0
नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले रेल्वे सेवा विस्तार गर्ने उदघोष गरिरहँदा नेपाल जस्तै भौगोलिक बनावट भएको स्वीट्जरल्याण्डले विश्वकै सबैभन्दा अत्याधुनिक ५७ किलोमिटर लामो गोथार्ड बेस टनेलको प्रयोग शुरु गरेको छ । यसले समग्र युरोपको विकासमा महत्वपूर्ण योगदान पु¥याउने आशा गरिएको छ । सम्भवतः सन् १७९८ मा बेलायतमा लेक लक रेल रोडको नामबाट शुरु भएको पहिलो सार्वजनिक रेल्वे सेवादेखि सन् २०१६ सम्म आइपुग्दा रेल्वेले अभुतपूर्व विकास हासिल गरेको छ । आज विश्वका कयौं मुलुकमा चालक विनाको बुलेट ट्रेन अर्थात एटीपी (अटोमेटिक ट्रेन प्रोटेक्सन) करिब ६०३ कि.मी. प्रतिघन्टासम्म कुद्न सक्छन् । यो विकासले त्यहाँका मानिसहरुको दैनिक जीवनयापनमा मात्र होइन, देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय भूमिका खेलेको छ भन्ने कुरामा कुनै दुईमत छैन । रेलमार्ग नेपाल जस्तो पहाडी मुलुकको निम्ति सजिलो नभए पनि असम्भव चाहिँ होइन भन्ने कुरा सर्व्विदितै भइसकेको छ । नेपाल जस्तो भौगोलिक संरचना भएका देशहरु स्वीट्जरल्याण्ड, मंगोलिया, बोलिभिया जस्ता मुलुकहरुमा रेल्वे सेवा मानव जीवनको सबैभन्दा महत्वपूर्ण अंगको रुपमा स्थापित भएको छ । चीनको कुमुङहाई तिब्बत रेल्वे, कलका सिमला रेल्वे, बोलिभियाको रियो मुलाटोस–पोटोलाइन जस्ता रेल्वे लाइन नेपालजस्तो भूगोलमा बनाउन सकिन्छ । हाम्रो विडम्बना हामी एकातिर संसारकै सबैभन्दा ठूलो रेल्वे सेवा भएको छिमेकी मुलुक भारत र अर्का्तिर संसारकै सबैभन्दा द्रुत गतिमा चल्ने रेल्वे सेवा विस्तार गरेको छिमेकी मुलुक चीनको बीचमा उभिएर अझै पनि भन्दैछौं कि के यो सम्भव छ ? दुखको कुरा सन् १९२७ मा स्थापना भएको जनकपुर–जयनगर रेल्वे नाम मात्रको रेल्वेमा परिवर्तन भएको छ । भनिन्छ, सपना बिना कुनै पनि मानिसका आकांक्षाहरु पुरा हुन सक्दैनन् । केहि वर्षअगाडि मार्क जुकरवर्ग र स्टिभ जब्सले सपना नदेखेको भए आज हाम्रो जीवनमा पर्याय बनिसकेका फेसबुक र स्मार्ट फोन हाम्रा परिकल्पनाबाट निकै टाढा हुने थिए । विश्वले द्रुतगतिमा रेल्वे सेवा विस्तार गरिरहँदा हामी नेपालीले यसका बारेमा किन सोच्न सकेनौं ? यसमा प्रष्ट उत्तर छ, हाम्रा राजनेताहरुले हामीलाई विपनाको त कुरै छाडौं सपना पनि देखाउन सकेनन् । हामी आफु पनि दलगत र गुटगत राजनीतिको लुचाचुँडीबाट माथि उठ्न सकेनौं । ढिलै भए पनि हामीलाई सपनाहरु देखाइएको छ र वर्तमान प्रधानमन्त्री सपनाकै निम्ति भएपनि धन्यवादका