0
गोल्डेन न्यूज संवाददाता
प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा दुई उपप्रधान मन्त्रीसहित पाँच जना मन्त्रीहरुले सपथ खाएका छन् । कांग्रेसबाट अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाको नाम मन्त्रीका रुपमा चर्चामा आए पनि पछि उनीहरुलाई ‘ब्याक’ गरियो र दुईजनालाई मात्रै मन्त्री बनाइयो । माओवादीले पनि लो–प्रोफाइलमा रहेका कनिष्ट दुई नेतालाई मन्त्री बनाएको छ । मन्त्रालयको भागवण्डामा कांग्रेस र माओवादी दुबै दलभित्र आन्तरिक सहमति हुन नसकेपछि पहिलो चरणमा पाँच जनामात्रै मन्त्री बनाइएको हो । कांग्रेसभित्र रामचन्द्र पौडेल समूहले चर्को असन्तुष्टि जनाइरहेको अवस्था छ भने माओवादीभित्र पनि प्रकट रुपमा बाहिर नआए पनि मन्त्रीका आकांक्षीहरु धेरै भएकाले सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डलाई हम्मे परिरहेको छ । बिहीबार शीतलनिवासमा सपथ ग्रहण गर्ने दुई उपप्रधानमन्त्रीसहित पाँच मन्त्रीहरुको व्यक्तिगत ‘प्रोफाइल’ यस्तो छ– महरा ः उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्री पुष्पकमल दाहालका विश्वासपात्र मानिन्छन् । महरा यसअघि प्रचण्ड प्रधानमन्त्री हुँदा सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री थिए । उनी माओवादी केन्द्रका शीर्ष नेतामध्ये एक हुन् । अन्तरमुखी एवं भद्र स्वभावका महरा ०४८ सालमा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद निर्वा्चित भएका थिए । निम्नमध्यमवर्गीय किसान परिवारमा जन्मिएका उनी शिक्षा संकायमा स्नातक हुन् । महराले १२ वर्ष शिक्षक भएर काम गरे । वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’, सभामुख ओनसरी घर्ती, माओवादी नेताहरु वर्षमान पुन, नेत्रविक्रम चन्द, सन्तोष बुढा मगर र जयपुरी घर्ती एकताका महराका विद्यार्थी थिए । उनीहरुलाई महराले विद्यालयमा पढाउनुका साथै कम्युनिष्ट पार्टीमा लगाएका थिए । उपप्रधानमन्त्री महराका दुई छोरा र दुई छोरी छन् । छोरा पूर्व लडाकूसमेत हुन् । कम्युनिष्ट राजनीतिमा ०३६ सालदेखि होमिएका महरा ०४८ सालमा शिक्षण पेशा छाडेर तत्कालीन संयुक्त जनमोर्चाका तर्फबाट संसदमा निर्वाचित भए । ०५२ सालमा तत्कालीन नेकपा  (माओवादी)को केन्द्रीय सदस्य भई भूमिगत राजनीति सुरु गरे । भूमिगत कालमै पोलिटब्युरो र स्थायी समिति सदस्य भए । ०६० देखि ०६५ सालसम्म पार्टीको प्रवक्ता भए । संसद पुनःस्थापना भएपछि ०६३ सालमा महरा एमाओवादीका ८३ जना सांसदको नेतृत्व गर्दै अन्तरिम संसदमा गए । ०६३ मै तत्कालीन कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्वको र ०६४ मा प्रचण्ड नेतृत्वको सरकारमा सूचना तथा सञ्चर मन्त्री भए । महरा ०६४ को निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा रोल्पा क्षेत्र नं १ बाट निर्वाचित महरा आफ्नो जीवनकालमा पहिलोपटक अर्थमन्त्री भएका हुन् । बाबु रविचन्द्र र आमा समुद्रादेवी महराको कोखमा ०१६ साल असार १७ गते रोल्पाको लिवाङमा जन्मिएका कृष्णबहादुर माओवादी शान्ति प्रक्रियामा आएपछि ०६३ सालयता दुईपटक सूचना तथा सञ्चारमन्त्री र एकपटक उपप्रधान तथा गृहमन्त्री भएर मुलुक हाँकिसकेका छन् । यो पटक महराले मन्त्रालयहरुको पनि मन्त्रालय मानिने अर्थ मन्त्रालयको जिम्मेवारी लिएका छन् । महराको छवि शालीन एवं भद्र नेताका रुपमा चिनिए पनि विगतमा सरकार बनाउने चलखेलमा चिनियाँसँग पैसा मागेको टेप प्रकरणपछि महरा आलोचित बने । उक्त टेप भारतीय दूतावासले सार्वजनिक गरेको थियो । व्यापारी अजय सुमार्गीसँग निकट रहेको आरोपसमेत महरामाथि