0
गताङ्कबाट क्रमशः
 पोखराको धम्पुसबाट देखिने लेकबेँसी, डाँडै रातो बनाएर फुलेको लालीगुराँसले मनै मोहित बनाएको भावलाई मुक्तककार लेख्छन् ः
रमाइलो धम्पुस अनि मिलेको लेक बेंसीतिर
गुराँस फूलको ताँतीसँगै मनै चोर्ने उच्च शिर
प्यासी बनें साच्चै म त मेटाउन जाने कता
अचम्मै धम्पुसले मोहित पा¥यो मुटुमा रोप्यो तीर                 (सिलोक बन्दै छन्, पृ ः ६६) ।
बढ्दै गएको आवादी तथा वनविनाशले सात तालको सहर लेखनाथको अस्तित्व सङ्कटमा परेको प्रसङ्गलाई उनले यसरी व्यक्त गरेका छन् ः
हेर सात तालको अस्तित्व बचाउन गाह्रो होला
सधैं सुन्दर शान्तको सौन्दर्य नचाउन गाह्रो होला
धाँजा फटाउने धुलो चटाउनेको बीज कायापलट
प्रकृति धन उषाको किरण भनी रचाउन गाह्रो होला                  (सिलोक बन्दै छन्, पृ ः ७१) ।
यसरी असफल गौतमले आफ्ना मुक्तकमार्फत प्रकृतिको चित्रण गरेका छन् ।
प्रेम तथा प्रणय ः मुक्तककार असफल गौतमले प्रेम तथा प्रणय पक्षलाई विषय बनाएर धेरै मुक्तक लेखेका छन् । उनले प्रेम शब्दलाई दुई विपरित लिङ्गी बीचको सङ्गमको रूपमा मात्र लिएका छैनन्, जीवनको आधारशिला पनि मानेका छन् । उनका विचारमा सच्चा प्रेमले मानिसको जीवन सुन्दर बनाउँछ भने झूटो प्रेमले पीडादायी बनाउँछ । उनी प्रेमको सन्दर्भमा होइन प्रेमका प्रकारका बारेमा फरक तर्क प्रस्तुत गर्दछन् । उनले आमाबाबाले छोराछोरीलाई गर्ने प्रेम, एक प्रेमीले आफ्नी प्रियसीलाई गर्ने प्रेम, घरपरिवारले वस्तुभाउलाई गर्ने प्रेम, आफ्नो रूप रङ्ग र धन सम्पत्तिलाई गर्ने प्रेम छुट्टाछुट्टै हुन्छन् भनी प्रेमलाई परिभाषित गरेका छन् । भर्खर मायाप्रेममा परेका प्रेमीप्रेमिकाले समय कसरी बिताउँछन् र एक अर्कालाई कति याद गर्दछन् भन्ने प्रसङ्गलाई असफलले यसरी व्यक्त गरेका छन् ः
निन्द्रा हराएको तिम्रो मध्य रात कस्तो भो ?
सबैभन्दा लामो फोनको बात कस्तो भो ?
सजाउँदै सपना जनम जनमका कुरा गर्दा
कल्पना मै सिउँदो सजाउने साथ कस्तो भो ?                (सिलोक बन्दै छन्, पृ ः ३८) ।
यस्तै असफलले एक युवकले नवयौवना देखेर मोहित भएपछि रावणले झैँ हरेर लाने र आफ्नो जालमा पार्ने कुरालाई लिएर यसरी मुक्तक लेखेका छन् ः
रावणले हरे जस्तै तिमीलाई हरूँ भन्छ अरे
नाम के हो तर उनको उसले सरू भन्छ अरे
हेर अब इन्द्र जालमा पार्छु छोड्ने छैन भन्दै
तिम्रो जवानीको भोको म के गरूँ ? भन्छ अरे                  (सिलोक बन्दै छन्, पृ ः ६२) ।
यसै गरी गौतमले बेलाको खेती शीर्षकको मुक्तकमार्फत सपनीमा माया गरेको, सपनी मै भविष्यको खाका कोरेको र एक नजर हेराइले सपनीमा मरेको प्रसङ्गलाई यसरी व्यक्त गरेका छन् ः
बातै बातमा मात्र माया गरिएछ सपनामा
जिन्दगीको खाका यहाँ छरिएछ सपनामा
कसो कुन्नि पृष्ठभूमि खाँचो छैन हेर
एकै नजरको हेराइले मरिएछ सपनामा     
        (सिलोक बन्दै छन्, पृ ः ४४) ।
आफूलाई हिजो माया गर्छु भन्दै वर्तमानमा हेयको भावले हेरेपछि विगतको कहानी सम्झँदै उनी लेख्छन् ः
तिमी रूँदा डाँको छोडी म पनि रोएकै हो
मायाको चिनो कसम खाँदै आँसुले धोएकै हो
