0
कृष्णराज बजगाइँ
रेक वर्षायाममा तराईमा डुवान र बाढी तथा पहाडमा पहिरोका कारण अर्बौंको धनमाल र सैयौंको ज्यान जाने गरेको छ । यो विभिषिका घट्नुको साटो हरेक वर्ष अझ विकराल हुँदै गइरहेको छ । हरेक वर्षा सहकालका रुपमा आउनुपर्नेमा महाकालका रुपमा आउने परस्थिति मानवजन्य क्रियाकलापबाटै सिर्जना भइरहेको छ । केही नीतिगत कारणले, केही लापरवाहीले, केही नियतजन्य कारणले, केही नक्कल गर्ने प्रवृत्तिका कारणले त केही अज्ञानतावश अनि केही इतिहासबाट शिक्षा नलिएका कारण यो अवस्था सिर्जना भएको हो । बुँदागत रुपमा भन्नुपर्दा देहायका कारणले मुलुकमा हरेक वर्षायाममा बाढीको विभिषिकामा मुुलुक धसिन पुगेको होः
(१) तराईमा पूर्व–पश्चिम दिशामा बनाइएका अवैज्ञानिक ग्रामीण सडकः
तराईमा कथित विकासका नाममा पूर्व–पश्चिम दिशामा ग्रामीण सडकहरुको सञ्जाल नै निर्माण भएको छ । विना अध्ययन पानीको निकासको पर्याप्त व्यवस्था नगरिएको नहुँदा वर्षाको पानी स्वभाविक निकासको अभावमा अनियन्त्रित हुने र धारको रुप धारण गरी प्रकोप निम्त्याउने गर्दछ । यो विषयमा जनता निरीह र सरकार रमिते भएर बसेको छ ।
२) नालाहरुको अतिक्रमणः तराईमा जग्गाको मूल्यवृद्धि भएसँगै परम्परागत फराकिला पानीका प्राकृतिक निकासका नालाहरु अतिक्रमण गरी पर्खाल लगाउने, पुर्ने र बन्द गर्ने प्रवृत्तिमा व्यापक बढोत्तरी भएको छ । फलतः वर्षातको पानीले स्वभाविक निकास पाउन सकेको छैन ।
(३) ईंटा भट्टाको व्यापकताः नदीको तटवर्ती क्षेत्रमा सञ्चालित ईटाभट्टाले माटो उत्खनन गर्दा एकातिर नदी सतहभन्दा बस्तीहरु होचो हुन गइरहेका छन् भने अर्को्तिर वर्षातको प्राकृतिक प्रवाहमा अवरोध आउन थालेको छ । र तटवर्ती वस्ती जोखिममा पर्न थालेका छन् ।
(४) नदीको स्रोतको अवैज्ञानिक उत्खननः नदी स्रोतको अवैज्ञानिक उत्खनले गर्दा नदीको आधार कतै होचो र कतै अग्लो हुने, नदीको प्रवाह गतिमा वृद्धि हुने र अनियमित प्रवाह उत्पन्न हुन गई नदीको पानीले कतिबेला कुन तटमा विध्वंश मच्चाउने हो सोको अनुमान गर्न कठिन हुन गएको छ । तराईमा वर्तमानको तट कटानको प्रमुख कारणमध्ये यो पनि एउटा हो ।
(५) पहाडमा जथाभावी बनाइएका सडकः पहाडमा हिउँदमा डोजर लगाएर सडक खन्ने र अबीर जात्रा गर्ने अनि वर्षामा त्यही अव्यवस्थित सडकले निम्त्याएको पहिरोका कारण गाउँका गाउँ बगाएर शव यात्रा गर्नुपर्ने अवस्था सिर्जना भएको छ । ती सडक र ती सडकमा गुड्ने गाडीको कम्पनका कारण जाने भूक्षयका कारण नेपालका नदीहरुमा पानी र लेदोको अवस्था बराबरजस्तो हुने अवस्था सिर्जना भएको छ । वर्तमान अवस्थामा नदीको जलस्तर वर्षातमा हृवात्तै बढ्नु र हिउँदमा हृवात्तै घट्नुमा यही कारण हो । तर, पहाडमा जथाभावी सडक बनाउने उन्मादमा कुनै कमी आएको छैन । परिणामतः पहाड माटोविहीन भएर चट्टाने ढिस्कोमा परिणत हुने खतरा बढेर गएको छ भने तराईको भूभागमा पहाडको ग्रेगरको थुप्रोमा परिणत हुन गएको छ । यो उन्मादमा रोकावट नआएसम्म न पहाडमा पहिरो रोकिनेवाला छ, न तराईमा बाढी र डुवान नै । तराई र पहाडको माटो विनाश गर्ने यी पहाडी सडकहरुको निर्माण रोक्ने संकेत कही पनि देखिएको छैन ।
