0
गोल्डेन न्यूज संवाददाता
देशकै धेरै विद्यार्थी संख्या रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा महिलामैत्री शौचालयको अभावका कारण क्याम्पस महिला कर्मचारी, प्राध्यापक र विद्यार्थीहरुले समस्या भोग्नुपरेको छ । क्याम्पसमा रहेको शौचालयमा सरसफाइको अभावका कारण सबै महिलाहरु ती शौचालयमा जान नचाहने र खुल्ला स्थानमा समेत महिलाहरुलाई समस्या हुने भएकाले क्याम्पसमा महिला शौचालयको समस्या जटिल बन्दै गएको छ । पृथ्वीनारायण क्याम्पसमा ५४ जना प्राध्यापक, ४१ जना कर्मचारी ४ हजार १०७ जना विद्यार्थी गरि जम्मा ४ हजार २०२ जना महिला रहेका छन् । महिलामैत्री शौचालय नहुँदा उनीहरुले दिशापिसावका लागि मात्र नभएर महिनावारी वा अन्य अवस्थामा समस्या भोग्दै आइरहेका छन् । कतिपय महिलाले राम्रो शौचालयको अभावमा पानी कम पिउदा विभिन्न शारीरिक समस्या र रोगबाट प्रभावित हुने गरेको बताइन्छ । महिलाहरुको प्रजनन स्वास्थ्य र सरसफाइ सम्बन्धी सचेतना कार्यक्रम, शौचालय व्यवस्थापन र संचालन गर्नका लागि पृथ्वीनारायण क्याम्पसको प्रशासन लगायत सरोकारवालाको ध्यान जानु आवश्यक भएपनि त्यसतर्फ कसैको ध्यान गएको देखिंदैन । परिवार र समाजको विविध तथा आर्थिक दृष्टिकोणले पनि पृथ्वीनारायण क्याम्पस कम शुल्कमा पढाइ गर्ने शिक्षण संस्थामा छात्राहरुको संख्या बढी हुने गरेको छ तर यस्ता शिक्षण संस्थाले गुणस्तरीय शिक्षा र आवश्यक पूर्वाधारमा समेत ध्यान दिएको पाइँदैन । जसका कारण छात्रहरुका लागि उपयुक्त शौचालय आवश्यक भएपनि निर्माण हुन सकेको छैन । यसै सन्दर्भमा पृथ्वीनारायण क्याम्पस प्राध्यापक संघ इकाइ समितिका कोषाध्यक्ष कृष्ण प्रसाद उपाध्यायसंग सम्पर्क गर्दा उनले क्याम्पस प्रशासन र सरोकारवालाको ध्यान आफूहरुले समेत केन्द्रित गरिरहेको बताए । उनले महिलामैत्री शौचालयको सम्बन्धमा आफू सहित केही महिला प्राध्यापकहरुले विभिन्न समयमा माग गरेका कारण छिट्टै नै शौचालय निर्माण प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । 









Post a Comment

 
Top