0
गोल्डेन न्यूज संवाददाता
कास्कीको घाचोक गाउँ विकास समितिको आर्थिक वर्ष २०७२÷ ०७३ को सार्वजनिक सुनुवाई शुक्रवार गाविस कार्यालयमा भएको छ । घाचोक गाँउ विकास समितिले प्रदान गरेको सेवा प्रवाहको अवस्था, योजना छनौट, कार्यान्वयन र वजेट खर्च तथा उपभोक्ता समितिहरुले गरेका कार्यहरुको वारेमा सेवाग्राही नागरिकहरुसंग सार्वजनिक सुनुवाई गरिएको हो । नौलो घुम्ती, नेपालको सहकजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाविस सचिव शान्तिप्रसाद गौतमले गाविसमा आर्थिक वर्ष २०७२÷०७३ मा सम्पन्न भएका विभिन्न कार्यक्रम तथा आयोजनाहरुको समग्र प्रगति तथा सेवाको गुणस्तरका वारेमा सेवाग्राही नागरिकलाई जानकारी गराएका थिए । स्थानीय सेवाग्राही नागरिकहरुले गाउँ विकास समितिमा संचालन भएका योजना तथा कार्यक्रमहरुको अनुगमन फितलो हुने गरेको गुनासो गरेका छन् । स्थानीय चित्रनाथ लम्सालले भने–घाचोक गाविसको वडा नं ३ मा रहेको खेतमा सिँचाईका लागि पहिले कलर्वट गर्ने भनियो, तर अहिले वालुवा मात्रै हालेर कमसल कुलो बनाईयो, अनुगमन समितिले हचुवाका भरमा फरफारकका लागि प्रतिवेदन दियो, काम राम्रो भएकै छैन । उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त लम्सालले काम सुधार गर्ने भनेपनि नगरेको उनको गुनासो छ ।  अर्की सेवाग्राही वालकुमारी लम्सालले महिलाहरुले उठाएका गुनासा यहाँका राजनीतिक दल र पुरुषहरुले कम सुन्ने गरेको गुनासो गरे । महिलाहरुले गर्ने कुनैपनि कार्यक्रमलाई पुरुष दाजुभाईहरुले नसुन्ने र सहयोग पनि नगर्ने गरेको उनको भनाई छ । स्थानीय सेवाग्राही नागरिकहरुले उपभोक्ता समितिले समयमा योजना सम्झौता नगर्ने, अनुगमन फितालो भएको, सामाजिक उपलव्धी हासिल नभएको तथा योजना छनौटमा प्राथमिकता नभएको गुनासो राखेका थिए । गाविस सचिव शान्तिप्रसाद गौतमले आगामी आ.वमा अनुगमन कार्यलाई प्रभावकारी वनाईने प्रतिवद्धता राखे । समय तालिका वनाएर अनुगमनको कार्य गर्छौ, सचिव गौतमले भने–नीति र कानुन कार्यान्वयनका लागि कसैसंग सम्झौता हुँदैन । गाविसमा हुने सवै क्रियाकलापहरु पारदर्शी र जवाफदेही वनाउने सचिव गौतमले प्रतिवद्धता जनाए । कार्यक्रममा घाचोक गाविसका स्थानीय राजनीतिक दलका नेताहरुले गाविसमा हुने हरेक कार्यक्रममा महिला सहभागिता वढाउने, हिसावकिताव पारदर्शी वनाउने तथा अनुगमन प्रभावकारी वनाईने प्रतिवद्धता राखेका छन् । नेपाली कांग्रेसका सभापति वेलवहादुर गुरुङ, नेकपा एमालेका अध्यक्ष केशवराज पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष चित्रनाथ लम्सालले गाविसमा योजना छनौट, कार्यान्वयनमा राजनीति भन्दा माथि उठेर काम गर्ने बताएका हुन् ।





Post a Comment

 
Top