0
प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भैसकेपछि यो सरकारले नैतिकताको आधारमा राजीनामा दिने अपेक्षा अधिकांश राजनीतिज्ञहरुले गरेका थिए । तर, स्थिति त्यस्तो नभएर एमालेको पोलिटब्युरो बैठकले संसद्मा प्रस्तुत भएको सरकारविरूद्धको अविश्वास प्रस्तावको डटेर सामना गर्ने निर्णय ग¥यो । नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता हुने निर्णय गरिसकेपछि एमाले नेतृत्वको सरकार स्वतः अल्पमतमा परेको छ । यस्तो अवस्थामा नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा गरेर नयाँ सरकारका लागि मार्गप्रशस्त गरेको भए त्यो ओली सरकारको बुद्धिमतापूर्ण निर्णय ठहरिन सक्थ्यो । तर, राजनीतिक घटनाक्रम विकसित भएर मतदान प्रक्रियाको सामना गर्ने तहसम्म पुगेको छ । यो निर्णय वर्तमान अवस्थामा प्रिय ठहरिन सकेन । एमालेको अडानले ओलीको राजनीतिक व्यक्तित्व झन् होचो हुन पुगेको अनुभव गरिएको छ । नयाँ सरकार गठनका लागि नयाँ संवैधानिक बहस राजधानीमा प्रारम्भ भएको छ । संविधानको भाग ३३ को संक्रमणकालीन व्यवस्थाअन्तर्गत धारा २९८ लाई टेकेर नयाँ सरकार गठन गर्न सकिने सुझाव संविधानविद्हरुले आइतबार दिएका छन् । ओलीले आफूसँग यदि नैतिकता छ भने मुढेबल त्यागेर राष्ट्रिय राजनीतिक परिस्थिति र घटनाक्रमहरुको समग्रमा विश्लेषण गर्दै राजीनामा दिनु नै उत्तम विकल्प हो । संसदीय प्रजातन्त्रको जननी मानिने मुलुक बेलायतमा भएको जनमतसंग्रहमा युरोपियन युनियनबाट अलग हुने जनमतको परिणाम आएपछि प्रधानमन्त्री डेभिड क्यामरूनले नैतिकताको आधारमा गरेको राजीनामालाई एमाले नेतृत्व र ओली स्वयम्ले पनि स्मरण गर्नु अहिले अत्यावश्यक देखिएको छ । राजनीतिमा नैतिकताको ठूलो महत्व हुने भएकाले आफ्नो र आफूसम्बद्ध पार्टीको छवि स्वच्छ बनाउनकै लागि भए पनि नैतिकताको स्मरण र सम्मान गर्नु आवश्यक देखिएको हो । ओली नेतृत्वको सरकार जसको आधारमा गठन भएको थियो, उही नेकपा माओवादी केन्द्रले साथ छोडेपछि स्वतः अल्पमतमा परेको कुरालाई पटकपटक दोहो¥याइरहनु आवश्यक छैन । तर, संसद्को सामना गर्छु भन्ने प्रधानमन्त्रीको कथित ‘इगो’ मा कुनै दम छैन । सरकार अल्पमतमा परिसकेपछि पनि महत्वपूर्ण निर्णयहरु गरेर यो सरकारले आफूलाई आलोचनाको पात्र बनाएको छ । यसै पनि आलोचनाको शिकार बन्दै आएको यो सरकारले अरु केही महत्वपूर्ण काम गर्न नसके पनि आफ्नै दिनगन्ती समेतको भेउ पाउन सकेन । मधेसी दलहरु ओलीसँग अत्यन्त आक्रोशित छन् । अनि, उनलाई संसद्मा साथ दिने अलि बलियो पार्टी कुनै देखिएको छैन । यो कमजोर धरातलीय यथार्थलाई बिर्सेर पटकपटक सत्ताको अहम् प्रदर्शन गर्नु भनेको प्रधानमन्त्रीका लागि अत्यन्त अशोभनीय विषय हो । नैतिकता बजारमा किन्न नपाइने वस्तु हो । प्रत्येक व्यक्तिको अन्तरहृदयबाट उब्जने चेतनाले नैतिकता जन्माउने हुँदा अझै पनि प्रम ओलीले नैतिकताको आधारमा राजीनामा दिएमा त्यो उत्तम विकल्प हो ।






Post a Comment

 
Top