0
कान किन दुख्छ ? यी हुन् कारण

अतुल मिश्र
वर्षायाम सुरु हुनासाथ अन्य कानभित्र एकदमै चिलाउने, दुख्ने भएर चिकित्सककहाँ पुग्नेहरूको संख्या बढो छ । कानको नलीमा ढुसी (फंगस) को संक्रमण अर्थात् अटोमाइकोसिसका कारण हुने गर्छ यस्तो समस्या । कानमा ढुसीको संक्रमणसमेत भनिने यो समस्याले प्रभावितहरू अन्य मौसममा आक्कल–झुक्कल चिकित्सककहाँ पुग्ने गरे पनि वर्षा लागेपछि यो क्रम बढ्ने गर्छ ।
‘हामीकहाँ यो मौसममा उपचार गराउन आउने सयजनामध्ये पाँचरछ जनामा अटोमाइकोसिसको समस्या पाइने गरेको छ,’ त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागका प्रमुख डा. राजेन्द्र गुरागाईं भन्छन् । कुनै कारणले रोग प्रतिरोधक क्षमता कम भएकाहरू यो संक्रमणबाट पीडित भएमा जटिलता देखिन सक्ने बढी सम्भावना हुन्छ । एस्पर्जिलस नाइगर र क्यान्डिडा एल्भिकेन्स नामक फंगसका कारण यो संक्रमण हुन्छ ।
‘फंगसहरूले कानभित्र बनाएको फोहोर पदार्थ पहेँलोजस्तो भए एल्भिकेन्स र कालो भए नाइगर फंगसले गर्दा यो संक्रमण भएको बुझिन्छ,’ डा. गुरागाईं भन्छन्,–‘वातावरणमा आर्द्रता र कानभित्रको गर्मी यो फंगसलाई बढाउन सहायक हुन्छ । यस्तो हुँदा फंगसले फस्टाउने मौका पाउँछ ।’ यस्तो संक्रमण नहोस् भन्नाका लागि कानको नलीलाई सुक्खा राख्नुपर्छ । कानभित्र पानी पस्न दिनु हुँदैन । तेल पनि हाल्नु हुँदैन ।
मधुमेही, क्यान्सर रोगी, केमोथेरापी गराइरहेका, मृगौला प्रत्यारोपण गराएका वा डायलासिस गराइरहेका, शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकाहरूको कानमा फंगस उत्पन्न हुने समस्या बढी हुन्छ । कानमा जथाभावी थोपा औषधि हाल्ने गर्दा पनि यस्तो समस्या निम्तिने गर्छ । यस्तो फंगसले पछि गएर कानको संक्रमण उत्पन्न मात्रै नगरेर यो शरीरका अन्य अंगमा समेत फैलिन सक्छ । यसले कानको पर्दामा असर र श्रवणशक्ति प्रभावित हुन्छ ।
कान सफा नगरौं
कान आफैँ सफा हुने अंग हो । यो अंगलाई कुनै पनि प्रकारको सक्रिय सफाइको आवश्यकता हँुदैन । ‘सडकको छेउछाउ पिर्का लिएर बसेकाहरूबाट कान सफा गर्ने वा आफँै कुनै वस्तु कानमा हालेर सफा गर्ने नगरौं,’ डा. गुरागाईंको सुझाव छ,–‘कानलाई स्वच्छ कपडाले बाहिरबाट मात्र सफा गर्ने गर्नुपर्छ । कानभित्र केही पसाएर सफा गर्ने गर्नुहुन्न ।’
के नगर्ने ?
कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने
नुहाउँदा, पौडी खेल्दा कानभित्र पानी पस्न नदिने
कान जथाभावी सफा नगराउने
कपालमा चाया पर्ने नदिने, नत्र चाया कानभित्र पुगेर समस्या उत्पन्न हुन सक्छ
लक्षण
 कान चिलाउनु र दुख्नु
कानभित्र रातो हुनु
कानबाट पहिले तरल पदार्थ र           पछि पिपजस्तै निस्किनु
कान बन्द भएको जस्तो लाग्नु
कानभित्र सुन्निनु
के हो फंगस ?
