पहिरोमा पुरिएर पर्वतको माझफाँट–३ स्थित पर्वत बेनीमा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्वार नजिकै रहेको धौलागिरि कपास उद्योग माथिको भीरबाट पहिरो खस्दा उद्योग नै पुरिएर १२ वर्षीया अङ्किता तामाङको ज्यान गएको हो । पहिरोले पुरिएर घाइते भएकी तामाङको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । पहिरोमा परेर घाइते भएका ३२ वर्षीय सुवास थापा, १२ वर्षीया कृष्टि घले, १६ वर्षीया सुस्मिता तामाङ, ११ वर्षीय अजय तामाङ, ३२ वर्षीया फुलकुमारी तामाङ, २८ वर्षीया सविना घले, ३ वर्षीय विजय घले र २० वर्षीय प्रेम तामाङको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । मङ्गलबार राति १ बजेको समयमा पहिरो खस्दा उद्योगमा सुतिरहेका उनीहरूको भागाभाग भएको थियो । त्यहाँ रहेका चारजना भने सकुशल रहेका छन् । घाइतेको प्रहरीका साथै पर्वत बेनी र बेनीको कालीपुल क्षेत्रका बासिन्दाले उद्धार गरेर अस्पतालमा पु¥याएका थिए । पहिरोले पुराना कपडालाई प्रयोग गरेर सिरक, डसनालगायत बनाउँदै आएको उद्योगमा रहेका सबै औजार, उपकरण र कच्चापदार्थ नष्ट भएको छ । करिब १५ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । बेनीको कालीपुल हुँदै मल्लाज जाने पदमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । रासस
Subscribe to:
Post Comments (Atom)
Post a Comment