0
अन्ततः कविहरूको महाउत्सव मानिने राष्ट्रिय कविता महोत्सव विरोधका स्वरले सामाजिक सञ्जाल र पत्रिकाका पानाहरू रङ्गाउँदै सकिएको छ। विगतदेखि नै विरोधको थुप्रो मानिने महोत्सवले त्यही ‘अपारदर्शी’ छविलाई पुनरावृत्त गरेको छ। ललितपुरका कवि मणिराज सिंहको लोकतन्त्रको अस्मिता शीर्षकको कविताले स्वर्णपदक पाएपछि कविताको आयतन निकाल्न नसक्ने भनेर निर्णायकहरूमाथि नै गहिरो प्रश्न उठाउन थालिएको छ। प्रतियोगिता आफैंमा विवादित काम हो।
 स–साना छिद्रबाट प्रतिस्पर्धीहरूको गुणवेत्ता निकाल्नु चानुचने काम पक्कै पनि होइन। अझ त्यसमा पनि सृजनात्मक प्रतियोगिताले त झन् विवाद पनि सँगै बोकेर ल्याएको हुन्छ। सृजनाको आयतन निर्णायकमा बस्ने व्यक्तिको काव्यिक क्षमता र दृष्टिकोणले मापन गर्ने गर्दछ। जुन व्यक्तिपिच्छे फरक–फरक पनि हुन सक्छ।
२०२२ सालदेखि आयोजना हुँदै आएको प्रतियोगिताको गरिमा विशिष्ट खालको छ। भूपि शेरचन, हरिभक्त कटुवाल, पारिजात, पोषण पाण्डेजस्ता दिग्गजहरूले भाग लिएको प्रतियोगिताका रुपमा यसको गरिमा झन् बृहत छ। तथापि, प्रतियोगिता विवादको चंगुलबाट बाहिर भने कहिल्यै आउन सकेन। कहिले प्रकाशित कवितालाई पुरस्कृत गरेको त कहिले राजनीतिक आस्थालाई पुरस्कारको मापदण्ड बनाएको आरोप प्रज्ञाका लागि सदावहार आरोपजस्तै भएको छ। अरूलाई कविता लेखाएर कविता प्रतियोगितामा भाग लिएको भन्नेसम्मका विवादहरू प्रज्ञाले खेपिरहेको छ। यसरी राष्ट्रिय गरिमा र अस्तित्व बोकेको प्रतियोगीताका बारेमा विवादित स्वर सुनिँदा पनि प्रज्ञाले यसमा सुधार्न सकेको छैन। 
विरोधपूर्ण इतिहास
२०२२ सालदेखि तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानले कविता प्रतियोगिताको आयोजना गर्दै आएको हो। कविताका पारखी राजा महेन्द्र आफंैले कविताको शीर्षक दिएर सोही शीर्षकमा रहेर कविता लेख्न लगाउँदै प्रतियोगिता गराउँथे। यसरी देशभरिबाट कविहरूले प्र्र्तियोगितामा भाग लिन्थे। जसबाट सबैभन्दा उत्कृष्ट कविता लेख्ने कविलाई राजा आफैंले स्वर्णपदक दिने गर्दथे। विस्तारै प्रतियोगिताको स्वरुप परिवर्तन हुँदै गयो र कवि स्वयंले चाहेको विषयमा कविता लेख्ने क्रमको सुरुवात भयो। कविताको संरचना त परिवर्तन भयो तर विवादको दायरा भने कहिल्यै फरक भएन।
 अधिकांश प्रतियोगिताको एउटा बलियो नियम हुन्छ, यसमा भाग लिने कुनै पनि कविहरूका कविता अप्रकाशित हुनुपर्दछ। प्रकाशित कवितालाई प्रतियोगितामा समावेश नगरिनुका साथै पुरस्कार लिइसकेको भए पनि फिर्ता गर्न प्रचलन छ। यसको सिकार २०५३ मा ‘विसे नगर्चिको वयान’का कवि श्रवण मुकारुङ्ग भएसकेका छन्। जो अहिले प्राज्ञका रुपमा समेत जिम्मेवारी सम्हालिरहेका छन्। बिडम्बना, गत साल पनि  प्रोल्लास सिन्धुलियको प्रकाशित कविता त्यो पनि राष्ट्रियस्तरको मधुपर्क पत्रिकामा पूर्व प्रकाशित कविता नै पहिलो भएको थियो।  