0
मनसुन सक्रिय हुनासाथ गत वर्षको महाभूकम्पले थिलथिलो बनाएको कमजोर पहाडी भूभागहरुमा पहिरो जान थालेपछि त्यहाँको जनजीवन कष्टकर बनेको छ । अहिले धादिङको रिगाउँका १९ घरपरिवार पहिरोबाट ज्यान जोगाउन घर छाडेर सुरक्षाको खोजी गर्दै जंगलतिर लागेका छन् । खतराको उच्च जोखिममा रहेका उनीहरुलाई उद्धार गर्न पठाइएको हेलिकोप्टरसमेत अवतरण गर्न नसकेर त्यसै फर्किएको छ । झरी निरन्तर परिरहेका कारण धादिङ, गोरखा, दोलखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र काभ्रेलगायतका जिल्लाहरु अहिले पहिरोको उच्च जोखिममा रहेका कारण प्रभावित व्यक्तिहरुलाई अन्यत्र सुरक्षित स्थानमा सार्न सरकारले तत्काल ठोस कदम चाल्नु अत्यावश्यक देखिएको छ । सरकारलाई ढल्नै लागेको सत्ता जोगाउन मुस्किल परिरहेको समयमा जनतालाई यो दैवी विपत्तिबाट जोगाउन थप प्रयास गर्नुपर्ने जिम्मेवारी आइपरेको छ । अहिले यो पहिरोको खतराबाट धेरै स्थानीय जनतालाई ज्यानै जोगाउन मुस्किल परेका कारण सरकारले दिने भनेको डेढ लाख रकमबाट त्यही खतरापूर्ण ठाउँमा नयाँ घर बनाउन उनीहरु हिचकिचाइरहेका छन् । तसर्थ, उनीहरुलाई नजिकको सुरक्षित ठाउँमा बसोबास गराउन अनुदानको रकमसँगै घडेरी पनि उपलब्ध गराउनु आवश्यक देखिएको छ । पुरानै ठाउँमा घर बनाउँदा अहिले देखिएको खतरा पुनः नदोहोरिएला भन्न सकिन्न । प्रत्येक व्यक्तिलाई आफ्नो जीवनभन्दा प्यारो कुरा अरु केही हुन सक्तैन । तसर्थ, सरकारले अधिकतम मानवीय संवेदनशीलताबाट परिपूर्ण भएर उद्धार र राहत कार्यमा तत्काल ध्यान दिनु अति जरूरी देखिएको छ। सत्ता र प्रतिपक्षको आलोचनात्मक खेलहरुभन्दा माथि उठेर अहिले पहिरो र बाढीबाट प्रभावित पहाड र तराईका जनतालाई जोखिमपूर्ण ठाउँबाट सुरक्षित स्थानमा बसोबास गराउनु यो सरकारको पहिलो कर्तव्य हुन आएको छ । बर्षाद्को मौसम सुरू हुनासाथ प्रत्येक वर्ष बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याउने गरेको छ । विगतमा हामीले धेरै यस्तो क्षति व्यहोरिसकेका कारण अब समयमै उच्च सतर्कता अपनाएर दैवी प्रकोपको क्षतिलाई न्यूनीकरण गर्न सरकारका प्रयासहरु केन्द्रित हुनुपर्दछ । घरघरमै ग्यासको पाइप जडान गरिदिने आश्वासन दिने प्रधानमन्त्री अहिलेसम्म दैवी प्रकोपबाट प्रभावित जनतालाई जोगाउन आफू कति चिन्तित छन् र के–कस्ता प्रयासहरु गरेका छन् भन्नेसम्बन्धमा सार्वजनिक जानकारी दिए भने जनताले मागेको सूचनाको हकको केही हदसम्म भए पनि पालना हुनेथियो । कुरा बढी तर काम कम गर्ने नेपालका राजनीतिज्ञहरुको बानी नै बसेको छ । त्यसमा पनि केपी ओलीले भाषण–कलामा आफ्नै प्रकारको दक्षता प्रदर्शन गरिसकेका छन् । यथार्थसँग मेल खानै नसक्ने उनका अभिव्यक्तिहरुले अब बाढीपहिरोपीडित नेपाली जनताको घाउमा कदापि मलमको काम गर्न सक्नेछैन । तसर्थ, जिम्मेवार सरकार प्रमुखले तत्काल प्रभाव र परिणाम देखाउन सक्ने केही कामहरु गरेर जनताको मन जित्न प्रयास गर्ने अपेक्षा अहिले दैवी प्रकोपपीडितहरुले गरिरहेका छन् ।

Post a Comment

 
Top