सानु ! आज कसरी माया मार्न सकेकी तिमी
भगवान्् सम्झेर त्यो शिरले पाउ छोएकै हो                  (सिलोक बन्दै छन्, पृ ः ५३) ।
यसरी मुक्तककार गौतमले आफ्ना मुक्तकमा प्रेम प्रसङ्गको समावेश गराएका छन् ।
द्वन्द्वको त्रासदी र विद्रोह
असफल गौतमले राष्टूको द्वन्द्व र त्यसबाट उत्पन्न त्रासलाई विषय बनाई मुक्तक लेखेका छन् । द्वन्द्वको मारबाट सम्पूर्ण नेपाली बच्न नसकेको, ठूला नेता सत्ताका लागि लडेका र यसबाट सोझा जनता मिचिएको प्रसङ्ग ल्याई सम्पूर्ण नेपाली यसका विरुद्ध एक जुट भई लाग्नु पर्ने भाव व्यक्त गर्दै नेपालका शासकको भ्रष्ट आचरण र योग्यताका बारेमा यसरी लेख्छन् ः
कुकुरको पुच्छर बाँधेर सिधा भयो अरे
कान्ला मुनिको भ्यागुतो माथि आयो अरे
सुँगुरले सहर देख्दैन भन्ने सुनिथ्यो हेर
उसैले दुनियाँ बोकी सहर गयो अरे                     (सिलोक बन्दै छन्, पृ. १७) ।
अरूले बहुलाह, सन्काहा जे भने पनि म मानवता बिर्सने छैन र यही धरतीमा सङ्घर्ष गरी अघि बढ्छु भन्ने प्रसङ्गमा उनी लेख्छन् ः
चोटैचोटको भुमरीमा उन्मादले उड्दछु
बहुलाह सन्कीका पगरी लागुन् त्यसैमा बुड्दछु
कालैलाई समेत ख्याल नगरी आमोदमा रमाउँछु
म एक्लै धरतीको मानवपनमा जिएर गुड्दछु                 (सिलोक बन्दै छन्, पृ. २३) ।
असफल गौतमले विभेद शीर्षकको मुक्तकमार्फत छोराछोरी दुवै समान हुन् । अस्तित्वका लागि एक जुट भई सङ्घर्ष गर्नुपर्छ भन्ने भाव यसरी व्यक्त गर्छन् ः
छोराछोरीमा भेद गर्दा कान्छी पनि उठी
मर्ने दुई दिनको चोलामा भन्छे नबाँध मुठी
एक सिक्काका दुई पाटा अस्तित्व हो समान
आत्मसम्मान आफैँ खोजौं भन्छे सबै जुटी                 (सिलोक बन्दै छन्, पृ. २५) ।
असफल गौतमले जब अन्याय र अत्याचारले सीमा नाघ्छ तब निमुखा गरीब जनताले भोको पेटमा भए तापनि विद्रोह गर्दछन् भन्ने प्रसङ्ग यसरी व्यक्त गरेका छन् ः
रक्तमय स्वासप्रश्वासमा आतङ्कको वासना छर्छन्
धुन सुसेल्छन्, ओकल्छन् शून्यता फेरि खुसी हर्छन्
किताबका पानामा दर्शन बोल्छ मौन अन्त्यष्टी
मुक्ति भन्दै भोक र तिर्खाको विद्रोहमा लड्छन्                 (सिलोक बन्दै छन्, पृ. ६१) ।
यसरी देशको प्रशासन सम्बन्धी असन्तुष्ट बढेमा विद्रोह गर्नुपर्छ भन्ने भाव उनका मुक्तकमा पाइन्छ ।
मानवतावादी स्वर
असफल गौतमलाई मानवतावादी मुक्तककारका रूपमा पनि चिन्न सकिन्छ । उनले न्याय कहाँ पाउने ? दृष्टिकोण जस्ता शीर्षक दिएर मुक्तक लेखेर मानवतावादी स्वर उरालेका छन् । उनका मुक्तकमा मानवीय समानता र जातीय मुक्तिको स्वर अभिव्यक्त भएको पाइन्छ । उनले माया, दया, परोपकार जस्ता मानवीय भाव हुनुपर्ने कुरामा जोड दिएका छन् । शोषण दमनको अन्त्य गरी समतामूलक समाजको सिर्जना गर्न असफल गौतम तल्लिन देखिन्छन् । मानिस फूँडो, डुँडो जे जस्तो भए पनि आत्मसम्मान र सन्तुष्टिका साथ बाँचेको हुन्छ, अनेक उपनामको पगरी गुथाउनु हुँदैन किनकि ऊ पनि मानिस नै हो भन्ने भाव मुक्तककारले यसरी व्यक्त गरेका छन् ः
ऊ असल छ तिम्रो नजरमा फूँडो भएर के भयो ?