(६) नदी तटवन्धनको अवैज्ञानिकताः वर्तमान समयमा तराईमा गरिएका नदी तटवन्धन टी आकारका बाँधमा आधारित छन् । जलप्रवाहको वेग बढी भएका स्थानमा यस्ता तटबन्धहरु औचित्यहीन हुन्छन् । यस्ता बाँधहरु त प्रवाह वेग अति न्यून हुने बंगलादेशका नदीहरुलाई मात्र उपयुक्त हुन्छ । अर्को यी तटवन्धहरु यसरी डिजाइन हुन्छन् कि वारिपट्ट ितटवन्ध गर्दा पारिपट्ट किटान हुने र पारिपट्टी तटवन्ध गर्दा वारि पट्ट किटान हुने अवस्था सिर्जना हुन गएको छ । यस विषयमा कहिल्यै पनि सोचिएको छैन ।
(७) जलप्रवाह क्षेत्रको वन संरक्षणमा उदासिनताः जल प्रवाह क्षेत्रमा सदावहार वनहरुको अपरिहार्यता हुन्छ, पहिरो र भूक्षय नियन्त्रण तथा पानीको सौम्य प्रवाहका लागि । तर, जलप्रवाह क्षेत्रमा सदावहार वनको विकास र विस्तारमा चरम उदाशीनता छ । वन विस्तारका नाममा फैलिएका सल्लाका वन र एकै प्रजातिका वनका कारण माटो खुकुलो हुने र झाडीको अभावमा पहाडमा भूक्षय र पहिरोको खतरा अझ बढेर गएको छ ।
(८) अवैज्ञानिक वस्ती विकास र शहरीकरणः पहाड र तराई दुवैतिर अवैज्ञानिक वस्ती विकास र शहरीकरणको उन्मत्तता थामिने कुनै लक्षण देखिएको छैन । पहाडमा नदी छेऊमा भैरहेको वस्ती विकास र तराईमा वर्षाको पानीको प्राकृतिक प्रवाहलाई प्रभावित गर्ने गरी भएको शहरीकरणका कारण बाढी पहिरो र तट कटानमा यो भयावह सिर्जना भएको हो ।
(९) नदी किनारामा वस्ती विकासः
नदी किनारमा वस्ती विकास गर्नु प्राकृतिक नियमको विपरीत विषय हो । नदीको दुवैतर्फ निश्चित चौडाइका कडा काठका ठूला ठूला जंगलहरु र बेत बाँस जस्ता काँडेदार भाडीहरु हुनु आवश्यक छ । तर, यो विषयमा कहिल्यै ध्यान दिइएको छैन । बरु तटवर्ती क्षेत्रमा शहर विकास गर्ने आत्मघाती शैलीमा तीव्रता दिन थालिएको छ ।
(१०) पहिरो नियन्त्रणमा उदासिनताः पहिरो जान नदिन जोखिमयुक्त क्षेत्रको पहिचान गरी पूर्व रोकथाममा उपायहरु अपनाउनुपर्ने हो । यसैगरी एकचोटि पहिरो गएको स्थानलाई थप पहिरो जानबाट रोक्न पनि त्यत्तिकै तदारुकता देखाउनुपर्ने हो । तर, कतिबेला पहिरो जाला र हेलिकप्टरले मानिस ओसारौंला भन्ने शैलीमा हाम्रा सक्रियताहरु केन्द्रित हुन थालेका छन् परिणामतः नयाँ नयाँ स्थानमा पहिरो जाने र पुरानो पहिरोको क्षेत्रफल विस्तार हुँदै नदीमा थप लेदो बग्न गई बाढीको विभिषिका भीमकाय हुँदैछ ।
(११) बाढीको प्रवाह नियन्त्रणमा उदासिनताः बाढीको प्रवाह नियन्त्रण गर्न ठूला–ठूला वाँध र कृत्रिम तालहरुको सिर्जना गर्नुपर्दछ, ता कि वर्षातको अधीक जल सञ्चय गरी सुख्खायाममा तल्लो तटमा प्रवाह गर्न सकियोस् । तर, यो रणनीतिमा राष्ट्रिय र क्षेत्रीय अवधारणा नै बन्न सकेको छैन । परिणामतः नेपाल, भारत र बंगलादेश वर्षामा बाढीबाट र हिउँदमा सुख्खाबाट पीडित हुन परिरहेको छ ।
(१२) नहर निर्माणमा अवैज्ञानिकताः नहर निर्माण गर्दा नहरमा बग्ने पानीको प्रवाह नियन्त्रितरुपमा हुने गरी र तटहरुमा कम चाप उत्पन्न हुने गरी हुनुपर्दछ । तराईमा राणाकालमा निर्मित नहरहरुको दीर्घजीवनमा पछाडि यही कारणले प्रमुख भूमिका खेलेको थियो । विशेष गरी स्थानीय प्रविधिबाट निर्मित बर्दिया र कैलालीका विशाल नहरहरु आधुनिक नहरमा रुपान्तरण हुँदा झन खरतनाक भएर गएका छन् । बबई पश्चिमको परम्परागत डोडरी कुलोलाई आधुनिक नहरमा रुपान्तरित गर्दाको परिणामतः बबई पश्चिममा हरेक वर्ष बाढीबाट पीडित हुनुपरेको तथ्य हाम्रा सामु छ ।
