0
गोल्डेन न्यूज संवाददाता
चिकित्सा क्षेत्रको सुधारको मागसहित प्रा.डा. गोविन्द केसी सात दिनदेखि आमरण अनसनमा छन् । त्रिवि शिक्षण अस्पताल हातामा रहेको एउटा सानो कोठामा आठौंपटक अनसन बसे पनि सरकार ‘टस न मस’ छ । सरकार बदल्ने खेलमा लागेका नेताहरुको ध्यान केसीको स्वास्थ्यमाभन्दा सिंहदरवार को कुर्सीमा तानिएपछि उनको मागमा सरोकारवालाको चासो देखिएको छैन । अनसनले स्वास्थ्य गलेको छ, तर उनको आत्मविश्वास घटेको देखिएको छैन ।
शनिबार पनि डा.केसी एक्लै आँखा चिम्म पारेर पल्टेका थिए । त्यहाँ संस्कृतको कुनै गितीमय श्लोक बजिरहेको थियो । एकजना नर्स भित्र पसिन् र केसीको ब्लडप्रेसर जाँचिन् । नर्स बाहिरिएपछि केसीले केही बोल्ने प्रयास गरे । एउटै मागमा आठ–आठ पटक बसे पनि कुनै पनि सरकारले संवेदनशीलता नदेखिएको भन्दै उनले असन्तुष्टि पोख्दै थिए । उनले आफ्नो मागमा खुलेर निस्कनुपर्ने चिकित्सकहरु पनि आतंकका कारण निस्किन नसकेको बताए । यति के बोलेका थिए, उनी एक्कासी भक्कानिएर रुन थाले । डा. केसी बोलिरहँदा खाट तल राखिएको ‘निहोन कोडेन’ मनिटरमा हरियो झिलिक–झिलिक बलिरहेका थियो । सँगै विप–विपको आवास सुनिरहेको थियो । तर, केसी रुन थालेपछि नै मोनिटरमा एकाएक खतराको संकेत गर्ने साइरनसँगै रातो बत्ती बल्न थाल्यो । यो क्रम करिव एक मिनेट सम्म जारी रह्यो । निबार बिहानै जोडिएको उक्त मोनिटरले बिरामीको स्वास्थ्य स्थिति वताउँछ ।
डा. संचित शर्माका अनुसार ‘निहोन कोडेन’ मनिटरमा रातो बत्ती र आवाज खतराको संकेत हो । उक्त मनिटरले ‘लाइभ’ नै बिरामीको मुटूको धड्कनको निगरानीसँगै शरीरमा अक्सिजनको मात्रा, मुटूको चाल, रक्तचापलाई देखाइरहेको हुन्छ । सामान्य अवस्थाभन्दा शरीरमा समस्या वा परिवर्तन हुन थाले अलार्म बजेर खतराको संकेत दिन्छ । डा.केसी रोएका बेला उक्त मनिटरमा मुटूको चाल एक्कासी बढेको देखियो, शरीरमा अक्सिजनको मात्रा समेत कम हुनुको साथै रक्त चापमा वृद्घि र स्वाश प्रश्वासमा तीव्रता आएको मनिटरले स्पष्ट देखाइरहेको थियो ।
डा.केसी  विस्तारै पुनः सामान्य स्थितिमा फर्किए । मोनिटरमा पनि हरियो बत्ती बल्न थाल्यो । सम्हालिंदै उनले भने, ‘जबसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई  महाअभियोगको प्रस्तावसँगै चिकित्सा शिक्षा र सेवा बारेको आफ्नो चार वटै माग पुरा हुँदैन कुनै पनि हालतमा अनसन रोकिन्न ।’ उनले शुक्रवार मन्त्रिपरिषदले चिकित्सा शिक्षालाई व्यवस्थित गर्न बनेको विधेयक २०७३ लाइ संसद पठाउने निर्णयबारे पनि कडा प्रतिक्रिया दिए । डा. केसीले उक्त विधेयकमा माथेमा आयोगले दिएको सुझाव विपरीत विद्यार्थी र जनतामुखी निर्णयलाई हटाइएको बताए । केसीको अनुसार माथेमा आयोगले भनेजस्तै शत प्रतिशत विद्यार्थी र जनतामुखी निर्णय समावेश नगरिएसम्म उक्त विधेयक पारित हुनुको कुनै औचित्य नै नरहेकोले यस्तो विधेयकको विरोध गर्ने वताए । यस्तै संसदमा रहेको मनमोहन प्रतिष्ठानको विधेयक समेत अविलम्व खारेज हुनु पर्ने वताए ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीप्रति पनि केसी कडा रुपमै प्रस्तुत भए । उनले अख्तियारसमेत विभिन्न विवादमा फसिसकेको सविस्तार बताए । गुणस्तरीय चिकित्सा शिक्षा र सेवा लाई आम नेपालीको सहज पहुँचमा पार्न केसीको विचार र यो प्रकरणमा देखिएका गडबडीहरुबारे भिडियोमा देख्न सकिन्छ ।

Post a Comment

 
Top