आखिर बाँचेकै छ आनन्दले बूढो भएर के भयो ?
किन अनेक उपनामका पगरी गुथाउँछ यो समाज ?
ऊ हाँसेकै छ आफ्नै सुखमा डुँडो भएर के भयो ?   
        (सिलोक बन्दै छन्, पृ. १३) ।
समाजमा शासकले शासितलाई शोषण गरिरहेका हुन्छन् । शोषित वर्गले आफ्नो वर्गीय मुक्तिका लागि सङ्घर्ष गरे पनि समाजमा निमुखा वर्गलाई दमन गरिरहेकै हुन्छ । यसैले असफलले समाजमा घटेका र घट्न सक्ने यथार्थ घटनालाई आफ्ना मुक्तकको विषयवस्तु बनाएका छन् । उनले धर्म र विकासका आडमा ठगी गर्ने प्रवृत्ति समाजमा बढ्दै गइरहेकामा चिन्ता व्यक्त गरेका छन् । उनी शोषण दमनको अन्त्य गरी समतामूलक समाजको सिर्जना गर्न चाहन्छन् र यसरी आफ्नो भावना व्यक्त गर्दछन् ः
प्रतिशोधको भावनाले घातै पार्छु भने पनि
मुखले हरे ! भनेर छुरा धसी मार्छु भने पनि
यहाँ आफ्नो कमजोरी देख्दैनन् कोही पनि
आखिर छाल समुन्द्रमै नजरदेखि तार्छु भने पनि    
        (सिलोक बन्दै छन्, पृ. ४२) ।
मानिसले जीवनको अर्थ बुझ्नुपर्छ, ठालुपन नदेखाई ज्ञान, बुद्धि र विवेकको प्रयोग सही ठाउँमा गर्नुपर्छ नत्र उसको जीवनको सार अर्थहीन हुन्छ भन्ने सन्दर्भमा असफलले यस्तो मुक्तक लेखेका छन् ः
बाँच्नुभित्र अर्थ खोज्नुपर्छ ठालुपनले काम दिँदैन
त्यागी भाव विना कतै जोगीको परिभाषा हुँदैन
नौनीतुल्य बनेर बोल्नु आखिर छुरा मुखमै छ
खर्चनु ज्ञान, बुद्धि, विद्या नत्र उपचारले छुँदैन     
        (सिलोक बन्दै छन्, पृ. ४५) ।
समाजमा आफूलाई सम्भ्रान्त ठान्नेले नानाथरी बहाना बनाएको देखेर मुक्तककार असफललाई दिक्क लाग्छ । उनीहरू स्वार्थपूर्तिका लागि जस्तो कर्तुत गर्न पनि तत्पर रहेको देखेपछि उनी लेख्छन् ः
मेरो गौरव भन्दै माछापुच्छे« देख्दा छाती बढ्दछ
फेवातालको जलकुम्भी हेर्छु मुटुमा किला गड्दछ
मान्छे मान्छेमै विश्वासको मात्रा शून्य भएपछि
सामन्तीका पाता कसौं कि भन्दै मेरो पारो चढ्दछ   
        (सिलोक बन्दै छन्, पृ. ५७) ।
यसरी गौतमले आफूलाई मानवतावादी मुक्तककारका रूपमा चिनाएका छन् ।
अभाव र गरिबीको चित्रण
मुक्तककार असफल गौतमले आफ्ना मुक्तकमार्फत नेपालीको गरिबी, अशिक्षा, बेरोजगारीका कारण देखापरेको समस्या आफ्ना मुक्तकमा व्यक्त गरेका छन् । सबैको घरमा दसैं आउँदा गरिबको मन रोएको, भेँडा च्याङ्ग्रा सम्झिएर पनि मनमा खुसी नछाएको प्रसङ्गलाई दसैँको मर्म शीर्षकको मुक्तकमार्फत आफ्नो विचार यसरी व्यक्त गरेका छन् ः
