0
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर विहीबार फेरि अर्को किशोरको ज्यान गएको छ । बिहीबार मध्यान्ह १२ बजेतिर केदारेश्वर मन्दिर नजिकै पौडी खेल्ने क्रममा पानीमा डुबेर स्याङ्जा टुनीबोट ४ घर भई पोखरा ८ रत्नचोक बस्दै आएका १९ बर्षीय अमृत मगरको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ ।  तीन जना साथीहरु मिलेर पौडी खेल्न गएका थिए । दुई जना केहि गहिरो भागमा पुगेकोमा अमृत एक्कासी डुबेका थिए भने अर्को साथी किनारतिरै फर्कन सके । मानिस बेपत्ता भएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले उनको उद्धार गरी स्थानीय गण्डकी मेडिकल कलेज, पृथ्वीचोक पु¥याएको वडा प्रहरी कार्यालय, बैदामका प्रमुख मोहनमणि अधिकारीले जानकारी दिए । घटनास्थल प्रहरी कार्यालयबाट नजिकै पर्दछ।
तर, अस्पताल पुगेलगत्तै उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले जनाए । केदारेश्वर मन्दिरको छठीमाइ घाटमा धेरैले पौडी खेल्ने गर्छन् । फिस्टेल लज गेट वरपरदेखि ड्यामसाईड पार्क क्षेत्रमा युवाहरु पौडी खेल्ने गर्दछन् । अहिलेको समयमा फेवाताल धमिलो भएपनि पौडी खेल्न जान छाडेका छैनन् । फेवातालमा हप्ताबीचको फरकमा यसरी ज्यान जाने गरेपछि सावधानी अपनाउनुपर्ने देखिन्छ । जीवन सुरक्षा ज्याकेट बिना फेवातालमा प्रवेश नगर्न प्रशासनले अनुरोध गरेपनि त्यसको पालना नहुँदा फेवातालमा यस्ता घटनाहरु अक्सर हुने गरेका छन् । दुई साता अघि काठमाण्डौंका दुई जना युवकको मृत्यु भएको थियो भने गत सातामात्रै माछा मार्ने क्रममा अर्का पुरुषले ज्यान गुमाएका थिए ।






Post a Comment

 
Top