0
नेकपा (माओवादी केन्द्र)को मंगलबारबाट सुरु भएको पोलिटब्युरोको बैठकमा नेताले जनतातर्फ फर्कने पार्टी सङ्गठन निर्माण गरेर जानुपर्नेमा जोड दिएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा धारणा राख्ने अधिकांश नेताले विभिन्न टुक्रामा विभक्त माओवादी पार्टी तथा घटकको एकताले कार्यकर्ता तहमा नयाँ उत्साहको सञ्चार भएको भन्दै त्यसलाई जनताको तहसम्म पु¥याउनुपर्नेमा जोड दिइएको हो । जनतालाई एकताबद्ध बनाएर लैजाँदामात्रै पार्टीको प्रभाव बढ्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन र सोही खालको नीति तथा कार्यक्रम बनाउन पार्टी नेतृत्वलाई सुझावसमेत दिइयो ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार बैठकमा सातवटै प्रदेशका इन्चार्ज तथा नेताले पार्टी एकताले नयाँ उत्साह थपेको भन्दै त्यसलाई संस्थागत गर्न जनतातर्फ फर्कने कार्यक्रम ल्याउन जोड दिएका हुन् । उनले बैठकको सुरुमा नै अध्यक्ष पुष्पकमल दाहालले बैठकको कार्यसूची एवम् मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउँदै बैठक सुरु भएको बताएका थिए । बैठकमा सातवटै प्रदेशका इन्चार्ज र प्रवास अन्तर्राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक कामको प्रतिवेदन पेस गरिएको थियो । रिपोर्टिङका क्रममा माओवादीबीचमा भएको पार्टी एकताले पार्टी पङ्क्ति, सहिद, बेपत्ता परिवार, घाइते अपाङ्गता भएका कार्यकर्ता र आम जनतामा सकारात्मक प्रभाव र उत्साह पैदा भएको भन्दै सो उत्साहलाई संस्थागत गर्नुपर्नेमा जोड दिइएको थियो । यस्तै पार्टी सङ्गठनलाई चुस्त बनाउनुपर्ने, महाधिवेशन आयोजक समिति तुलनात्मक रुपमा ठूलो भएकाले त्यसले प्रभावकारी कार्य सम्पादन गर्न सक्दैन कि भन्ने आशङ्का पैदा भएको भन्दै जनतातर्फ फर्कने गरी कार्ययोजना ल्याउन आग्रह गरे । तत्काल महाधिवेशनको आयोजना गरेर चुस्त पार्टी समिति बनाउन पनि नेताले सुझाव दिनुभएको छ । सङ्गठनात्मक र निर्वाचन विधिबारे नेता वर्षमान पुनले प्रस्तुत गर्नुभएको प्रतिवेदन माथि बुधबारबाट छलफल गरिनेछ । यस्तै बैठकमा महाविधेशनको कार्यतालिका महाधिवेशनको मिति, केन्द्रीय सङ्गठनात्मक संरचना, राजनीतिक परिस्थितिलगायतका विषयमा समेत थप छलफल गरिने भएको छ । रासस






Post a Comment

 
Top