घरमा दसैँ आयो उनको मेरो भित्री मन रोयो
अक्षता, जमरा, च्याङ्ग्रा सम्झिएर के नै भयो
हृदयबाट खुसी उड्यो के को रङ्ग रमाइलो
मेरो जिन्दगीको इतिहास सबै यसै गरी गयो    
        (सिलोक बन्दै छन्, पृ. ७) ।
असफलले आफ्नो दैनिकी चलाउने सन्दर्भमा निकै सङ्घर्ष गर्दा पनि आशा नभेटिए पछि सपना नहरमा हेलिएको र अभावमै जीवन जेलिएको प्रसङ्गमा यसरी लेख्छन् ः
सङ्घर्ष गरिरहेछु साइनो जोड्न सहरमा
गाउँको बस्ती छोडी आउँदा परेँ जहरमा
गोटी चाल्दै पाइला बढे भेटिँदैन आशा
मेरा सारा सुनौला सपना हेलिए नहरमा    
            (आदर्श समाज, पृ. २) ।
आफ्नो घर परिवारमा अभाव र गरिबी देखेपछि सबै सम्पन्नताको पछि लाग्दा रहेछन् । अभावकै कारणले गर्दा जिन्दगीभर तिम्रो बन्छु भनेका मायालुले विश्वासघात गरेको भावलाई मुक्तककारले यसरी व्यक्त गरेका छन् ः
बिहानपख देखेको सपना पर्दोरहेछ
सम्पन्नता भेटे माया पनि सर्दोरहेछ
दुनियाँलाई माया गर्छु भनी भनी रूवाई
नसोँची गरेको विश्वासले घात गर्दोरहेछ
        (सिलोक बन्दै छन्, पृ. ४६) ।
समाजमा निमुखालाई महङ्गीले बाँच्न गाह्रो भइरहेको छ। अर्कातर्फ लिखाको बोसो थुतेझैँ थुत्न पल्केका धुर्तको व्यवहारले उनलाई चिन्ता परेको छ र उनी मुक्तक लेख्छन् ः
महङ्गी र भ्रष्टाचारका कुरा फुकी केही हुने वाला छैन
तिम्रो मुहारमा हेर पहिला त्यहाँ इमान छ कि छैन ?
अर्काको आङमा जुम्रा देख्नेले आफ्नोमा भैँसी देख्दैन भने
बिचरा ! भन्दै देखावटी पग्लिरहेछौ पीडाले भएर मैन              (सिलोक बन्दै छन्, पृ. ५८) ।
यसरी असफल गौतमका मुक्तकलाई विभिन्न कोणबाट विश्लेषण गर्न सकिन्छ । यिनै विशेषता र वर्तमान परिवेशप्रतिका धारणा नै उनका मुक्तकका विषयवस्तु हुन् ।
असफल गौतमका शिल्पगत प्रवृत्ति ः मुक्तककारले आन्तरिक तहमा निर्माण गरेको विचार र चिन्तनलाई कलात्मक रूपमा अभिव्यञ्जना गर्ने तरिकालाई शिल्प विधान भनिन्छ (पौडेल, २०६८ ः १०१) । वास्तवमा शिल्प विधानले लेखकको निजत्व झल्काउँदै अभिव्यक्तिलाई चिनाउँछ । हरेक व्यक्ति वा साहित्यकारका भाव व्यक्त गर्ने आफ्नै विशिष्ट शिल्प पक्ष हुन्छन् । यहाँ मुक्तककार असफल गौतमका मुक्तकलाई शिल्प पक्षका रूपमा स्वच्छन्दतावादी शैली, व्यङ्ग्य शैली, सरल भाषाका प्रयोगकर्ताका रूपमा चिनाइएको छ ।
