0
राजाराम पौडेल
दर्शकको अपार माया प्राप्त गर्दै नाटक मौसम हराएको देश को तीन दिने मञ्चन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । बिहीबारबाट पोखरामा मञ्चन भएको नाटकको मञ्चन शनिबार पोखरा उद्योग वाणिज्य संघमा खचाखच भरिएका दर्शकको बीच सकिएको छ । नाटक हेर्न ठूलो संख्यामा नाट्यप्रेमी पोखरा उद्योग वाणज्यि संघको सभाहलमा पुगेका थिए । उनीहरुलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मे–हम्मे परेको थियो । पोखरामा नाटक प्रर्दशन गर्ने छुट्टै थिएटर हल नभएको अभाव भने नाटक हेर्न पुगेका दर्शकले भोग्नु परेको थियो । उनीहरुले गर्मीको कुनै प्रवाह नगरी कलाकारलाई साथ दिएका थिए । उनीहरुले बेला–बेलामा गरेको हौसला र सर्मथनले पोखरा उद्योग वाणिज्य संघको अस्थाइ थिएटर हल गुञ्जायमान हुने गर्दथ्यो । यसले कलाकारमा उत्साह थपिदिन्थ्यो । नाटक हेर्न अधिकांश युवा दर्शक पुगेका थिए । 

पञ्चामृत नाट्य समूह पोखराको संयोजनमा भएको मञ्चन कार्यक्रम भव्य भएको आयोजकको दावी छ । तीन दिनसम्म पोखरामा नाटक मञ्चनमा पुगेका दर्शकको सहभागिताले यस्को पुष्टि गर्ने नाटककार कृष्ण उदासी बताउँछन् । ‘पोखरामा नाटकको भविष्य उज्वल रहेको पुष्टि नाटक हेर्न पुगेका दर्शकको भिड र उनहिरुले नाटकप्रति दर्शाएको अथाह मायाबाटै पुष्टि हुन्छ’ उदासीले भने । उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिल प्रसाद गुरुङ, परिवर्तन, निलम तामाङ, शवु पाठक, शितला अधिकारी, आशिष अधिकारी, रमेश बाबु तिमिल्सिना, केशव क्षेत्री, प्रेम केसी, उज्वल रेग्मी, आकाश दाहाल र अर्जुन रेग्मीले दमदार अभिनय रहेको थियो । नाटकमा संगीत संयोजनको जिम्मा रोम तामाङले लिएका थिए । नाटकको सुत्रधार गोविन्द सिञ्जाली मगर थिए् भने सह–निर्देशन विष्णुप्रसाद गौतम, प्रकाश राकेशजंग पन्थी, संयोजन परिवर्तन, प्रबन्धक विवश बाबु, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितैषीले लिएका थिए । नाटककार उदासीको  यो १०४औं नाटक हो । यस अगाडि उदासीले १०३औं नाटकमा विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् ।
प्रकृति, प्रेम र जीवन संर्घष नाटकमा देखाइएको नाटककार उदासीले जनाए । ‘मानिसलाई मानिसबाटै मात्र नभई प्रकृतिबाट हुने घात समेतलाई देखाउन खोजका छौँ’–उनले भने । विभिन्न कारुणिक दृश्यको अलावा हाँस्य सामाग्रीमार्फत समेत दर्शकले मनोरञ्जन लिएका दावी उदासीको छ । ‘यसको विशेषता भनेको यो नाटक सजिलै बुझ्न सकिने, संवाद थोरै र अभिनय धेरै हुनु नै हो’ उनले भने । यो नाटकको मञ्चन पश्चात पोखरामा नाटक व्यवसायिक बन्ने बाटो खुलेको निर्माण पक्षले बताएको छ । पञ्चामृत समुहले आगामी मंसिरमा अर्को नाटक पोखरामा मञ्चने गर्ने बताइसकेको छ । समूहले नाटक प्रर्दशन गर्ने छुट्टै थिएटर हल निर्माण गनृको लागि ठाउँ खोज्ने काम गरिरहेको अध्यक्ष परिवर्तनले बताए । नाटकघर एक वर्ष भित्रमा निर्माण गर्ने उनले जनाए ।






Post a Comment

 
Top