0
गोल्डेन न्यूज संवाददाता
गोरखाका विभिन्न ११ गाविसका नौ हजार ५४० जना भूकम्पपीडितलाई निजी घर निर्माणका लागि रु ५० हजारका दरले पहिलो किस्तावापत् अनुदान रकम वितरण गरिएको छ । हंसपुर, बारपाक, सौरपानी, देउराली, गुम्दा, मुच्चोक, हर्मी, केराबारी, मान्वु, ताक्लुङ र मनकामना गाविसका भूकम्पपीडितको बैंक खातामा अनुदान रकम पठाइएको जिल्ला विकास समितिका योजना अधिकृत सतिसकुमार भट्टराईले बताए । यस्तै गोरखाको ६० गाविसमध्ये ५० गाविसका भूकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको छ भने पालुङ्टार र गोरखा नगरपालिकामा पनि अनुदान सम्झौताको काम सम्पन्न भएको छ । “भूकम्प पीडितलाई अनुदान बाँड्न विभिन्न बैंकमार्फत अहिलेसम्म रु ४७ करोड ४७ लाख निकासा गरेका छौँ”, भट्टराईले भने–“जिविसको खातामा अझै सात हजार भूकम्प पीडितलाई बाँड्न पुग्ने रु ३५ करोड बाँकी छ । असार मसान्तभित्रमा यो रकम वितरण भइसक्छ ।” अनुदान रकम वितरणका लागि राष्ट्रिय वाणिज्य बैंकलगायत सरकारी तथा विकास बैंकलाई आग्रह गरिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।  समितिले एक गाविसमा एक बैंक नीतिअनुसार बैंकहरूलाई परिचालन गरिएको जनाएको छ । जिल्लाका ५० गाविस र दुई नगरपालिकाका ४३ हजार ५४७ जना भूकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको छ । “आउँदो एक साताभित्र सबै गाविसमा अनुदान सम्झौता सकिन्छ”, स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले भने–“भूकम्प प्रभावित ११ जिल्लामध्ये गोरखामा अनुदान वितरण र सम्झौता छिटो भएको हो । साथै जिल्लाका १४ हजार ९६२ जना भूकम्पपीडितले आफूहरू अनुदान रकम पाउनुबाट छुटेको भन्दै गुनासो गरेका छन् । तथ्याङ्क सङ्कलन गर्दा वास्तविक भूकम्पपीडितलाई अनुदान पाउनबाट इञ्जिनियरले छुटाइदिएको उनीहरूको आरोप छ । गुनासो अध्ययन गर्दा वास्तविक भूकम्पपीडित ठहरिएमा उनीहरू लाई अनुदान रकम दिइने प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बताए । अनुदान रकम पाएका हंसपुर गाविसका भूकम्पपीडितले घर बनाउन सुरु गरेका छन् । भूकम्प प्रतिरोधी घर निर्माणमा सघाउन जिल्लास्थित भवन डिभिजन कार्यालयमार्फत गाउँ गाउँमा प्राविधिक टोलीसहित इञ्जियिनर खटाइएको छ ।





Post a Comment

 
Top