0
गोल्डेन न्यूज संवाददाता
बर्षायामसँगै पोखराको पर्यटकीय आकर्षणको केन्द्र फेवाताल जलकुम्भी झारले ढाकिन थालेको छ । हिउदमा आफै हराउने र बर्षायाममा तालको सौन्दर्यनै बिगार्ने गरी ढाकिने जलकुम्भीको दीर्घकालिन ब्यबस्थापन गर्न नसक्दा यो बर्षपनि फेवाताल जलकुम्भीले ढाकिएको हो । यो बर्ष अघिल्लो बर्ष भन्दा केहि ढिला जलकुम्भी झार देखियो । अघिल्लो बर्ष साउन पहिलो सातानै झारले तालको रुप विगारेको थियो । जलकुम्भी झारले ढाक्न थालेपछि पोखराका पर्यटन ब्यबशायी, बिभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय झार निकाल्ने र फाल्ने काममा सक्रिय हुन्छन् । अहिले फेवातालको पानी धमिलिएको छ भने झारले पुरै तालको सौन्दर्यनै बिगारेको छ । झारको कारण तालमा डुङ्गा सयरमा समेत समस्या भएको फेवा डुङ्गा व्यवसायी समितिले जनाएको छ । जलकुम्भी झार हटाउन पोखरा उपमहानगरपालिकाले एनसेलसंग सम्झौता गरेको भनिएपनि कुनै काम हुन सकेन । जलकुम्भी झार ब्यबस्थापनको लागि भन्दै जिल्ला विकास समिति, पोखरा उप–महानगरपालिकाले बर्षेनी बजेट विनियोजन गर्दै आएका छन् । बर्षेनी जलकुम्भी झारले फेवाताललाई ढाक्दै जाने र दिर्घकालिन ब्यबस्थापनको उपाय नखोजी ट्रकका ट्रक झार निकाल्ने र फाल्ने गर्दा ताल संरक्षणमा त्यति ध्यान दिएको नदेखिएको पोखरा घुम्न आएका केहि आन्तरिक पर्यटकले बताए ।

Post a Comment

 
Top