0
सदाझैँ ५ बजे उठेँ । बिहानको नित्यकर्म सकेर उपलब्ध भएका पत्रपत्रिका सरसर्ती हेरेँ । चियानास्ता गरेर ७ बजे नगरपालिकाको हलमा सञ्चालन भएको ‘फिर्के–बुलौदी’ सरसफाइ अभियानका समीक्षा बैठकमा सहभागी भएँ । फेवातालको मुहानसँग जोडिएका ‘फिर्के र बुलौदी’ खोलादेखि फेवाताल क्षेत्रसम्म सरसफाइ गरी वातावरणीय सुन्दरतालाई जोगाउने उद्देश्यले हामीले नियमितरुपमा हरेक शनिबार सरसफाइ अभियान चलाउँदै आएका छौँ ।
हरेक सोमबार त्यो सरसफाइ अभियानको समीक्षा बैठक बस्ने गर्दछ । आजको समीक्षा बैठकमा फिर्के खोलामा मानिसहरुले रातको समयमा सिसा र अन्य फोहोरजन्य वस्तु ल्याएर फाल्ने गरेको विषयमा कुरा आयो । त्यहाँ रहेका विभिन्न टोल विकास संस्थाहरुलाई सक्रिय बनाएर सरसफाइ अभियानलाई व्यापकरुपमा अगाडि बढाउने विषयमा छलफल भयो ।
त्यसैगरी फेवातालको सरसफाइ र सुद्धीकरणका लागि छेउछाउबाट माटो आएर ताल नपुरियोस् भन्नका लागि प्लान गरेर अगाडि बढ्नुपर्छ भन्ने विषयमा पनि छलफल भयो । अनि लेकसाइड छेउछाउमा सोलारबाट बत्तिबाल्ने काम पनि हुन लागेको छ । त्यसलाई पूर्णता दिने सन्दर्भमा कार्यक्रमलाई अगाडि बढाउने विषयमा पनि छलफल भयो । कार्यक्रम ९ बजे सकियो ।
त्यसपछि क्वाटरमा आएँ र खाना खाएँ । अनि अफिस गएर नियमित काममा व्यस्त भएँ । यतिबेला अफिसमा विभिन्न योजनाका रकम भुक्तानीका फाइलहरु थुप्रिएका छन् । मैले केही फाइलहरु हेरेर सबै प्रकृया पुगेको लाई स्वीकृत गरिदिएँ ।
त्यसपछि ११ बजे चापाकोट गाविसमा आयोजित ‘जिविस र विषयगत कार्यालयको सेवा प्रवाह बारे सार्वजनिक सुनुवाइ कार्यक्रम’ मा सहभागी भएँ । त्यहाँ भदौरेतामाङ्गी, कास्कीकोट, ढिकुरपोखरी र चापाकोट गाविसले संयुक्तरुपमा भेला भएर कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा सहभागीहरुले विषयगत सरकारी कार्यालयका सेवा प्रवाह सम्बन्धित जिज्ञासा र गुनासाहरु गर्नुभयो । त्यसमा सम्बन्धित कार्यालयले जवाफ दिने काम भयो । गतवर्ष साउन १३ गते भदौरेतामाङ्गी, ढिकुरपोखरी, सल्यान र लुम्ले गाविसमा बाढी आएर धेरै घर पुरिएका थिए । धनजनको क्षति भएको थियो । त्यतिबेला नदी नियन्त्रणको काम तदारुकताका साथ नभएको कुरा स्थानीयबासीले उठाउनुभयो । यस वर्ष भूसंरक्षण, जलप्रकोप नियन्त्रण, हरियो वन, जिविसलगायतले रकम लगानी गरेर बस्तीमा पानी पस्ने खतरा जहाँ बढी हुन्छ, त्यहाँ जाली भर्ने काम गरेको र जिल्लामा उद्धार टोली पनि तयारी अवस्थामा राखेको मैले बताएँ ।
त्यसैगरी हामी यो अञ्चलमै प्रथम पटक चापाकोट बालमैत्री गाविस घोषणा गर्ने तयारी गरेका छौँ । त्यस सन्दर्भमा गरेका कामको विषयमा स्थानीय बाल क्लबहरुसँग पनि छलफल भयो । ती क्षेत्रमा पुल र बाटोको समस्या भएको गुनासो आएकाले मैले काँप्रे र ककँरे भन्ने ठाउँमा एउटा झुलुङ्गेपुल र पक्कीपुल निमार्णको ठेक्का सम्झौता भइसकेको बताएँ । कार्यक्र्रममा त्यहाँको विकास निमार्णका अवस्था र योजनाहरुका विषयमा पनि छलफल ग¥यौँ । त्यो कार्यक्रम ३ः३० मा सकियो ।
४ बजे जिल्ला प्रशासनमा महिला तथा बालबालिका कार्यालयको ‘लैङ्गिक हिंसासम्बन्धी बैठक’ राखिएको थियो । त्यसमा सहभागी भएँ । बैठकमा महिला तथा बालबालिका कार्यालयले वर्षभरी गरेका कामका विवरण सार्वजनिक ग¥यो । त्यसमा समीक्षा भयो । महिला कार्यालयमा गत वर्षदेखि आजसम्म ३३३३ र यो वर्ष मात्र ४७३ वटा उजुरी परेकामा ११ वटा प्रहरीमार्फत कार्बाही प्रक्रियामा गएका र अरु सबै उजुरीमाथि छलफल भइसकेको पनि जानकारी भयो र कार्यक्रम ५ बजे सकियो ।
त्यसपछि म त्यहाँबाट कार्यालय गएँ । कार्यालयमा आएका उपभोक्ता समूह र स्थानीय बासिन्दासँग छलफल गरेँ । ५ः३० बजेतिर हरियो वन कार्यक्रमको टोलीसँग भेटघाट गरेँ । उहाँहरुका कार्यक्रमहरु बारे जानकारी लिने काम भयो । त्यसपछि कार्यालयमा जिविस मार्फत ‘गाविस र नगरपालीकालाई राजस्व बाँडफाँड’ अन्तर्गत दिनुपर्ने रकमको सन्दर्भमा निर्णय गरी ७ बजे अफिसबाट क्वाटर फर्किएँ ।
म गत वैशाख ८ गते स्थानीय विकास अधिकारी भएर जिल्लामा आएको हुँ । जिल्लाका पान्तिङ र घान्द्रुक दुईवटा गाविसमा मोटर बाटो पुगेको छैन । आउँदो वर्षभित्रमा ती गाविसमा मोटरबाटो पु¥याउने सोच बनाएका छौँ ।
कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीको २०७३ असार २० गतेको दैनिकी । पत्रकार लोकराज जैसीसँगको टेलिफोन वार्तामा उनले आफ्नो दैनिकी बताएका हुन् । २०३९ सालमा खरिदार पदबाट निजामती सेवामा प्रवेश गरेका भण्डारी खुला प्रतिस्पर्धाबाटै २०४० मा नायव सुब्बा र २०४५ मा शाखा अधिकृत हुँदै २०६२ सालमा फाइल बढुवाबाट उपसचिव हुन पुगेका हुन् । उनी गुल्मीको स्नादोहली गाविस वाडा नं. ९ का स्थायी बासिन्दा हुन् ।
स्रोत ः रातोपाटी


Post a Comment

 
Top