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, फंगस हाम्रो चारैतिर हुन्छ । पृथ्वीमा १५ लाख विभिन्न प्रजातिका फंगस छन् । तर तीमध्ये करिब तीन सयजति फंगसले मात्र मानिसलाई अस्वस्थ बनाउँछन् । कानमा यस्तो रोग वातावरणमा सामान्य रूपले पाइने फंगसबाट हुने गरेको छ । फंगस घरबाहिर माटो, बोटबिरुवासँगै धेरै घरभित्रको भाग र मानिसको छालामा हुन्छ ।
उपचार
कान चिलाए वा दुख्न थाले तुरुन्त स्वास्थ्यकर्मी वा नाक, कान, घाँटी विशेषज्ञकहाँ पुग्नुपर्छ । चिकित्सकले विशेष प्रक्रियाअन्तर्गत कानको फोहोर निकालेर सफा गर्छन् । यसबाट कानको नलीलाई सुक्खा हुन सघाउ पुग्छ । यो संक्रमणमा फंगसविरुद्घ दिइने थोपा औषधिसँगै कसैकसैलाई कहिलेकाहीँ खाने एन्टिबायोटिक पनि दिइन्छ । डा. गुरागाईं भन्छन्,–‘तर अनधिकृत व्यक्तिसँंग आफूखुसी सोधेर जे पायो त्यही औषधि खाने वा कानमा हाल्ने गर्नु हुँदैन ।’
स्रोत ः इकान्तिपुर

मानसिक रोग ः भ्रम र यथार्थ
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यको परिभाषामा शारीरिक, मानसिक, आध्यात्मिक अनि सामाजिक सबै अवयवलाई स्थान दिएको छ । तसर्थ मानसिक स्वस्थ पूर्ण स्वस्थको अभिन्न अंग हो । तर इतिहास अध्ययन गर्ने हो भने मानसिक स्वास्थ्य सधैं आम मानसिक रोगीझैं तिरस्कृत र अपहेलित रहेको देखिन्छ । मानसिक रोगीहरू आजीवन थुनिएर, बाँधिएर उपचारविहीन अवस्थामा रहेको वा धामीझाँक्रीबाट उपचार गर्ने क्रममा पैसा अनि ज्यानसमेत गुमाउन पुगेको हामी अहिले पनि दैनिकजसो पत्रपत्रिकामा पढ्न पाउँछौं । विश्व इतिहासलाई केलाउँदा प्राचीन ग्रीक अनि रोमन सभ्यतामा मानसिक रोगीहरूको उपचार धर्मभीरुहरूले गर्ने गरेको देखिन्छ । त्यो बेला मानसिक रोगलाई व्यक्तिको नैतिक कमजोरीको रूपमा लिइने र धर्म, दर्शनसँग जोडिने गरिन्थ्यो ।
प्लेटो, अरस्तुजस्ता दार्शनिकहरूले बाहिरी तापक्रम, कालो पित्त र मनका भावनाहरू (असल, खराब) का कारण आत्मामा आउने परिवर्तनलाई मानसिक रोगको कारकतत्व मान्थे र त्यहीअनुसार मन्दिरका पादरीहरू विभिन्न प्रकारका उपचार विधिको प्रयोग गर्थे ।
सत्रौं शताब्दीपछि वैज्ञानिकहरूले मानसिक रोगीहरूको मस्तिष्कमा हुने परिवर्तनबारे अध्ययन गर्न थाले । तर पनि खास कारण पत्ता लगाउन नसक्दा उपचार विधिमा खासै फरक आएन । मानसिक रोगीलाई बौलाहा, पागल, मूर्ख भनी सम्बोधन गरिन्थ्यो र तिनलाई आम मानिसभन्दा फरक व्यवहार गरिन्थ्यो, तिनलाई एउटै कोठामा थुनेर राखिन्थ्यो, खाना, स्नान, शौच आदिको कुनै व्यवस्था हुँदैनथ्यो ।
