्व नै भविष्यमा पार्टीमा आउन सक्ने सम्भावित खतराप्रति सचेत थिए । यसैकारण उनले विधानमा आरोपित नेता तथा कार्यकर्तामाथि डन्डा चलाउने विधि तयार पारेका थिए । तर, विधिमा कठोर नीति बनाइए पनि नेताचाहिँ धमाधम विवादमा तानिएका छन् । पार्टी संगठनलाई ठूलो बनाउने सोचमा लागेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सीमाहीन व्यक्ति प्रवेशको नीति लिएका छन् । जुनसुकै व्यक्ति प्रवेश गर्न चाहे पनि नयाँ शक्तिले स्वागत गर्दै आएको छ । यसको असर, बेला–बेला नेताहरु विवादमा तानिएका छन् र प्रहरी अनुसन्धानमा छन् । नयाँ शक्तिका शीर्षनेताले पार्टी प्रवेश गराउँदा सम्बन्धित व्यक्तिको पृष्ठभूमिबारे अलि बढी ध्यान दिनुपर्ने भयो,’ निष्कर्षमा पुगेको एक नेताले बताए । नयाँ शक्तिका केही नेताको बुझाइ के छ भने ‘संगठनमा ठूलो पहल लिन थालेपछि योजनाबद्ध रुपमा एउटा समूह नयाँ शक्तिका नेता तथा कार्यकर्तालाई विवादमा तान्न’ लागेको छ । कुरा त्यतिमात्र होइन, नयाँ शक्तिमा मूलतः दुईप्रकारले मानिस प्रवेश गरेको देखिन्छ । नेताहरुका अनुसार नयाँ शक्तिका एजेन्डा मन पराएर केही गरौं भन्ने पवित्र मन लिएर पनि मानिस आएका छन् । केही भने अन्यत्र लाभ नपाएको र नयाँ शक्तिमा लाभ र अवसरको राजनीतिको सम्भावना देखेर प्रवेश गरेका छन् । दोस्रो सोचसहित आएका मानिस नयाँ शक्तिका लागि चुनौतीपूर्ण हुने नेताहरुको बुझाइ छ । ‘मनसाय नै गलत बोकेर आएका छन् भने उनीहरुले राम्रो गर्छन् भन्न कठिन हुन्छ,’ नयाँ शक्ति केन्द्रीय सचिवालयका एक केन्द्रीय सदस्यले भने । नयाँ शक्तिका नेता एकपछि अर्को विवादमा तानिँदा एजेन्डा स्थापित र जनमत निर्माणमा ठूलो समस्या आउने पार्टीकै नेताहरुले बताउन थालेका छन् । नयाँ शक्तिमा ठोस स्कुलिङ व्यवस्था छैन । जुनसुकै विचारधाराको पृष्ठभूमि भए पनि नयाँ शक्तिले सदस्यता दिने गरेको छ । यसले पार्टी्भित्र एकरुपता बनाएको छैन । जसको असर बेला–बेला संगठनमा देखिने गरेको छ । आर्थिक विकास र समृद्धिको नारा अगाडि सारेको नयाँ शक्तिका लागि यस्ता विवादले ब्रेकरको काम गर्न सक्ने नेताहरुको चिन्ता देखिन थालेको छ । नयाँ शक्तिका संगठन विभागप्रमुख देवेन्द्र पौडेलले यस्ता घटनाले आफूहरुलाई चिन्तित बनाएको र पार्टीभित्र आवश्यक अनुसन्धान हुने बताए । पौडेलले आरोप लगाउँदैमा अन्तिम सत्य नहुने भएकाले दोषी पाइए कार्बाही गरिने बताए । आरोपित व्यक्तिमाथि छानबिन र कार्बाही गर्ने विषयमा पार्टीले विधि बनाएको पनि नेता पौडेलले बताए ।नयाँ शक्तिले पार्टीको छवि निर्माणका लागि काठमाडौंको सफाईदेखि विभिन्न मुद्धा उठाईरहेको छ ।
नेत्र पन्थी÷रातोपाटी




Post a Comment

 
Top