0
गोल्डेन न्यूज संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आइतबार प्रधानमन्त्री पदबाट राजिनामा दिएका छन् । आफूविरुद्ध व्यवस्थापिका–संसद्मा परेको अविश्वासको प्रस्तावको जवाफ दिँदै उनले नयाँ प्रधानमन्त्री निर्वाचनका निम्ति सहज मार्ग प्रशस्त होस् भन्ने हेतुले राजीनामा पेस गरेको र साथै बाधा अड्काउ फुकाउन राष्ट्रपति समक्ष सिफारिस गरेको सदनलाई जानकारी दिए । प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ३०५ अनुसार बाधा अड्काउ फुकाउका निम्ति मन्त्रिपरिषद्को आइतबारैको बैठकले राष्ट्रपति समक्ष सिफारिस गरेको जानकारी पनि सदनलाई दिए । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट आजैका मितिदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेकी छन् ।  व्यवस्थापिका–संसद्को तेस्रो बैठकमा सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्योहोरा सुनाउँदै उक्त जानकारी दिएकी हुन् । बैठकमा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीले राष्टूपतिसमक्ष लिखित राजीनामा दिएको सदनमा जानकारी गराइसकिएकाले प्रधानमन्त्रीमाथि विश्वास छैन भनि २८१ जना सांसदको हस्ताक्षरसहितको अविश्वासको प्रस्तावको बाँकी प्रक्रिया अगाडि बढाइरहनु नपर्ने जानकारी समेत सभामुखले सदनलाई जानकारी गराएकी थिइन । व्यवस्थापिका–संसद्को अर्को बैठक यही साउन ११ गते बिहान ११ बजे बस्नेछ ।







Post a Comment

 
Top