0
(टिम्स) कोषको रकम पारदर्शी हुनुपर्नेमा पोखरामा एक अन्तरक्रियामा वक्ताहरूले जोड दिएका छन् । नेपाल पर्यटन बोर्ड र टे«किङ एसोसिएसन अफ नेपाल(टान)द्वारा संयुक्त रुपमा आयोजित पदयात्री व्यवस्थापन प्रणाली (टिम्स) का समस्या र चुनौती विषयक कार्यक्रममा वक्ताहरूले टिम्स कोषको स्थापना पदयात्रीको सेवा सुविधा, पदमार्गको विकास, क्षमता अभिबृद्धि लगायतका उद्देश्यमा आधारित भए पनि त्यस किसिमले उपयोग हुन नसकेकोमा जोड दिए ।
नेपालमा २०६६ सालदेखि पदयात्राका लागि आउने विदेशी पर्यटक मध्ये समूहगत रुपमा पदयात्रामा जाँदा प्रतिव्यक्ति एक हजार र व्यक्तिगत पदयात्रीको दुई हजार रुपैयाँ टिम्स कोषमा राखिदै आएको छ । पछिल्लो समयमा टे«किङ एसोसिएसन अफ नेपाल(टान) र नेपाल पर्यटन बोर्डबीचको असमझदारीका कारण टिम्स कोषको रकम उपयोगमा आउन सकेको छैन । अन्तरक्रियामा पूर्व पर्यटन मन्त्री एवम् नेकपा माओवादी केन्द्रका पर्यटन इन्चार्ज लोकेन्द्र विष्टले टिम्स कोषको रकम व्यवस्थापनको विषय लामो समयदेखि विवादमा रहेको बताउँदै यसलाई समाधान गर्नुपर्ने बताए ।  नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्यटन इन्चार्ज सूर्य थापाले टिम्सको प्रभावकारी कार्यान्वयनका लागि कार्यविधि बनाएर उक्त कोषको रकम दुरुपयोग हुन दिन नहुने बताए । उनले टिम्स कोषमा टानको तर्फबाट बेरुजु कसको नाममा छ भनि एक स्वेतपत्र जारी गरी सार्वजनिक गर्न सुझाव दिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदयात्रा पर्यटन नेपालको विशिष्टता भएको बताउँदै पदयात्री व्यवस्थापन प्रणाली(टिम्स)कोषमा आएका समस्यालाई समाधान गरी अघि बढ्नुपर्ने बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले टिम्स कोषका सम्बन्धमा देखिएका असमझदारी समाधान गर्नुपर्ने भन्दै पदयात्रीहरूको केन्द्रिकृत तथ्याङक राख्ने व्यवस्था यथासक्य चाँडो गर्नुपर्ने बताए । कार्यक्रममा टानका केन्द्रीय सदस्य तारानाथ लामिछाने, पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्मा, नेपाल पर्यटन बोर्ड कर्पोरेट विभागका नविन पोखरेल लगायतले टिम्स कोष सम्बन्धमा आएका समस्या एवम् असमझदारीको अन्त्य गर्दै त्यसको प्रभावकारी सञ्चालन तर्फ केन्द्रित बन्नुपर्नेमा जोड दिए ।



Post a Comment

 
Top