हातखुट्टा बाँधेर राख्ने, पिट्ने र अन्य कुनै पनि शारीरिक रोगको उपचार गरिन्नथ्यो । २०औं शताब्दीमा फ्रायडले मानसिक रोगीमा लुप्त अवस्थामा रहेका इच्छारआकांक्षा र ती सबको अध्ययनबाट गरिने उपचार पद्धतिको विकास गरेर ‘साइको(एनेलाइसिस’को प्रारम्भ गरे । तर पनि मानसिक रोगीलाई वास्तविक रोगीलाई जस्तो नगरी नैतिक रूपले पतित वा कैदीलाई झैं व्यवहार गरिन्थ्यो । तिनलाई छुट्टै ‘एसाइलम’मा राखिन्थ्यो । साधारण अस्पतालमा तिनको पहुँच थिएन, नत तिनलाई उपचार गर्ने विशेषज्ञहरू नै थिए ।
२० औं शताब्दीको मध्यतिर मानसिक रोगीका लागि उपयुक्त औषधीको विकास भयो । यसले तिनीहरूको घरैमा वा अस्पतालमा भर्ना गरी उपचार गर्न थालियो । करेन्ट उपचार आदिको प्रयोग पनि गरिन थालियो । तर पनि लोकलाजको कारणले गर्दा त्यस्ता रोगीहरूले आफ्नै घरमा पनि राम्रो उपचार, स्याहार, बास पाएनन् र सरकारी मानसिक अस्पतालमा नै रहन बाध्य पारिए । समय बदलिँदै जाँदा एक्काइसौं शताब्दीको सुरुवातसँगै अनुवांशिकताको विकासले गर्दा मानसिक रोगहरूको पनि जैविक कारणहरूबारे अनुसन्धान हुनथाले र केही तथ्य प्रकाशनमा आउन थाल्यो ।
नयाँ–नयाँ औषधिहरूको विकास हुनथाल्यो । मानव अधिकारको बहस व्याख्या गरिन थाल्यो र सामान्य अस्पतालमा समेत मानसिक रोग विभाग खुल्न थाले । यसरी तिरस्कृत मानसिक रोगले अहिले छुट्टै स्थान ओगट्न थालेको छ–उपचारको लागिमात्र होइन, नवीन शोध, आविष्कार, अध्ययन–अध्यापनका लागिसमेत ।
पूर्वीय दर्शन, परम्परामा पनि मानसिक रोगीहरूलाई पश्चिमा जगतमा जस्तै सामाजिक रूपले पतित, नैतिकताविहीन, मूर्ख, बौलाहा, पागल मानिन्थे । अनि बोक्सी छुटाउने, झारफुक आदि उपचार गर्ने, ठिक नभए घरैमा बाँधिन, थुनिन विवश हुन्थे । अझै पनि तिनको अवस्थामा त्यति सुधार आएको छैन, हामी यो मामलामा अझैं मध्ययुगीन युरोपकै अवस्थामा छौं । मानसिक रोगलाई रोग मान्न तयार छैनौं हामी, सामाजिक–आर्थिक कारण देखाउँदै रोगलाई लुकाउँछौं । पूर्वजन्मको पाप भनेर यसलाई विवश भएर स्वीकार्छौं । धामीझाँक्रीकै भरमा छोड्छौं, हामी मानसिक रोगीहरूलाई । अनि त्यो उपचार पनि लुकाएर मध्यरातमा कसैले थाहा नपाउनेगरी गर्छौं ।
अचम्म लाग्छ, आफूलाई ब्लड प्रेसर, मधुमेह आदि रोग लागेमा त्यो कुरा अरूलाई भन्दारसुनाउँदा गर्व गर्ने हामी मानसिक रोगलाई भने एकदमै लुकाउँछौं । वास्तवमा मानसिक रोगबारे अनेकौं भ्रम पालेर बसेका छौं, हामी ।
मानसिक रोगको सम्बन्धमा जनमानसमा अझै केही भ्रम व्याप्त रहेको पाइन्छ । जस्तै, मानसिक रोगीहरू जस्तोसुकै औषधि गरे पनि पूर्णरूपले निको हुँदैनन् । यिनीहरू काम गरेर खान सक्दैनन्, नत परिवार नै चलाउन सक्छन् । विवाह गरिदिएमा यो रोग निको हुन्छ । धामीझाँक्री नलगाएसम्म यो रोग निको हुँदैन । डाक्टरको औषधी सेवन गरेमा बानी लाग्छ र जीवनभर खानुपर्ने हुन्छ । त्यसैले नखानु नै ठिक हो ।