पुरस्कारका बारेमा सर्वत्र विरोधका आवाज भने निरन्तर उठिरह्यो तर प्रज्ञाले यसका बारेमा खासै आधिकारिक धारणा बाहिर ल्याएन। यसरी विगतलाई नियाल्ने हो भने प्रतियोगितामा राजाको निगाहमा विभिन्न व्यक्तिले पुरस्कार पाएका केयौं घटनासमेत रहेका छन्। गणतन्त्र आएपछि राजाको हातबाट पुरस्कार बाहिर त आयो तर छोटे राजाहरूले यसको छवि गतिलो हुन दिएनन्।
अपरिपक्क निर्णायक
निर्णायक मण्डलमा बस्नेहरूका लागि आफ्नै नीति, नियम र विधिहरू हुन्छन्। कुनै पनि विषयको निर्णायक हुनका लागि सम्बन्धित विषयमा विज्ञता हासिल गरेको व्यक्ति हुुन नितान्त जरुरी छ। तर कवि एवं समालोचक महेश पौडेल विज्ञताभन्दा पनि पार्टीगत रुपमा निर्णायकहरू छनौट हुने बताउँछन्। ‘पाटीको झन्डा बोकेको आधारमा छानिने निर्णायकले कसरी निष्पक्ष नतिजा निकाल्न सक्छ?,’ समालोचक पौडेलेले भने। विगतमा प्रतियोगितामा पुरस्कृत भइसकेकाहरूले समेत मुक्तक र लघुकथा लेख्नेलाई यसपालि कविता विधाको निर्णायक बनाएकाले विवाद आएको बताएका छन्। 
यसपटकको कविता औसत रुपमा कमजोर कविता भएर पनि पुरस्कृत भएको कुरा उठिरहेको छ। यो भन्दा अघिल्लो वर्ष भने प्रतियोगिताको नियमविपरीत पूर्व प्रकाशित कवितालाई पुरस्कार दिइएको थियो। श्रवण मुकारुङ्गले कविता प्रकाशित भएकै कारण पदक फिर्ता गरे पनि गत साल भने फिर्ता लिइएन। समयमै प्रतियोगिता आयोजना गर्न नसकिएको प्राविधिक कारण देखाउँदै पदक खोसिएन। यहाँनेर भएको अर्को त्रुटि भनेको देशको चल्तीको पत्रिकामा छापिएको कवितासमेत नपढेको स्वाङ्ग कसरी गर्न सके हाम्रा निर्णायकहरूले? नेपालको बलियो इतिहास बनाएको मधुपर्कजस्तो राष्ट्रिय पत्रिकामा प्रकाशित कविताका बारेमा समेत जानकारी नरहने भनेको निर्णायकहरूको काव्यिक अध्ययनमाथिको प्रश्न पनि हो । 
राजनीतिक भागबन्डा
राजाको बाहुलीबाट उनकै रुचीबमोजिम प्रदान गरिने पुरस्कारको संरचना गणतन्त्रमा पनि फेरिएको छैन। राजनीतिक भागबन्डाको आधारमा चयन हुने प्राज्ञहरूले छान्ने कवितामा राजनीतिको गन्ध आउने कवि कपील अन्जान बताउँछन्। दुईपटक प्रतियोगितामा कविता वाचनका लागि छनौट भएका अन्जानले भने, ‘यो वर्ष एउटा पार्टीलाई र अर्को वर्ष अर्को पार्टीलाई दिने भनेर अर्को वर्षको पदकका बारेमा समेत निर्णय भएको छ, अब प्रतियोगितामा भाग लिँदा कविता होइन, पार्टीको सदस्यता लिएर जानु उत्तम देखियो।’ प्रज्ञा प्रतिष्ठान काव्य विधा प्रमुख अमर गिरी भने यो कुरालाई ठाडै अस्वीकार गर्छन्। उनले कविताको गुणवेत्ताका बारेमा फरक–फरक धारणा आउनु नयाँ कुरा नभएको बताउँदै कमसल कविताहरूले प्रतियोगिता जितेको आरोप निराधार भएको बताए। उनले भने, ‘एउटा आँखाले मात्र कवितालाई हेरेर कमसल भन्नु वौद्धिक कमजोरी हो।’ तर, सामाजिक सञ्जालमा कवितामा पनि राजनीति भएको भन्ने खालका विभिन्न कवि र समालोचकहरूले टिप्पणी गरिरहेका छन््। ‘कसको कोटामा को परे सबैलाई थाहा छ नि। यी कोही कवि होइनन्। कांग्रेस, एमाले र माओवादीको झन्डा समाएर बनेका प्राज्ञहरू हुन्,’ फेसबुकमा शैलेन्द्र अधिकारीले लेखेका छन्। 
