0
कास्कीको पर्यटकीय गाउँ घलेलको कुदिछहरा साहसिक खेल क्यान्योनिङको गन्तव्य बन्दै गएपछि तत्सम्बन्धी निःशुल्क तालिम सञ्चालन गरी दक्ष क्यान्योनिङ गाइड उत्पादन गर्न थालिएको छ । क्यान्योनिङ खेलको विकास र विस्तार गरी घलेलको पर्यटन प्रवद्र्धन गर्न तालिम सञ्चालन गरिएको हो । आधारभूत तहको सो तालिममा गाउँकै सात युवा सहभागी रहेको आयोजक संस्था पोखरा प्रालिका अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए । सहभागीलाई पोखरा क्यान्योनिङका वरिष्ठ प्रशिक्षक अन्तिममान गुरुङ र सहप्रशिक्षक लक्ष्मण गुरुङले प्रशिक्षण दिएका थिए । तालिम १० दिनसम्म चलेको थियो । सहभागीलाई निःशुल्क आवासीय सुविधासमेत प्रदान गरिएको थियो । ‘सैद्धान्तिकभन्दा व्यवहारिक ज्ञान बढी पाइयो,’ तालिमका सहभागी स्वीकार वि.क. ले भने,–‘यसले आत्मनिर्भर बन्ने विश्वास जगाएको छ ।’ यसअघि पनि पटकपटक घलेलमा क्यान्योनिङ तालिम सञ्चालन गरिएको थियो । एडभान्स तालिम लिएका दक्ष जनशक्ति आत्मनिर्भर भइसकेका छन् । उनीहरू अमेरिकाका वरिष्ठ क्यान्योनिङ प्रशिक्षक रिच कार्लसनबाट प्रशिक्षित भएका थिए । कार्लसनले घलेलमै पुगेर दर्जनौ युवाहरूलाई यो तालिम दिएका थिए। उनीबाट प्रशिक्षण पाएका युवा नै कुदिछहरामा क्यान्योनिङ गाइड गर्दै आएका छन् ।


Post a Comment

 
Top