लाग्ने गरेको छ । सुमार्गीको हेल्लो नेपालले महरा सञ्चारमन्त्री भएकै बेला इजाजत पाएको थियो । यसका साथै माओवादी लडाकूहरुका लागि सरकारबाट लिएको रकम दुरुपयोगको विषय पनि महरासँग जोडिने गरेको छ । सो रकमको बुझबुझारथ गरेका कारण यसमा महराको नाम मुछिने गरेको हो । विमलेन्द्र निधि ः नेपाली कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरेर सरकारमा सहभागी बनेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि सत्ताभित्रका चलाख खेलाडी मानिन्छन् । उमेरले प्रधानमन्त्री प्रचण्डभन्दा दुई वर्ष कान्छा विमलेन्द्र धनुषाको नगराइन–२ मा वि.सं. ०१३ सालमा जन्मिएका हुन् । हाल काठमाडौंको भीमसेनगोला मार्गमा निवासस्थान रहेकोमा निधिले सुशील कोइराला सरकारमा मन्त्री बनेपछि मध्य बानेश्वरमा अर्को घर किनेका छन् । धनुषा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत रहेका निधि ०३५ सालदेखि कांग्रेसमा आवद्ध छन् । उनले पटक–पटक गरी ७ वर्षसम्म बन्दी जीवन बिताएका छन् । निधिले अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, चीन, भारत, श्रीलंका, फ्रान्स, जर्मन, नेदरल्याण्ड र ताञ्जिनियाको भ्रमण गरेका छन् । निधिले राजनीतिशास्त्रमा एमए गरेका छन् । उनका श्रीमती र दुई छोरा छन् । हँसिलो मिजासका मन्त्री निधिले पछिल्लो समयमा मधेसी दलहरुलाई सहमतिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । अघिल्लो पटक संविधान संशोधनको प्रस्ताव पनि निधिले नै अघि सारेका थिए । केपी ओलीको सरकारलाई हटाएर माओवादी र कांग्रेसवीचको गठबन्धन निर्माणमा निधिको भूमिका महत्वपूर्ण भएकैले उनले यसपटक सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने भूमिका प्राप्त गरेको विश्लेषण गरिएको छ । मन्त्री निधिको भारतसँगको ‘एक्सेस’ र मधेसी दलहरुले उनीसँग गरेको भरका कारण प्रचण्ड नेतृत्वको सरकारमा निधिको भूमिका महत्वपूर्ण हुने अनुमान गरिएको छ । मन्त्री निधि विद्यार्थी राजनीतिबाट नेवि संघको सभापति हुँदै केन्द्रीय राजनीतिमा प्रवेश गरेका हुन् । कांग्रेस नेता स्व. महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् ।
नेपाली कांग्रेस सत्तामा रहँदा अधिकांश समय निधि मन्त्री बनेका छन् । तर, उनलाई सुधारक मन्त्री भन्दापनि आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थ अनुकूल काम गर्ने मन्त्रीका रुपमा चिनिन्छ । उनी यसअघि सुशील कोइराला सरकारमा भौतिक योजना, निर्माण तथा यातायात मन्त्री थिए । त्यसबेला उनले काठमाडौँ–निजगढ द्रुतमार्गमा आफ्नो स्वार्थ अनुकूल राज्यलाई ठूलो आर्थिक भार पर्ने गरी भारतीय कम्पनीलाई ठेक्का लगाउन लागेको भनी विवादमा आएका थिए । निधि आफैँले पनि उक्त ठेक्का एउटा इण्डियन कम्पनीलाई दिन सम्पूर्ण शक्ति खर्च गरेका थिए तर, उनी अन्तिममा असफल भए ।
निधि विगतमा सामान्य प्रशासन मन्त्री हुँदा पनि निकै विवादमा तानिए । दुईपटक सामान्य प्रशासन मन्त्री हुँदा निधिले सरुवा बढुवामा मालदार निकायको मूल्य तोकेर कर्मचारीसँग पैसा लिएको आरोप लागेको थियो । यस्तै उनले लेखा समूहलाई महालेखा नियन्त्रकले बाहेक सरुवा गर्न नमिल्ने व्यवस्था तोडेर लेखा अधिकृतहरुलाई मालदार निकायमा सरुवा गरिदिएका थिए । निधिसँग शिक्षा तथा खेलकुद मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र भौतिक योजना निर्माण तथा यातायात मन्त्री भएर काम गरेको अनुभव छ । उनीमाथि पैसा कमाउने मन्त्रालय मात्रै छान्ने गरेको र आफ्नो हितमा मात्रै काम गर्ने मन्त्री भनेर आरोप लाग्ने गरेको छ । रमेश लेखकः