0
पश्चिमाञ्चलको प्रसिद्ध कालिका भगवती मन्दिर बाग्लुङमा एक वर्षका अवधिमा ९० लाखभन्दा बढी सङ्कलन भएको छ । मन्दिरमा गत आव २०७२÷ ०७३ मा  ९० लाख पाँच हजार सात सय ६६ रुपैयाँ सङ्कलन भएको हो । विगतमा ठेक्का प्रथामा चल्दैआएको मन्दिरको व्यवस्थापन गत साउनदेखि मन्दिर व्यवस्थापन समिति आफैँले हेर्दै आएको छ ।     “गत साउनसम्म मन्दिरको व्यवस्थापनका लागि ठेक्कामा दिने परम्परा थियो” कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले भने, “यस पटकदेखि व्यवस्थापनको सम्पूर्ण काम गुठीबाटै गरेका छौँ । गुठी आफँैले व्यवस्थापनको जिम्मा लिएपछि मन्दिरको आम्दानी समेत पारदर्शी भएको दर्शनार्थीले बताउने गरेका छन् । समितिले मन्दिरको आम्दानी दैनिक रुपमा सार्वजनिक गर्ने गरेको छ ।  बोका, राँगा, कुखुरा र परेवाको बलि चढ्दै आएको मन्दिरमा गत माघदेखि परेवा बलिमा रोक लगाइएको छ ।  “आफैँमा शान्तिको प्रतीक मानिने परेवाको बध गर्नु उपयुक्त लागेन र परेवाको बलि चढाउन रोक लगाएका हौँ ”, खड्काले भने । मन्दिरबाट सबैभन्दा बढी आम्दानी भेटी सङ्कलनबाट हुने गरेको छ ।
यस्तै बलि चढाइएका बोका, राँगा तथा कुखुराको टाउका बिक्रीबाट समेत मन्दिरले आम्दानी गर्ने गरेको छ । परेवा जोडी तथा चढाइएका नरिवल बिक्रीबाट समेत आम्दानी हुने खड्काले बताए ।  मन्दिरको धार्मिक तथा ऐतिहासिक पक्षको प्रचारप्रसार, आन्तरिक भौतिक व्यवस्थापन लगायतका कारण पछिल्लो समयमा मन्दिरमा दर्शनार्थीको चाप बढ्न थालेको छ । व्यवस्थापन समितिले मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्य सहित काम गरिरहेको खड्काले बताए । रासस


Post a Comment

 
Top