0
गोल्डेन न्यूज संवाददाता
 नेपाली कांग्रेसभित्र देखिएको मन्त्रालय भागबण्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल लचिलो हुँदै थप एक मन्त्रालय दिन तयार भएपछि मन्त्रिमण्डल विस्तार शुक्रबार हुने पक्का भएको छ। कांग्रेस नेता एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल लगायतका नेताबीच बिहीबार बालुवाटारमा भएको सहमति अनुसार कांग्रेसले सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गरी १४ मन्त्रालय पाउने भएको छ। यसअघि साउन २० गते सरकारको गठन पूर्व कांग्रेस र माओवादी नेताहरूबीच भएको सहमतिमा माओवादीले प्रधानमन्त्री बाहेक ८ मन्त्रालय र कांग्रेसलाई १३ मन्त्रालयको भागबण्डा भएको थियो।  तर, कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कम्तीमा पाँच मन्त्रालय माग्दै नभए सरकारमा सहभागी नहुने अडान लिएको थियो। त्यसपछि सभापति शेरबहादुर देउवासँगको सल्लाहमा उपप्रधानमन्त्री निधिले प्रधानमन्त्री दाहालसँग वार्ता गरी कांग्रेसको लागि सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गराउन सफल भएका थिए। कांग्रेसको कोटामा मन्त्रालय थप भएपछि सभापति देउवाले पौडेल पक्षलाई पाँच मन्त्रालय दिन सहज भएसँगै मन्त्रिमण्डलमा भागबण्डाको विषयमा उब्जिएको विवाद पनि सुल्झिएको छ।  यसका अतिरिक्त कांग्रेसको कोटामा परेको शिक्षा मन्त्रालयमा माओवादी नेता नारायणकाजी श्रेष्ठले आफूनिकट विनाविभागीय मन्त्री धनिराम पौडेलका लागि दिन अडान लिएपछि कांग्रेसले माओवादीलाई शिक्षा मन्त्रालय छाड्न तयार भएको छ। त्यसको सट्टा कांग्रेसले माओवादी भागमा परेको स्वास्थ्य मन्त्रालय लिएको छ।  
यसअघि कांग्रेसको कोटामा परेको शिक्षा मन्त्रालयमा सभापति देउवाले पार्टी नेता अर्जुननरसिंह केसीलाई पठाउने तयारी गरिरहेका थिए। तर, उक्त मन्त्रालय कांग्रेसको भागमा नपरेपछि केसीलाई सहरी विकास मन्त्रालयमा पठाउन सक्ने सम्भावना बढेको छ। गृह, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, स्वास्थ्य, परराष्ट्र, सामान्य प्रशासन, सहरी विकास, संस्कृति तथा पर्यटन, सिंचाइ, श्रम तथा रोजगार, बन, शान्ति तथा पुनर्निर्माण, सहकारी तथा गरिबी निवारण मन्त्रालय कांग्रेसको भागमा परेको छ। खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालले सानो दलका लागि कांग्रेससँग भागेपछि उक्त मन्त्रालयको सट्टा उद्योग मन्त्रालय कांग्रेसले पाउन सक्नेछ।

सपथ ग्रहण शुक्रबार
कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मन्त्रीको भागबण्डा मिले पनि सरकारमा थप हुने मन्त्रीहरूको सपथ ग्रहण शुक्रबार बिहानमात्रै हुने भएको छ। पार्टीभित्रको विवाद समाधान गरी आजै साँझ ५ बजेसम्म भए पनि थप हुने मन्त्रीहरूको सपथ गराउने तयारीमा सभापति देउवा लागेका थिए। तर बिहीबार कृष्णजन्माष्टमी पर्वको सार्वजनिक विदा र राष्ट्रपति विद्यादेवी भण्डारीको व्यस्तताका कारण नयाँ मन्त्रीहरूको सपथग्रहण एक दिन ढिला हुने भएको हो।  ‘कांग्रेसको सिफारिसमा थप मन्त्रीहरुको नाम आएमा बिहीबार साँझसम्म सपथ ग्रहण गराउने भन्ने कुरा भए पनि विदाको दिन चलन नभएको र साँझ ५ बजेदेखि ७ बजेसम्म राष्ट्रपति कृष्णमन्दिर र गोठाटारमा दर्शन गर्न जाने पूर्वनिर्धारित कार्यक्रम भएको कारण भोलीलाई तय भएको छ,’ कांग्रेसका एक नेताले भने। कांग्रेसको कोटाबाट मन्त्री र राज्यमन्त्रीहरू सबैले शुक्रबारै सपथ हुने नहुने विषयमा सभापति देउवाले सरसल्लाह गरिरहेको भन्दै केही बोल्न चाहेनन्।

Post a Comment

 
Top