मानसिक रोग पनि ब्लड प्रेसर, मधुमेह आदिजस्तै एउटा रोग हो । अनुवांशिकता, मस्तिष्कमा हुने रासायनिक परिवर्तनजस्ता जैविक र सामाजिक कारणको प्रभावले मानिसको व्यवहारमा आउने परिवर्तन नै मानसिक रोगको कारकतत्त्व हुनसक्छन् । मानसिक रोगीहरू पनि अरू रोगीहरूझैं औषधी खाएर आफ्ना काम निर्वाध रूपले गर्न सक्छन्, परिवार पाल्न सक्छन् ।
उनीहरूलाई औषधीको साथै प्रोत्साहन, सल्लाह, माया, प्रेमको जरुरत पर्छ । विवाह गर्दैमा यो रोग निको हुँदैन । बरु कुनै–कुनै दीर्घरोगका कारण विवाह गरेर परिवारमा कलह झनै बढेको, परिवार टुक्रिएको, बालबच्चाहरू ले दुःख पाएको पाइन्छ । कतिपय मानसिक रोगी र तिनका परिवारले धामीझाँक्रीको प्रभावमा परेर पैसा र ज्यानसमेत गुमाएको पाइन्छ । सबै डाक्टरी औषधीले बानी लगाउँदैनन्, अनुभवी मनोचिकित्सकहरूले बानी लाग्नेगरी औषधी कदापि दिँदैनन् । सबै मानसिक रोगलाई जीवनभर औषधी खानु पर्दैन । त्यसैले हामीले मानसिक रोगहरूबारे व्याप्त भ्रमहरूलाई चिरेर यथार्थलाई मनन गर्दै उपचारमा ध्यान दिनुपर्छ ।
रिसाल धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ हुन् ।

मधुमेहबाट बच्न पर्याप्त सुतौं

वर्तमानको अति व्यस्त जिवनशैली तथा असन्तुलित तथा अस्वस्थकर खानपानका कारण धेरै मानिसहरु मधुमेह जस्ता जटिल रोगहरुको सिकार भईरहेका छन् । यदि तपाइँ पनि आफुमा मधुमेहको जोखिम कम गर्न चाहनुहुन्छ भने तपाइँले आफ्नो निद्रामा पूरा ध्यान दिनु निकै आवश्यक हुन्छ । हो, पर्याप्त तथा भरपूर निद्रा मानिसमा मधुमेहको खतरा कम गर्नमा सहयोगी हुन्छ । हालै गरिएको एक शोध अनुसार पर्याप्त निद्रा लिने मानिसमा टाइप टू मधुमेह हुने खतरा निकै कम हुन्छ । अमेरिकाको लस एन्जल्स बायोमेडिकल रिचर्स इन्स्टिच्युट शोधकर्ताहरुका अनुसार हप्तामा ३ रातको मिठो निद्राले पनि धेरै हदसम्म सरीरमा इन्सुलिनको सक्रियता बढाइदिन्छ । इन्सुलिनको कमीका कारण मधुमेहको लक्षण देखा पर्ने हुँदा पर्याप्त निद्राले इन्सुलिनको मात्रा बढाइदिने भएकाले मधुमेहको जोखिम कम हुन्छ । प्रमुख शोधकर्ता डाक्टर पिटर लिउका अनुसार मानिसले निद्राको घण्टामा वृद्धि गर्दा शरीरको इन्सुलिनको प्रयोग गर्ने क्षमता बढ्दछ र पाका मानिसहरुमा टाइप टू मधुमेहको जोखिम कम हुन्छ । इन्सुलिनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न जिम्मेवारी निर्वाह गर्दछ । त्यसैले अधिक कामका कारण पर्याप्त निद्रा लिन नपाई मधुमेहको जोखिममा परेका मानिसहरुले सुत्ने घण्टामा वृद्धि गर्ने हो भने मधुमेहको जोखिम घट्ने लिउको भनाई छ ।

















Post a Comment

 
Top