0
धेरैले पोखरालाई पर्यटकीय नगरी भनेर चिन्ने गर्छन् । सामान्य रूपमा हेर्दा माछापुच्छे«, फेवालगायतका नौवटा तालतलैयाहरू यहाँ हुनुले यो नगरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास भएको देख्न पाइन्छ । पोखरा मध्य पहाडी भूगोलभित्रका अत्यन्तै उर्वर उपत्यका हो । खेतीपातीका लागि निकै उर्वर र रसिलो ठाउँ हो पोखरा । जुन जैविक विविधताका लागि पनि असाध्यै उर्वर भूमिका रूपमा लिइन्छ । नौवटा प्राकृतिक तालको लहर हुनुले पनि पोखरालाई जैविक विविधताको दृष्टिले निकै महत्वपूर्ण स्थानका रूपमा लिन सकिन्छ । यही कुरालाई दृष्टिगत गरी पोखराका नौवटा प्राकृतिक ताललाई रामसार सूचीमा सूचीकृत गरिएका छन् । सम्भवतः नौवटा तालको मालालाई रामसार सूचीमा सूचीकृत भएका विश्वकै यो पहिलो घटना हुनसक्छ । नेपाल सन् १९८८ मा रामसार महासन्धिको पक्ष राष्ट्र भएको हो । हाल नेपालसहित विश्वका १६९ राष्ट्रले इरानको रामसार सहरका भएको रामसार महासन्धिमा हस्ताक्षर गरिसकेका छन् । नेपालले सन् १९८७ मा पहिलो पटक कोशी टप्पुलाई रामसार सूचीमा सूचीकृत गराउन सफल भएको हो । पोखराको नौवटा तालको मालासहित रामसार सूचीमा सूचीकृत भएपछि नेपालका विभिन्न भूगोल र अवस्थितिमा रहेका १० वटा सिमसार क्षेत्रहरू रामसार सूचीमा सूचीकृत हुन सफल भएका छन् । पोखराका फेवा, वेगनाश, रूपा, कमलपोखरी, खोस्टे, गुँदे, न्युरेनी, दिपाङ्ग र मैदी गरी नौवटा तालहरू रहेका छन् । यहाँका तालहरू आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणका केन्द्र बनिरहेका बेला विश्व रामसार सूचीमा सूचीकृत हुनुले यहाँका तालको महत्व झन् बढेको छ । सामान्य ढङ्गले हेर्दा तालमा पानी र माछा हुन्छन् । प्राकृतिक रूपमा एउटा तालमा एउटा पूर्ण पारिस्थिकीय प्रणाली जीवित रहेको हुन्छ । एउटा तालभित्र विभिन्न प्रजातिका जलचर, पानीमा मात्र बाँच्न सक्ने विभिन्न प्रजातिका वनस्पति, लेऊ झार, कीरा फट्याङ्ग्रालगायतका जीवजन्तुको अस्तित्व कायम भएको हुन्छ । ताल सिमसार क्षेत्र हुन । पानीमा उब्जिएका आहार खाएर मात्र बाँच्ने कैयौँ प्रजातिका सिमसार चराहरू यस धर्तिमा अस्तित्वमा रहन सफल भएका हुन्छन् । अझै पृथ्वीको उत्तरी ध्रुव साइबेरियाबाट समेत आगन्तुक चराहरू यिनै तालतलैयामा विचरण गर्न वर्षको एक पटक आइपुग्छन् । यी सबै कुराहरूको अध्ययन गर्ने हो भने पोखराका तालहरू पर्यटकीय दृष्टिकोणले महत्वका छदैछन् । त्यसका साथै जैविक विविधताको संरक्षणका हिसाबले पनि उत्तिकै महत्वका रहेका छन् । पोखराका तालक्षेत्रभित्र र वरीपरीको भूभागमा दर्जनौं प्रजातिका चराचुरुङ्गी, पुतली, भ्यागुत्ता, माछा, पानीमुनि हुने वनस्पति लगायतका जैविक विविधताको बाक्लो उपस्थिति रहेको छ । पोखराको फेवातालको छेऊमा रहेको बाक्लो जङ्गल क्षेत्र रानीवनलाई जैविक विविधता उद्यानको रूपमा विकास गर्न वनस्पति विभाग लागिरहेको छ । हाल भइरहेको वनजङ्गलको संरक्षण गर्दै थप क्षेत्रमा वृक्षरोपण गरी यो क्षेत्रलाई जैविक विविधताको भण्डारको रूपमा विकसित गर्ने गुरुयोजना विभागले बनाएको छ । छेउमा सुन्दर ताल अनि माथिल्लो भागमा संरक्षित वन क्षेत्रको हरियाली सुन्दरताले पोखरा आइपुग्ने जोकोहीको मन त लोभ्याउन्छ नै । यसको संरक्षण पश्चात पोखराको जैविक विविधताको संरक्षण र विकासमा थप टेवा पुग्ने निश्चित भएको छ । पोखराका नौवटा तालको मालालाई रामसार सूचीमा सूचीकृत गर्ने कार्य आफैमा नेपालका लागि निकै महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ । तर दिनप्रतिदिन ताल अतिक्रमणको चपेटामा पर्दै जानु, विभिन्न प्रजातिका माछा मारिनु, पर्यटकका लागि राम्रो हुन्छ भनेर तालभित्रका वनस्पति सफा गर्दै जानुले यहाँको विद्यमान जैविक विविधतामाथि थप चुनौतीहरू थपिँदै गइरहेको आभास हुन थालेको छ । तालको विशेषता सङ्ग्लो पानी बग्नु वा तैरिनु होइन । तालभित्रको चराचरहरू स्वतन्त्र रूपमा बाँच्न पाउनुपर्छ र त्यस वरपरको जैविक विविधताको संरक्षण हुनुपर्छ । एकातिर हामी पोखराको तालको रमणीयताको बजारीकरण गरिरहेका छौँ भने अर्काेतिर तिनै तालहरूको जैविक विविधताको संरक्षण गर्ने उद्देश्यका साथ रामसार सूचीमा सूचीकृत गर्न सफल भएका छौँ । पर्यटन प्रवद्र्धन र जैविक विविधताको संरक्षण गर्ने कार्यलाई एकसाथ कसरी लैजान्छौँ ? त्यसका लागि सरोकारवाला निकायका कार्यक्रम र रणनीतिहरू कसरी बन्छन् भन्ने कुरा नै प्रमुख विषय हो । अतः तालको रमणीयताको बजारीकरण र ताल क्षेत्र वरिपरिको जैविक विविधताको संरक्षण गर्ने दिशातर्फ हाम्रा कार्यक्रमहरू बन्नुपर्छ, अनि मात्र पोखरा नगर तालको सहर मात्र नभई जैविक विविधताको सहर पनि हुनसक्छ । यसबाट दीर्घकालीन रूपमा पर्यटकीय विकास गर्न थप टेवा पुग्न सक्छ । त्यसका लागि सबै सरोकारावाल निकाय, व्यक्ति संघ–संस्थाहरूले बेलैमा सोच्न जरुरी छ ।





Post a Comment

 
Top