स्वच्छन्दतावादी शैली ः असफल गौतम आधुनिक नेपाली कविताका क्षेत्रमा स्वच्छन्दतावादी प्रवृत्तिलाई आत्मसात् गरी कविता र कविताका लघु विधामा कलम चलाउने स्रष्टा हुन् । उनले आफ्ना मुक्तकमा सामाजिक, राजनीतिक, सांस्कृतिक, शृङ्गारिक, वैज्ञानिक तथा प्राकृतिक विषयवस्तुको प्रयोग गरेर मुक्तक लेखेका छन् ः
कल्पना नै छैन भोलि कसो होला यथार्थमा
तर प्रेमको प्रभावमा परिएछ सपनामा
उनको मौन स्वीकृतिमा परिवारको पत्तो छैन
सँगै हात समाई सागर तरिएछ सपनामा     (सिलोक बन्दै छन्, पृ.१६) ।
त्यसैले उनका मुक्तकमा स्वच्छन्दतावादी प्रवृत्ति भेट्न सकिन्छ ।
व्यङ्ग्य शैली ः सोझै व्यक्त गरिएको कुरा भन्दा घुमाउरो पाराले भनिएको कुरा बढी प्रभावकारी, रोचक र मर्मस्पर्शी हुन्छ । व्यङ्ग्यशैलीले मुक्तकलाई जीवन्त बनाउँछ । यस शैलीमा एउटा कुरा भने झैँ गरी अर्कै कुरा भनिएको हुन्छ । त्यस्ता मुक्तकले साङ्केतिक अर्थ व्यक्त गरेका हुन्छन् । जसमा व्यङ्ग्य भाव छताछुल्ल पोखिएको हुन्छ ।
सत्तामा रहेकाहरू आफू मिल्नाका सट्टा निर्दोष र सोझा जनतालाई दोष थुपारेर आफूहरू असल भएको देखाउने अभिव्यक्ति दिएको देखेर हामीले चुनेर पठाएका ठूला बडाहरू जोक्कर जस्तो लागेको भावलाई मुक्तकमा यसरी व्यङ्ग्य गरिएको छ ः
एउटा मञ्चासिन पात्र जनता ठानेपछि
नचाहेर अभिनय हेर्नुपर्ने दर्शक मानेपछि
जोक्कर नमिल्दो कि मिलाउन नजानेको
वाक्क भए ठम्याउनै गाह्रो यस्तै छानेपछि   
            (सिलोक बन्दै छन्, पृ. १४) ।
वर्तमान समयमा स्रष्टा साधक नै इमान्दार हुनुको सट्टा अर्काको गुलामी गरेर आफूलाई वरिष्ठ ठान्नेप्रति व्यङ्ग्य गर्दै यसरी मुक्तक लेख्छन् ः
स्रष्टाले यहाँ सिर्जनाको मूल्य चिन्दैनन् हेपी
छाता ओड्छन् त्यसैको हिँड्छन् झण्डा चेपी
रमिता देखाउँछन् रमिते बन्छ सिर्जना र कलम
पासा त पक्कडमै पार्छन गुलामको भारी खेपी                (समकालीन नेपाली मुक्तक, पृ. २७) ।
यसरी असफल गौतमले आफ्ना मुक्तकमा व्यङ्ग्यवादी चेतना व्यक्त गरेका छन् ।
सरल भाषाशैली
मुक्तककार असफल गौतम सरल तथा सरस भाषामा मुक्तक लेख्न रूचाउँछन् । सामाजिक यथार्थवादी भावना बोकेका गौतमले समाजमा प्रचलित भाषाशैलीलाई आफ्नो मूल मर्म ठानेका छन् । उनले यदाकदा झर्रा नेपाली शब्द, उखान टुक्का र अङ्ग्रेजी शब्दको पनि प्रयोग गरेको पाइन्छ । यसले उनको मुक्तकलाई मीठो बनाएको देखिन्छ । उनका मुक्तकहरू पाठकका निम्ति सरल र सरस बनेका छन्, जस्तै ः
एक नजरको हेराइमा दिल चोर्नु थियो भने
मलाई रूवाई अन्तै नाता जोर्नु थियो भने
किन लाचार बनी समर्पणको बिस्कुन सुकाएको ?
