0
डा. अरुणा उप्रेती
स्वास्थ्य मन्त्रालयले अहिले पोषणसम्बन्धी विभिन्न कार्यक्रम बनाएर बालबालिका र किशोरीको स्वास्थ्यमा सुधार ल्याउन  मिहेनत गरिरहेको छ । पोषणका लागि सय रुपैयाँ लगानी गरे त्यसले १६ सय रुपैयाँको प्रतिफल दिन्छ भनेर बालबचाउ कोषले भन्दै आएको छ । ‘कुपोषण भएन भने बालबालिकाको रोगसँग लड्ने शक्ति बढ्छ र दादुरा, ठेउला, पखाला हुँदा जटिलता कम हन्छ, जसले गर्दा उनीहरूको उपचार खर्च बचत हुन्छ,’–कैलालीमा महिला स्वयंसेविकाले यसो भनेको सुन्दा म उनको व्यावहारिक विचारदेखि निकै प्रभावित भएकी थिएँ । उनलाई यो स्वास्थ्य मन्त्रालयले दिएको जानकारी थियो ।
कुपोषित बालबालिकालाई पुनस्स्थापना गर्न स्वास्थ्य मन्त्रालयले विभिन्न ठाउँमा पोषण पुनःस्थापना केन्द्र स्थापना गरेको छ । ती केन्द्रमा अति कुपोषित बच्चा ठिक भएका तथ्यहरू सरकारी प्रतिवेदनले नै औंल्याएका छन् । विश्व स्वास्थ्य संघको सहायतामा केही वर्षअघि केही साथीसँग मिलेर हामीले अनुसन्धान गर्ने क्रममा त्यस्ता पोषण पुनस्स्थापना केन्द्रमा उपचार गरिएका बच्चाको अनुगमन गरेका थियौं, उनीहरूका आमाहरूसँग अन्तर्वार्ता गरेका थियौं । त्यस्तो पुनःस्थापना केन्द्रमा बसेका आमाले भनेका थिए, ‘हाम्रा बच्चाहरू कुपोषित हुनुको कारण त हामी नै रहेछौं । यहाँ आएर हामीले बच्चालाई स्वस्थ बनाउन घरकै दाल, भात, तरकारी, आलु, दूध, रोटी, चिउरा, चना दिनुपर्ने रहेछ भन्ने सिक्यौं ।’ स्वास्थ्य मन्त्रालयको कामलाई तारिफ गर्नैपर्छ र यस्ता पोषण पुनस्स्थापना केन्द्रबाट मैले पनि धेरै सिकेकी पनि छु । नेपालगन्ज, वीरगन्ज, राजविराज, ललितपुर, कञ्चनपुर लगायत सबै ठाउँको पोषण पुनःस्थापना केन्द्र गएर अनुगमन गर्दा कहीँ पनि भिटामिनका सिसी र पोषणका पाउडर दिएको पाइएन । वीरगन्जको पोषण पुनस्स्थापना केन्द्रमा छलफल गरिरहँदा त्यहाँकी प्रबन्धक सरिता यादवले भनेकी थिइन्, ‘हाम्रो पोषण पुनःस्थापना केन्द्रमा आमाहरूलाई पनि घरका खानेकुरा नै खान र पकाउन सिकाउँछौं ।’मैले साना नानीलाई पनि जाउलो खुवाइरहेका आमालाई सोधेँ, ‘तपाईं यसैगरी घरमा बच्चालाई जाउलो पकाएर खान दिन सक्नुहुन्छ ?’ चार सन्तानकी आमा हरिदेवीले भनेकी थिइन्, ‘किन नसक्नु, अब त हामीले जाउलोको महत्व बुझ्यौं । बिरामी भएर वीरगन्ज अस्पताल पु¥याउँदा मात्र आफ्नो बच्चा सानो रहेको थाहा पाएको उनले सुनाइन् । ‘खानेकुराको अभाव भएर होइन, खानेकुरा दिन नजानेर छोरालाई कुपोषण भएको रहेछ,’–उनले भनिन् । वीरगन्जको पोषण पुनस्स्थापना केन्द्रलाई वीरगन्ज अस्पतालभित्र राख्न महत्वपूर्ण भूमिका खेल्ने डा. श्यामशरणबाट सुनिएको थियो, ‘यस अस्पतालमा पोषण पुनःस्थापना केन्द्र स्थापित गरेपछि धेरै व्यापारीले पनि बच्चा बिरामी भएर ल्याएका छन् । उनीहरूलाई पुनःस्थापना केन्द्रमा ल्याएर पोषणबारे सिकाइन्छ ।’ उनका अनुसार त्यो पोषण पुनःस्थापना केन्द्रलाई पहिले केहीले जिस्किएर ‘सोमालिया वार्ड’ पनि भन्थे रे । उनले सुनाए, ‘यहाँ घरेलु खानाबाटै कुपोषण हटाउन सकिन्छ भने तथ्यलाई व्यवहारिक रूपमा प्रयोग गरिएको छ ।’