कांग्रेस सभापति शेरबहादुर देउवाका अर्का विश्वासपात्र रमेश लेखक संविधान र कानूनका जानकार नेता मानिन्छन् । उनीसँग सांसद रहेर काम गरेको अनुभव भए पनि सरकारमा रहेर काम गरेको लामो अनुभव छैन । दोस्रो जनआन्दोलन पछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारमा उनले श्रम राज्यमन्त्री भएर काम गरेका थिए । कञ्चनपुर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद रहेका मन्त्री लेखक सुदूरपश्चिमका नेता हुन् । उनको जन्म वैतडीको दशरचन्द नगरपालिकामा ०२८ साल मंसिर २५ मा भएको हो । एक छोरा र दुई छोरीका पिता रहेका मन्त्री लेखकले कानूनमा एलएलबी र राजनीतिशास्त्रमा एमए गरेका छन् । वि.सं ०४७ सालको खुल्ला परिवेशबाट राजनीतिमा आएका कांग्रेस नेता लेखकसँग भूमिगत वा निर्वासनको अनुभव छैन । तर, ०६२ साल माघदेखि फागुनसम्म उनले बन्दी जीवन बिताएका छन् । पेशाको हिसाबले उनीसँग कानून व्यवसाय, पत्रकारिता र अध्यापनको समेत अनुभव छ । मन्त्री लेखकले बेलायत, अमेरिका, चीन, कोरिया, भारत लगायत करिब १५ देशको भ्रमण गरेका छन् । दलजीत बिके श्रीपाइलीः नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइली माओवादीका पूर्वलडाकु कमाण्डर (डिभिजन सह–कमाण्डर) हुन् । रुकुमको महत गाविसमा ०२६ साल असोज २७ मा जन्मेका बिकका श्रीमती र ५ छोरी छन् । उनकी पत्नी सुनकुमारी बिक मृगौला रोगबाट पीडित छिन् । प्रमाणपत्र तहसम्म पढेका बिक माओवादीका समानुपातिक तर्फका सांसद हुन् । ०४२ सालदेखि राजनीतिमा लागेका उनी केही समय शिक्षण पेशामा आवद्ध थिए । माओवादी जनसेनामा काम गरेका उनले १० वर्ष भूमिगत जीवन बिताएका छन् । पार्टीको खेलकुद विभागमा रहेर पनि काम गरेका श्रीपाइली युद्धकाल अघिदेखि नै माओवादी पार्टीमा सक्रिय थिए । यस अघिकै सरकारमा मन्त्री बन्ने चर्चा चले पनि उनी अन्तिम समयमा परेका थिएनन् । श्रीपाइली माओवादी जनयुद्धको उदगम थलो रुकुम निवासी हुन् । माओवादी अध्यक्ष प्रचण्डका विश्वासपात्र श्रीपाइली यसअघि लाभको पदमा पुगेका थिएनन् । संविधानसभामा कुर्सी तोडफोड हुँदा अग्रपंक्तिमा देखिएपछि उनी एकाएक चर्चामा आएका थिए । कुर्सी तोडफोडमै संलग्न उमेश यादव केपी ओली नेतृत्वको सरकारमा सिँचाइ मन्त्री बनेका थिए । ०४२ सालमा अखिलबाट राजनीति थालेका विकले दलित मुक्ति मोर्चाको केन्द्रीय अध्यक्षको जिम्मेवारीसमेत निभाएका छन् । गौरीशंकर चौधरीः कृषिमन्त्री गौरीशंकर चौधरी प्रचण्ड सरकारका कान्छा मन्त्री हुन् । चौधरीको जन्म कैलालीको बसौटी ३ मा ०३८ साल माघ ५ गते भएको हो । एसएलसीसम्म अध्ययन गरेका थारु समुदायका मन्त्री चौधरी १६ वर्षको उमेरमै माओवादीमा लागेका थिए । ०५५ सालमा भूमिगत बनेका उनी ०६३ सालदेखि खुल्ला राजनीतिमा आएका हुन् । मन्त्री चौधरी कैलाली क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनका श्रीमती र एक छोरी छन् । यसैबीच मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पहिलो चरणको मन्त्रीमन्डल गठनमा आफूलाई सहभागी नगराएकोमा दुःख व्यक्त गरेका छन् । आज बसेको पार्टीको संसदीयल दलको बैठकमा गच्छदारले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डको सपथग्रहणअघि मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो संसदीय दलको कार्यालयमा बैठक बोलाएका थिए । अध्यक्ष गच्छदारले मन्त्रीपरिषद्को पहिलो चरणमा नै आफ्ना दलबाट मन्त्री पठाउने तयारीमा रहेको तर माओवादी र काँग्रेसले अन्तिम समयमा नबोलाएपछि मन्त्री पठाउन नपाएको गुनासो उनले बैठकमा गरेका थिए ।






Post a Comment

 
Top