0
गोल्डेन न्यूज संवाददाता
महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत आज बुधबार निर्वाचन हुनेभएको छ ।  मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको ११औँ महाधिवेशन पटक पटक मिति तोकिँदै स्थगन हुँदै नौ वर्षपछि यस पटक हुन लागेको हो । एघार जिल्लाको प्रतिनिधि विवादका कारण साउन २३ गते महाधिवेशन उद्घाटन भए पनि अन्य प्रक्रिया अवरुद्ध हुँदै आएको थियो । महाधिवेशनका लागि यही साउन २३ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डप तोकिएको थियो । आजसम्म उद्घाटनबाहेक केही हुन सकेको छैन र निर्वाचन भने बन्दसत्र नभई पार्टी केन्द्रीय कार्यालय सानेपामा हँुदैछ । सङ्घको केन्द्रीय समिति प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय हुने गरी विधान प्रस्ताव गरिएको छ । सङ्घको निर्वाचन राम लक्ष्मण दाजुभाइले आविष्कार गरेको विद्युतीय भोटिङ मेसिनबाट हुँदैछ । निर्वाचन ४० मेसिनबाट हुने र मतपरिणाम दुई÷तीन घन्टाभित्रै आउने आविष्कार केन्द्रका अनुसन्धानकर्ता लक्ष्मण रिमालले बताए । निर्वाचन समितिले थोरै मतदाताले मतदान गर्ने क्षेत्र र समूहको भने मतपत्रमार्फत निर्वाचन गर्ने तयारी गरेको जनाएको छ । नेविसङ्घमा हालसम्म तीन हजार ७९० मतदाता निश्चित भइसकेको र अझै थपिने सम्भावना रहेको प्रमुख निर्वाचन अधिकृत खरेलले जानकारी दिए ।  उद्घाटनका बेला भृकुटीमण्डपमा भएको प्रचारप्रसारको चहलपहल अहिले सानेपामा सरेको छ । पार्टी कार्यालय जाने सडक उम्मेदवार र तिनका तुलले भरिएका छन् । पार्टीको प्रभावशाली भ्रातृ सङ्गठन भएकाले आफ्नो पक्षका विद्यार्थी जिताउन पार्टी नेतृत्व पङ्क्तिबीच प्रतिस्पर्धा देखिएको छ ।  यसैबीच केन्द्रीय निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, पदमराज पन्त, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य नगेन्द्रसिंह ठकुरी, वचन कार्कीले उम्मेदवारी दिएका छन् ।  त्यसैगरी महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई, राजेश ज्ञवाली र शङ्कर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए । यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी सयौँको उम्मेदवारी परेको छ । सङ्घमा १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिले आज साँझ ६ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ । सङ्घको ११औँ महाधिवेशन अन्तर्गत मतदान भदौ १ गते बिहान ७ देखि साँझ ७ बजेसम्म काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ ।

Post a Comment

 
Top