ललितपुर, सुनाकोठीस्थित पोषण पुनःस्थापना केन्द्रमा व्यवस्थापन गर्ने सुनिताले भनिन्,–‘हामीले यहीं करेसाबारी बनाएका छौं र सबैलाई घरेलु खानेकुरा नै बनाएर खुवाउँछौं । आमाहरूलाई सिकाउँछौं । कुपोषित भएर आएका बालबालिकालाई एक–दुई हप्ता घरेलु खानेकुरा दिएपछि शारीरिक बनावट मात्र होइन, मानसिक स्थिति पनि बदलिएको पाउँछौं ।’
त्यहाँको व्यवस्थाले घरेलु खानेकुरालाई महत्व दिँदै बाहिरका खानेकुरा र विभिन्न अन्तर्राष्ट्रिय संस्थाले दिएको प्लम्पी नट, बालभिटाजस्ता खानेकुरा नदिएर बालबालिकालाई कुपोषणको फन्दाबाट निकालिरहेका छन्, अनि आमा र घरपरिवारका सदस्यलाई जाउलो, खिर, रोटी, आलु, हरियो तरकारी, क्वाँटी, टुसा उम्रेका अन्य खानेकुराको माध्यमबाटै सन्तानलाई स्वस्थ राख्न सकिन्छ भन्ने सन्देश दिइरहेका छन् । त्यस्ता सन्देश केवल त्यहाँ आएका अभिभावकले मात्र पाउँदैनन् कि कुपोषित भएका बच्चा ठिक भएर घर पुगेपछि गाउँघरका अन्य अभिभावकले पनि थाहा पाउँछन् ।
‘म त विभिन्न अन्तर्राष्ट्रिय संस्थाले दिने प्लम्पी नट खानेकुराको पनि विरोधी हुँ । त्यस्ता खानेकुरा खुवाउने अन्तर्राष्ट्रिय संस्थाले महँगो व्यापारिक खानेकुरा पहिले त बच्चालाई सित्तै बाँड्छन्, अनि घरपरिवार, बच्चाको बानी लागेपछि खानेकुरा बाँड्न छाड्छन्, अनि बच्चाहरूले घरका खानेकुरा खाँदैनन् । अनि समस्या पर्दैन त ?’–सुनिताले भनिन् । दाल, भात, तरकारीमा राखेर दिइने बालभिटाबारे स्वास्थ्यविज्ञ डा. खेम कार्कीले केही वर्षअघि भन्नुभएको थियो,–‘यस्ता प्याकेटका खानेकुराले बालबालिकालाई स्वस्थ बनाउँदैन ।’ तर अहिले स्वास्थ्य मन्त्रालय आफैंले स्थापित गरेका पुनस्स्थापना केन्द्रको कामलाई बेवास्ता गरेर बालभिटा वा प्लम्पी नटजस्ता प्याकेट बाँड्ने सुरसार गरिएको छ । पोकामा दिइने यस्ता पोषक तत्त्वले बालबालिकालाई साँच्ची नै स्वस्थ राख्छन् कि राख्दैनन् भनेर बालरोग विशेषज्ञहरूसँग छलफल गराउनुपर्छ ।
उहाँहरूले अस्पतालमा बहिरङ विभागमा आउने ५ वर्ष मुनिका बालबालिकालाई यस्तो प्याकेटका खानेकुरा औषधीको रूपमा लेख्न हुन्छ कि हुन्न ? पोषणविद डा. तीर्थ रानाले पनि यस्तो किसिमको सूक्ष्म पोषण तत्वका प्याकेट चाहिँदैन भन्नुभएको छ । बालरोग विशेषज्ञले चाहिँदैन भन्ने, पोषणविदले चाहिँदैन भन्ने, पोषण पुनःस्थापना केन्द्रका व्यक्तिहरूले चाहिँदैन भन्ने, अनि किन केही संस्थाले यसरी सूक्ष्म पोषण प्याकेट चाहिन्छ भनेर वकालत गरिरहेका छन् ? म विभिन्न ठाउँका स्वास्थ्यकर्मी र महिला स्वयंसेवकसँग प्रश्न गर्छु, तपाई आफ्ना छोराछोरीलाई यस्तो प्याकेटको खानेकुरा दिनुहुन्छ कि आलु, दाल, रोटी, भात, बदाम दिनुहुन्छ ? वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रकाश श्रेष्ठले मलाई भन्नुभएको थियो,–‘बालरोग विशेषज्ञहरूले धेरै अगाडिदेखि सरकारलाई नेपालमा प्लम्पी नट र बच्चाको कुपोषण हटाउन दिइने बाल भिटा चाहिँदैन भनेका थियौं ।’ एकजना वरिष्ठ बालरोग विशेषज्ञले भनेको कुरा सुनेपछि के लाग्यो भने स्वास्थ्य मन्त्रालयले कार्यक्रम बनाउँदा र नीति नियम ल्याउँदा त्यससम्बन्धी विज्ञहरूसँग छलफल गर्दैन कि ?