समाधानका १२ उपाय
उपरोक्त समस्याहरुलाई हृदयदेखि स्वीकार गरी राज्यले आन्तरिकीकरण गरी देहायका सुझावहरुलाई युद्धस्तरमा कार्यान्वयन गर्ने हो भने नेपाल बाढी पहिरो मुक्त क्षेत्र भई प्रत्येक वर्ष आउने मनुसुन काल हैन, उत्सव बनेर आउने निश्चित हुनेछ ।
(१) तराईमा पूर्व–पश्चिमको सट्टा उत्तर(दक्षिण सडक निर्माण गर्ने
(२) पानीको निकास हुने नाला अतिक्रमणलाई हटाई पूर्ववत रुपमा कायम गर्नुपर्ने
(३) नदीको तटवर्ती क्षेत्रमा ईटाका लागि माटो उत्खनन् गर्न रोक लगाउने र जलप्रवाहलाई अवरोध हुने गरी माटो उत्खनन् गर्ने र ईटा बनाउने कार्यलाई नियन्त्रित गर्ने । ईटाको आपूर्तिलाई भरपर्दाे बनाउन भारतीय ईटाको आयातलाई सहज बनाउने ।
(४) नदी श्रोतमा अवैज्ञानिक उत्खनन् बन्द गर्ने र आवश्यक पर्ने निर्माण सामाग्री नेपाल सरकारले आफ्नै संयन्त्र बनाई उत्खनन् एवं वितरण गर्ने
(५) पहाडमा सडक मार्गलाई रञ्जुमार्ग र केवलकारले विस्थापन गर्ने र रणनीतिक महत्वका नभई नहुने राष्ट्रिय राजमार्ग बाहेक पहाडी क्षेत्रमा सडक बनाउन प्रतिवन्ध लगाउने ।
(६) नदीमा तटवन्ध गर्दा वर्षाको पानीलाई आधार पानी त्यो सीमा भन्दा बाहिर पानी जान नपाउने गरी अग्ला पर्खालहरु लगाउने र वर्तमान टी आकारका तटवन्धलाई विस्थापन गर्ने
(७) जलप्रवाह क्षेत्रमा सदावहार वनको विकास गर्ने र त्यस्ता संवेदनशील क्षेत्रमा कुनै पनि प्रकारका विनाशक क्रियाकलापमाथि प्रतिवन्ध लगाउने
(८) पहाडमा माटो बग्न रोक्ने गरी वस्ती विकास गने र तराईमा पानीको निकासमा बाधा नपर्ने गरी शहर वस्ती विकास र अन्य संरचनाहरु निर्माण गर्ने ।
माथिल्लो वस्तीलाई डुबानमा पर्ने गरी तल्लो वस्तीमा कुनै पनि प्रकारका वस्तीविकास निर्माणजन्य गतिविधिहरुमा प्रतिवन्ध लगाउने ।
(९) नदीका दुबै किनारामा वन करिडोरको व्यवस्था गरी ती क्षेत्रमा कुनै प्रकारका वस्तीहरु विकास नगर्ने र भएका वस्तीहरु व्यवस्थित रुपमा भित्री क्षेत्रमा स्थानान्तर गर्ने
(१०) पहाडमा गएको पहिरो र पहिरो जाने सम्भावित क्षेत्रमा रोकथामका कार्यक्रमहरु व्यापकरुपमा सञ्चालन गर्ने । सम्भावित क्षेत्रमा पहिरो रोक्ने गरी वन क्षेत्रको विकास गर्ने
(११) पहाडी भेगमा नदीहरुको वर्षातको बाढीलाई एक्कासी तराई क्षेत्र वा बेंसीसम्म पुग्न रोक्न ठूला ठूला सरोवरहरु बनाउने र ती सरोवरलाई जलविद्युत र सुख्खा याममा सिंचाइँका लागि प्रयोग गर्ने । यसका लागि भारत र वंगलादेशसँग मिलेर संयुक्त प्रकल्पहरु सञ्चालन गर्ने
(१२) तराईमा नहर निर्माण गर्दा जलप्रवाह कम हुने र नहरको तटमा कम चाप पर्ने र मूल नदीको पानी हृवात्तै नहरमा पस्ने खतरा रोक्ने गरी नहरहरु निर्माण गर्ने ।
समग्रमा भन्नुपर्दा नेपाल बाढी र पहिरोबाट मुक्त हुने तथा भारत र बंगलादेश बाढी र सुख्खाबाट मुक्त हुने उपरोक्त विषय उपर सबैको ध्यान जानु आवश्यक छ ।
स्रोत ः अनलाइन खबर


Post a Comment

 
Top