पात्र हुनुहुन्छ । सिंगापुरका लि क्वान यी, मलेशीयाका महाथीर मोहम्मदले समृद्धिको सपना नदेखेर देशलाई त्यो बाटोमा नडोहोर्रुयाएको भए सिंगापुर र मलेशियालाई आजको रुपमा देख्न सकिदैनथ्यो । त्यसैले पनि नेपाल जस्तो साधारण देशमा ओली जस्तो असाधारण सपनाहरु देखाउने राजनेताको नेतृत्व आवश्यक छ भन्दा अतिशयोक्ति नहोला । रसुवागढी–काठमाडौं दुवै लुम्बिनीसम्म, महेन्द्रनगरदेखि लुम्बिनीसम्म, बिराटनगरदेखि चितवनसम्म र समाचारमा आएअनुसार भारतबाट प्रस्तावित पाँच रेल्वे लाइन र चीनबाट प्रस्तावित रेल्वे लाइनको एक चौथाई मात्रै काम हुन सक्यो भने यसले आधुनिक नेपालको आर्थिक र सामाजिक रुपान्तरणतर्फको यात्रा प्रारम्भ हुनेछ । यो विकासले आम नेपालीको वर्तनमान जोखिमपूर्ण यात्रालाई सहज र सुरक्षित मात्रै होइन, यात्राको समयलाई पनि उल्लेखनीय रुपमा घटाउने छ । यसको अलावा यो विकासले असंख्य अवसरहरुको सृजना गर्नेछ । देशभित्रै रोजगारी पर्याप्त हुनेछ । कृषिजन्य, वस्तु, खाद्य पदार्थ र फलफूलमा अरवौं रुपैयाँलाई विदेशिने परम्परालाई निरुत्साहित गर्नेछ । फलस्वरुप ४५ डिग्री सेल्सियसको तापक्रममा मध्य पूर्वका देशमा कडा परिश्रम गरिरहेका लाखौं नेपाली दाजुभाई र दिदी बहिनीहरुलाई स्वदेश फर्केर कृषि तथा अन्य व्यवसायमा आत्मनिर्भर बनाउन पनि उच्च भूमिका खेल्ने छ । त्यसैगरी छिमेकीबाट पटक(पटक लगाइने घोषित र अघोषित नाकाबन्दी नेपालको निम्ति सरोकारको विषयसमेत हुने छैन । यसले अन्ततः आत्मनिर्णयको बलमा देशलाई अगाडि बढ्न प्रेरित गर्नेछ र नेपथ्यबाट चालिने षड्यन्त्रमूलक राष्ट्रघाती कदमहरु ओझेलमा पर्नेछन् । अर्को आकर्षण भनेको पहाडी रेल्वे सेवा हो जुन विश्वमा नै नमुना हुनेछ । यसले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने छ । दोस्रो चरणमा काठमाडौं उपत्यकाभित्रको यातायातलाई सहज बनाउनका लागि काठमाडौं मेट्रोे सेवा सञ्चालन गर्न सकिन्छ, जसले काठमाडौंको आधुनिकीकरणमा नयाँ आयाम थप्नेछ । भर्खरै सरकारले रेल्वे सम्भाव्यता अध्ययनका निम्ति छुट्याएको बजेट र चाइनिज कम्पनीले गरिरहेको सम्भाव्यता अध्ययनलाई एउटा सुखद सुरुवात मान्न सकिन्छ । आशा गरौं नेपाल सरकारले रेल्वे सेवा विस्तारलाई विशेष प्राथमिकताको आधारमा अगाडि बढाउने छ । र आगामी दश वर्षभित्र रेल्वे सेवा आम नेपालीको दैनिक जीवनको अभिन्न अंग बन्न सक्नेछ ।
(लेखक अष्ट्रेलियास्थित सिड्नी ट्रेनमा वरिष्ठ इन्जिनीयरका रुपमा कार्यरत छन्।)



Post a Comment

 
Top