0
हरि पन्त÷गोल्डेन न्यूज
चर्को घाम र कडा दुर्गन्धको प्रवाह नगरी पोखरेलीले शनिबार पोखरा ४ र ५ को संगम फिर्के खोलामा करिब २ घण्टा बिताए । यसअघिका अभियानका क्रममा झरीले सास्ती दिएको भएपनि शनिबारको यो अभियानमा बिहानै घाम चर्किएको थियो । २ दिन पानी नपर्दा पोखरामा गर्मी पनि निकै बढेको थियो। सीसाको टुक्राको चाङमाथि आफ्नो ज्यानको बाजी राखेर उनीहरुले फिर्के पुलमुनि थुप्रिएका थुप्राका थुप्रा फोहोर उठाए । २ दिन उठाउँदा समेत फिर्के पुलमुनिको फाहोर अझै सकिएको छैन । अझै १ दिन त्यही पुलमुनीकै फोहोर उठाउनुपर्ने देखिन्छ। बिहानै फिर्के खोलामा पस्दा दुर्गन्ध बेस्सरी थियो तर पनि पोखरेलीले त्यसको प्रवाह गरेनन् । बेला–बेला पानी पिउँदै सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोगमा पोखराका सयौं नागरिक फोहोर उठाउनमा तल्लिन थिए । सेना प्रहरी र युवाहरुले फोहोर उठाएर डोकामा राख्थे भने महिला, युवा–युवती तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि मानव साङ्लो बनाएर फोहोर बोक्ने गाडीसम्म फोहोर ल्याउँथे। फोहोर उठाउने क्रममा लडेर धादिङ–पोखराका सम्पर्क समितिका सल्लाहकार परिषद् सदस्य कृष्णबहादुर लम्साल घाइते भए भने अन्य केही युवा समेत सीसा तथा अन्य धारिला वस्तुले काटेर एम्वुलेन्ससम्म आएर प्राथमिक उपचार गरिरहेका देखिन्थे । फिर्के पुलमुनि अन्य फोहोर उठाउन सकिए पनि थुप्राका थुप्रा सीसा भने चुनौतीको रुपमा रहेको छ । अभियानमा सहभागीहरुले उक्त सीसा खोलामा फाल्नेको पहिचान गरि कडा दण्ड र जरिवाना गराउनुपर्ने बताएका थिए । अभियानमा सहभागी केहीले भने नागरिकलाई कडा चेतावनी र सचेतना नगराएसम्म फोहोर जति उठाएपनि सफा हुन नसक्ने गुनासो गरेका थिए । सहभागीहरुले फिर्के खोला मिचेर लगाइएको बाँधप्रति समेत आपत्ति जनाएका थिए । भूमाफियाले फिर्के खोला मिचेर बाँध लगाइ कुलो भन्दा पनि सानो बनाउँदा समेत प्रशासन तथा सरोकारवाला मौन बसेकोप्रति पनि उनीहरुको आपत्ति थियो । उक्त बाँधलाई केही वर्ष अघि नगर विकास समितिले भत्काउने प्रयास गरेको भएपनि सफल भएन । शनिबार फिर्के पुलमुनि अभियानको संयोजन गरिरहेका नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेलको जोस मनि कम्ति रोचक थिए । पुलमुनि थुप्रिएको बोराका बोरा फोहोर उनी एक्दै बोक्दै गाडीसम्म ल्याउँथे । ‘लाइनबाटै बोराको फोहोर हस्तान्तरण गरि व्यवस्थापन गरौं’ भन्दा संयोजक पौडेल भन्थे–‘फोहोर धेरै गह्र्रौं छ, तपाइँहरुले उचाल्न सक्नुहुन्न ।’ पोखरामा जारी फिर्के–बुलौंदी सफाइ अभियानको छैटौं श्रृंखला अन्तर्गत विभिन्न संघ–संस्थाले ऐक्यबद्धता जनाउँदै सहयोग हस्तान्तरण गरेका थिए। सफाइ अभियानमा ऐक्यबद्धता जनाउँदै कपडा व्यवसायी एशोसिएशन पोखराले ७ थान थुन्से र कुचो, बालहित संरक्षण समितिले ५० जोर सेफ्टी ग्लोब, मुक्तिनाथ विकास बैंकले २ हजार जोर ग्लोब र मास्क, मन्टेश्वरी एशोसिएसनले २ सय थान मास्क कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलाई हस्तान्तरण गरे । कार्यक्रममा धादिङ–पोखरा सम्पर्क समिति, लायन्स क्लब अफ पोखरा पिस सिटी र डाउनटाउन, ड्यामसाइड क्लव, मितेरी नारी समूह, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज, टोल विकास संस्था, सुरक्षा निकाय, आमा समूह, क्लब प्रतिनिधि एवं सर्वसाधारणको उपस्थित रहेको थियो। कार्यक्रममा राष्ट्रिय अनुसन्धानका उप–निर्देशक यामप्रसाद पराजुलीले सहभागीलाई सरसफाइसम्बधी सपथ खुवाए । कार्यक्रममा कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए। अभियानमा पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवर, प्राज्ञ हरिदेवी कोइराला, नेपाली काँग्रेस पोखरा उप–महानगरपालिकाका नगर सभापति बजिरमान श्रेष्ठ, नेकपा एमाले नगर कमिटी संयोजक तेजनारायण अधिकारी पनि सहभागी थिए। आगामी सातौं श्रृङ्खला पोखरा ४ स्थित नेपाल स्काउट कास्की परिसरबाट सरसफाइ सुरु हुनेछ । यसैबीच फिर्के पुलको उत्तर र दक्षिण दुवैतर्फ फोहोर नफालौं र विभिन्न सचेतना र चेतावनी सहितको होडिङ बोर्ड राखिएको छ। पोखरा उप–महानगरपालिकाको सहयोगमा उक्त बोर्ड राखिएको हो । नगरपालिकाले स्थानीयलाई जथाभावी फोहोर नफाल्न र फोहोर फाल्नेलाई ठूलो जरिवाना र जेल सजायँ गर्ने चेतावनी दिएको छ ।

Post a Comment

 
Top