0
गोल्डेन न्यूज संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा १६ दलका ३५८ सांसदको समर्थन प्राप्त गर्ने निश्चित भएको छ ।  व्यवस्थापिका–संसद् सचिवालयले प्रकाशन गरेको सूचनाअनुसार आजको निर्धारित समयमा प्रधानमन्त्रीमा अध्यक्ष दाहालको मात्र उम्मेदवारी परेको छ । सचिवालय का अनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक रहेका छन् भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका छन् । सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईकेलका अनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ, सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले समर्थन जनाएका छन् । त्यस्तै अध्यक्ष दाहाललाई नेकपा (संयुक्त) का जयदेब जोशी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, जनजागरण पार्टीका लोकमणि ढकाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का रुक्मिणी चौधरी, खुम्बुवान राष्टिूय मोर्चा नेपालका रामकुमार राई, थरुहट तराई पार्टी नेपालका गंगा चौधरी (सत्गौवा),मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी, अखण्ड नेपालका कुमार खड्का, दलित जनजाति पार्टी नेपालका यसोदाकुमारी लामा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले समर्थन जनाएका छन् । यता, निर्वाचनमा अध्यक्ष दाहाललाई काँग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम
(लोकतान्त्रिक)का १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद एक गरी जम्मा ३५८ सांसदले समर्थन जनाउने भएका छन् । यो सङ्ख्या बुधबार मतदानको समयसम्ममा अझ बढ्नसक्ने नयाँ गठबन्धनका नेताहरुले बताएका छन् ।  प्रधानमन्त्रीको निर्वाचन भोलि बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रारम्भ हुनेछ । संसद्मा हाल ५९५ सांसद छन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्याको बहुमत अर्थात २९८ मत ल्याउनुपर्छ । यसैबीच संसदको दोस्रो ठूलो दल नेकपा एमालेले प्रधानमन्त्री पदको निर्वाचनमा उम्मेदवारी दिएन । मंगलबार बिहान बसेको एमाले स्थायी समितिको बैठकले प्रधानमन्त्री पदका लागि बुधवार हुने प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो दलको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। बैठकले संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्ने समेत निर्णय गरेको शाक्यले बताइन्। यसैबीच नेपाली कांग्रेस माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चारसंघीय गठबन्धनबीच तीनबुदे सहमति भएको छ। कार्यदलले प्रस्तूत गरेको ७ बुँदे सहमतिलाई परिमार्जन गर्दै ३ बुँदेमा झारेको लक्ष्मण कर्णले बताए। सात बुँदेलाई तीन बुँदामा ल्याउनका लागि कांग्रेसका तर्फबाट विमलेन्द्र निधि, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र मोर्चाबाट उपेन्द्र यादव सहभागी भएर सहमतिका बुँदालाई अन्तिम रूप दिन लागिपरेका छन्। ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सासन स्थापनार्थ भएका सबै आन्दोलन संघर्ष र अभियानलाई सम्मानपूर्वक स्मरण गर्दै तराई मधेसमा भएको आन्दोलन, थारू लगायत सबै आदीवासी जनजातीका माग अधिकार सम्बन्धी सवाल समेतलाई दृष्टिगत गरी नेपालको संविधानलाई सबै नेपाली जनताले साझा सम्पत्तिको रूपमा ग्रहण गर्ने वातावण सुनिशचित गर्न नेपालको संविधानका आधारभूत तत्व लोकतन्त्र गणतन्त्र संघीयता समानता समानुपातिक समावेसीता को पूर्ण कार्यान्वयनको प्रत्याभूती गर्दै विनासकारी भूकम्पबाट उत्पन्न समस्याको निरारकण गर्न जनजीविकाका सँग जोडिएका समास्या समाधान गरी देशलाई शान्ति स्थिरता आर्थिक उन्नती एवम् विकासतर्फ अग्रसर गर्ने प्रतिवद्धता व्यक्त गर्दै तीन बुँदे सहमति गर्दछौ,’ जारी विज्ञप्तिमा भनिएको छ।





Post a Comment

 
Top