0
त्रिविवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको आठौँ आमरण अनशन आज १२औँ दिनमा पुगेको छ । यसबीचमा उनको स्वास्थ्यस्थिति अत्यन्त कमजोर बन्दै गएको छ भने अर्कोतर्फ टिचिङ अस्पतालमा कार्यरत रेजिडेन्ट डाक्टर र चिकित्साशास्त्रका विद्यार्थी पनि डा. केसीको समर्थनमा उत्रिएका छन् । रेजिडेन्ट डाक्टरहरुले गत सोमबारदेखि ओपिडी सेवामा बिरामी जाँच्न छाडेका छन् र विद्यार्थीहरुले कालोपट्टी बाँधेर विरोध जनाएका छन् । त्यतिमात्र नभएर संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले डा. केसीको मागलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ । देश र समाजका लागि डा. केसी लडेका कारण उनका मागहरुप्रति समितिको पनि ध्यानाकर्षण भएको समितिका सभापति सुशीलकुमार श्रेष्ठले बताएका छन् । अब डा. केसी एक्लै छैनन् र उनलाई समर्थन गर्ने यौटा ठूलो समूह तयार भइसकेको अनुभव गरिएको छ । त्यसो त, मुलुकमा अहिले अनेक राष्ट्रिय समस्याहरु नभएका होइनन् । भूकम्पपछिको पुनर्निर्माण कार्यमा भइरहेको ढिलासुस्ती तथा बाढी र पहिरोले विभिन्न भागमा पु¥याएको भौतिक र मानवीय क्षति पनि सञ्चारमाध्यमका प्रमुख समाचार बन्दै गएका छन् भने अर्को्तिर बेथिति र विकृतिका विरूद्ध आफ्नो ज्यानकै बाजी लगाउन तयार वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको सत्य, निष्ठा, आदर्श र नैतिकताको अग्लो पहाड छ । यसैकारण, डा. केसी समाचार, सम्पादकीय र लेखका ज्वलन्त विषय बन्दै गएका छन् । सञ्चारमाध्यमले यो विषयलाई जति गम्भीरताका साथ उठाउँदै आएको भएता पनि सरकार भने मानवीय संवेदनाहीन शैलीमा मौन बसेको छ । तसर्थ, सुतेको सरकार अब ब्युँझनुपर्छ र अब आफ्ना आँखा र कानहरु खोल्नुपर्छ भन्ने हाम्रो अनुरोध हो । सरकार लामो समयसम्म यसरी मौन रहनु कदापि उचित हुन सक्दैन । डा. केसीसँग वार्ता गर्न टोली गठन गरेर जायज मागहरु सम्बोधन गर्ने र सम्भव नभएका मागहरु यदि छन् भने तिनलाई स्थगित राखेर भए पनि डा. केसीको जीवनरक्षा गर्न आवश्यक पहल गर्नु नितान्त जरूरी भइसकेको छ । ओली सरकार आफ्नै सत्ता जोगाउन नसकेर धर्मसंकटमा परेको वर्तमान अवस्थामा भए पनि डा. केसीजस्तो त्यागी र आदर्श व्यक्तित्वले गरेको आमरण अनशन जसरी हुन्छ टुंग्याउनेतर्फ आवश्यक कदम चाल्नुपर्छ । समय यदि ढिला भयो र कुनै अनिष्ट घटना घट्न पुग्यो भने त्यसको सम्पूर्ण जिम्मेवारी यो सरकारले लिनुपर्छ । चिकित्सा शिक्षाको क्षेत्रमा व्याप्त विकृति र बेथिति तथा माफियातन्त्रको  अनैतिक चलखेल बन्द हुनुपर्छ भन्ने माग राखेर आमरण अनशनमा बसेका डा. केसीको उचाइ अहिले बढ्दै गएको छ । अब जसरी हुन्छ, सरकारले उनीसँग वार्ता गरेर समस्याको निकास खोज्नु आवश्यक देखिएको छ ।




Post a Comment

 
Top