खस्कँदो लोकप्रियता 
कुनै समय प्र्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने महोत्सव उत्सवका रुपमा आयोजना गरिन्थ्यो। देशभरका कविहरूमा महोत्सवका वारेमा चासो चिन्ता हुन्थ्यो। कविहरू व्यग्रताका साथमा महोत्सव कुरेर बसेका हुन्थे। महोत्सवका पदक हात पार्ने सेलिब्रेटीजस्तै हुन्थ्यो। तर, बिडम्बना केही समय यता महोत्सवका बारेमा विवाद चुलिँदै गएपछि यसको आकर्षण विस्तारै घट्दै गएको छ। पाँच सयको हाराहारीमा कविता प्रतियोगितामा कविता प्राप्त हुने गरेकोमा अहिले एक डेढ सयमा सीमित रहेको छ। त्यो पनि राजधानीलाई कर्मथलो बनाउनेहरू छन्। यसले कविता प्रतियोगिताप्रति कविहरूको विश्वसनीयता घट्दै गएको पुष्टि हुन्छ। तर संयोजक गिरी भने यो मान्न तयार छैनन्। कविता वाचनका लागि अहिले प्रबशस्त मन्च भएकाले पनि प्रतियोगीहरू घटेको उनको भनाइ छ। 
सधैं विवादमा राष्ट्रिय पुरस्कार 
नेपालमा प्रतियोगिता होस् या पुरस्कार जहिल्यै विवादमा रहेका हुन्छन्। देशको सबैभन्दा ठूलो कविता प्रतियोगिता होस् या ठूलो धनराशीको मदन पुरस्कार नै किन नहोस् कहिल्यै पनि विवादमुक्त रहन भने सकेन। कुनै न कुनै बहानामा कविता प्रतियोगिताले विवाद छाड्न सकेको छैन भने मदन पुरस्कारका बारेमा त झन् साहित्य बृत्तमा बेग्लैखाले मिथक बनेको छ। यसरी पटक–पटक विवादित हुँदा पनि त्यसलाई सुधार्नुको अलावा झनै विवादित क्रियाकलाप गरिरहेको पाइन्छ। राष्ट्रियस्तरका पुरस्कारका बारेमा ठूलो स्वरमा विवादका स्वरहरू घन्कनु पक्कै पनि उचित मान्न सकिँदैन। 
अबको विकल्प 
प्रतियोगिता सधैंभरि विवादमा आउनु भनेको प्रज्ञाले गरेको लगानी बालुवामा पानी हुनुजस्तै छ। कविता प्रतियोगिताका विषयमा आएका विभिन्न टिकाटिप्पणीलाई तथ्यपरक ढंगले कि त प्रज्ञाले चिर्न सक्नुपर्यो अन्यथा विवादका स्वर बलियो बनाउनका लागिमात्र प्रतियोगिता गराउनु आवश्यक छैन। कुनै समय कविता पढिन्थ्यो मात्र तर अहिले कविता सुनिने मात्र होइन, हेरिने पनि हँुदै गएको छ। यस्तो अवस्थामा कविको प्रस्तुति क्षमतालाई पनि मूल्यांकनको आधार बनाउनु आवश्यक छ। कविता कवि स्वयंले नै लेखेको हो भन्नेखालको विश्वसनीयताको पनि आवश्यकता हुन्छ। प्रज्ञाले आफूलाई विवादित पार्नका लागिमात्र कविता प्रतियोगिताको फेर समातेर अगाडि बढ्नु सान्दर्भिक छैन।     (स्रोत ः सेतोपाटी)





Post a Comment

 
Top