गोलाद्र्धका दुई छेऊ झैँ सीमा कोर्नु थियो भने    
            (सिलोक बन्दै छन्, पृ. १४) ।
यस्तै मुक्तककार असफलले वर्तमान आफ्नो जीवन प्रतिको चिन्तनलाई उतारेर यसरी मुक्तक लेख्छन् ः
जिन्दगीको खेलमा हारेर रमाएको मान्छे म
कल्पनातीत आसा मारेर रमाएको मान्छे म
मेरा दुई पाइला जोखिम छन् हार्नु र मर्नुको
कयौं युद्ध यो फैसलाले टारेर रमाएको मान्छे म   
            (सिलोक बन्दै छन्, पृ. २८) ।
यसरी उनले आफ्नो मुक्तकमा सरल भाषाशैलीको प्रयोग गरी मुक्तकलाई आम पाठकका लागि रुचिकर लाग्ने बनाएका छन् ।
संरचना ः कुनै पनि रचनाको संरचना भन्नाले यसको बनावट अर्थात् आकृति भन्ने बुझिन्छ ।  संरचनागत आधारमा उनले चारदेखि १० शब्द सम्मका मुक्तकको रचना गरेका छन् । उनको सबभन्दा थोरै शब्द प्रयोग भएको चलन शीर्षकको मुक्तक समावेश रहेको छ । प्रस्तुत मुक्तकमा उनले गरिब परिवारमा जन्मनेको माया खोसिएको भाव यसरी व्यक्त गरेका छन् ः
गरिबीमा दुनियाँको माया खोसिन्छ
नखरा पार्दै दिलमा आगो झोसिन्छ
इमान–जमान विश्वासका कुरा गरी–गरी
बालुवामा पानीसरी खुसी सोसिन्छ        
            (सिलोक बन्दै छन्, पृ. २०) ।
यस्तै सबैभन्दा धेरै शब्द प्रयोग भएको मुक्तक रात शीर्षकको हो । प्रस्तुत मुक्तकमा उनले विश्वासमा घात भएको कुरालाई यसरी व्यक्त गरेका छन् ः
मलाई सम्भव छ भन्दै आसमा राख्ने मायाको मात कस्तो हो ?
प्रस्टसँग कुरा नखोल्ने तिम्रो त्यो प्रेमको जात कस्तो हो ?
आजकल याद आउँछ निन्द्रासँगै हरपल तिम्रो मुहार
सपनामै वचन लाउने तिमीसँगको मध्यरात कस्तो हो ?                (सिलोक बन्दै छन्, पृ. ५५) ।
यसरी संरचनात्मक हिसाबले उनको कृति भित्रका सबै मुक्तक चतुष्पदीय रहेका छन् । मुक्तक लेखनको सन्दर्भमा उनले स्वतन्त्र, संस्कृत र रूबाइ संरचनालाई आधार बनाएर मुक्तक लेखेका छन् ।
निष्कर्ष ः असफल गौतमले साहित्यका विविध विधामा कलम चलाएका छन् । उनका मुक्तकमा सामाजिक यथार्थता, प्रकृतिप्रेम, राष्टूप्रेम, मातृत्व प्रेम, प्रेम तथा प्रणय पक्ष, द्वन्द्वको त्रासदी र विद्रोह, गरिबी तथा अभावको चित्रण, मानवतावादी स्वर पाइन्छ । प्रस्तुत लेखमा असफल गौतमका शिल्पगत प्रवृत्ति अन्तर्गत स्वच्छन्दतावादी शैली, व्यङ्ग्य शैली, सरल भाषाशैलीको प्रयोगका बारेमा चित्रण र मुक्तकहरूको संरचनाका बारेमा सामान्य चर्चा गरिएको छ । उनले मुक्तकमा समसामयिक यथार्थको चित्रण गर्नाका साथै मायाप्रेमको भाव, मातृत्व प्रेम, प्रकृतिको चित्रण गरेका छन् । उनले माया र राज्य सत्तामा स्वार्थी भाव बढ्दै गएको, सोझा साझा जनता अन्याय अत्याचारबाट बच्न नसकेको भाव व्यक्त गरेका छन् । यस्तै असफलले आफूलाई नारीवादी लेखकका रूपमा चिनाएका छन् । उनका सिर्जनामा नारी सौन्दर्य फैलाउने फूल भएकाले नारीको सम्मान गर्नुपर्ने भाव व्यक्त गरिएको छ । असफलका मुक्तकमा अन्याय अत्याचारबाट पीडित जनताको सङ्घर्षमय प्रस्तुती र वर्तमान राजनीतिक अवस्थाप्रति व्यापक असन्तुष्टि पाइन्छ । उनका मुक्तकमा शब्दालङ्कार, अर्थालङ्कारका साथै नवीन बिम्ब र प्रतीकको प्रयोग गरिएको छ । उनले मुक्तकमा मात्र होइन आफूले कलम चलाउने बहुसङ्ख्यक विधामा व्यङ्ग्यात्मक पारामा बिम्ब र प्रतीकलाई जोड्दै सरल, सुबोध्य र सहज शैलीको प्रयोग गरेका छन् । आफू लोकदोहोरी गायक भएको कारणले उनका मुक्तकमा गीति शैलीको प्रभुत्व पाइन्छ । मानवतावादी स्वर, सामाजिक यथार्थ र वर्तमान युगजीवनको चित्रण नै असफल गौतमका प्रवृत्तिगत विशेषता हुन् ।

Post a Comment

 
Top