स्रोत ः इकान्तिपुर

तपाईका बच्चाले खानै मान्दैनन् ?

छोराछोरीले त खाना खानै मान्दैनन्, दुब्लाएर टाट भैसके, के गर्ने ? उनीहरुलाई त चक्लेट र आइसक्रिम मात्र भए पुग्छ ।’ धेरै बाबुआमाहरुले यस्तो गुनासो गरेको सुनिन्छ । उनीहरु आफ्ना केटाकेटीहरुमा खानासम्बन्धी समस्या उत्पन्न भएको अनुभव गर्छन् । तर, वास्तवमा समस्या केटाकेटीमा होइन आमाबाबुको बानी ब्यहोरामा छ । जबसम्म बाबुआमाले आफ्नो बानीब्यहोरा सुधार गर्दैर्नन् तबसम्म केटाकेटीको खानासम्बन्धी बानीब्यहोरा सुधार गर्न सकिंदैन । प्रायः बाबुआमाहरु आफ्ना केटाकेटीले पौष्टिक खानेकुरा खाऊन्, स्वस्थ रहून् भन्ने चाहना राख्छन् तर चाहनाअनुसार गर्दैनन् र केटाकेटीको खाने बानी क्रमशस् बिग्रिदै जान्छ। प्रायः मानिसमा अरुले आफूलाई ध्यान दिऊन् भन्ने चाहना हुन्छ। बालबालिकामा त झन् यो चाहना बढी हुन्छ । बालबालिकाहरुले खानासम्बन्धमा पनि यस्तै गरेका हुन्छन् ।
गाउँघरका केटाकेटीहरुले प्रायः घरमा जे पाक्छ अरुसरह नै खाएका हुन्छन् । ३–४ वर्षका बालबालिकाले त भान्छामा सँगै बसेर आफैं भात पनि खान्छन् । सहरतिर भने प्रायः आमाहरुले केटा–केटीलाई घरको खानेकुरा पौष्टिक हुँदैन भनेर भात वा पीठोबाट बनाइएका खानेकुरा दिन छोडेर बट्टामा भएका खानेकुराहरु दिन्छन् । यी खानेकुरा पनि प्रायः चामल वा गहुँको पीठोबाट बनाइएको हुन्छन् । यसमा चिनी मिसाएर गुलियो पारिएको हुन्छ । यसलाई बालबालिकाले बढी मन पराउने भएकोले यी खानेकुराहरु घरमा त्यही चीजबाट बनाइने खानेकुराभन्दा २० गुणासम्म बढी महँगा हुन्छन् तर पौष्टिकताचाहिँ २० गुण कम नै प्राप्त हुन्छ । यसरी बालबालिकामा चिनी हालेको खानेकुराको स्वाद बसिसकेपछि स्वतः चिनी नहालेको खानेकुरामा रुचि कम हुँदै जान्छ । अनि एक÷दुई वर्षको हुँदा त उसको घरको खानाको परम्परा नै बिग्रन थाल्छ। उनीहरुको यो प्रवृत्तिलाई हतोत्साही गर्नुको सट्टा परिवारका सदस्य वा साथीहरुसँग ‘यसले त घरको खाना खाँदैन, बजारबाट नै किनेर ल्याउनुपर्छ’ भनेर उसैलाइ प्रोत्साहन दिने काम भइरहेको हुन्छ । बालबालिका मेरो विषयमा कुराकानी भइरहेको छ र मेरो खानाको विषयमा घरपरिवार चिन्तित छन् भन्ने विचार गर्दै आफूलाई महत्व दिएकोमा गर्वको महशुस गर्छन् र त्यहीअनुसार झन्झन् फुकंर्दै जान्छन्, बानी बिगार्दै जान्छन् । ‘यसले त हरियो साग मनै पराउँदैन, दाल खाँदै खाँदैन, आलु मात्र खान्छ, मेरो ७ वर्षीया छोरीले त फलफूल खान्न भन्छे, चक्लेट दियो भने मात्र खुसी हुन्छे,  मेरो छोराले त जाउलो, खिचडी, रोटी त छ्या भन्छ, प्याकेटको चाउचाउ खाजामा नभई स्कुल नै जान्न भन्छ । चिप्स र पिज्जा नभई मेरो बच्चा त पढ्नै मान्दैन,’ यस्ता कुरा खुब सुनिन्छन् । घरपरिवार बजारमा हिँड्दा, पार्टी, भोज, विवाह समारोहमा महिलाहरुले कुरा गरेको सुनेका प्रसंग हुन् । बालबालिकादेखि लिएर किशोरकिशोरीहरुले पनि सडक, बजार, स्कुल, क्याम्पस, पिकनिकमा विभिन्न थरीका चाउचाउ र चिप्सका प्याकेट लिएर मजा लिंदै खाएको देखिन्छ । यसरी पौष्टिक तत्त्व बढी भएका तथा घरमै बनाएका खानलाई महत्व दिनुको सट्टामा कम पोषक तत्व भएका खानालाई बढी महत्त्व दिने कार्यमा सञ्चारमाध्यमहरुमा आउने विज्ञापनको ठूलो भूमिका रहेको छ । सबभन्दा ठूलो भूमिकाचाहिँ बाबुआमाकै हुन्छ । पौष्टिक खाना खुवाउने बानी गराउनका लागि पनि मुख्यतया बाबुआमाकै भूमिका हुन्छ । यसका लागि बालबालिकालाई घरको दालभात, तरकारी खाजा ख्वाउन सानैदेखि प्रेरित गर्नुपर्छ । जब उनीहरुलाई ठोस खाना ख्वाउन सुरु गरिन्छ तब बाहिरको खानेकुराको सट्टामा घरमा बनेका खानेकुरा नै ख्वाउनुपर्छ । ७–८ महिनाको बच्चालाई लिटो, घरमा बनाइएका फलफूलको रस (चिनी नहाली), तरकारी, दालको झोल आदि खुवाउन सुरु गर्नुपर्छ । यस्तो बेलामा सुरु–सुरुमा शिशुहरुले खान गाह्रो मान्ने, बिस्तारै खाने आदि हुन्छ । तर, यसका लागि घरका मानिसमा धैर्यता हुनुपर्छ । बच्चाले खान मानेन भनेर गुलियो हालिदिने वा बजारबाट ल्याएका प्याकेटका खानेकुरा दिइयो भने त उनीहरुको बानी बिग्रिदै जान्छ । ‘बजारका खानेकुरा नदिएर के गर्ने हो, लौन कसरी काम चलाउने होला’ भन्ने खालका बिचार गर्ने बाबुआमाले के बिर्सनु हुँदैन भने आजभन्दा ३०–४० वर्षअगाडि हाम्रो देशमा प्याकेटका खानेकुरा र बट्टामा बन्द महँगो गहुँ र चामलको पीठो नआउँदा घरमा बच्चाहरुलाई लिटो, जाउलो आदि बनाएर ख्वाउने गरिन्थ्यो र उनीहरु स्वस्थ पनि हुन्थे । त्यसैले स्वस्थताका लागि बजारका महँगा खाना नै चाहिन्छ भन्ने छैन । शिशुलाई विज्ञापनको भरमा नपारेर घरमै बनाएको खानेकुरा दिनमा जोड दिनुपर्छ । बालबालिकाले खानेकुरा खान समय लगाउँछन् भनेर जबरजस्ती कोच्याउने बानी ग¥यो भने पछिसम्म पनि उनीहरुलाई ख्वाउने बानी बस्छ । कतिपय घरमा त १२–१३ वर्षको हुँदासम्म आमा, दिदी, बज्यै वा घरमा राखेका सहायक वा सहायिकाले खुवाएको पनि देखिन्छ ।
सानैदेखि बच्चाले हरियो तरकारी थुक्ने, दाल देखे नाक खुम्च्याउने आदि गर्दा धेरै मानिस यस्तो देखेर हाँस्ने गर्छन् । बालबालिका त रमाइलो भयो होला भन्ने विचारले झन्–झन् यो प्रक्रिया दोहो¥याउँछन् । उनीहरुको बानी नै यस्तै हुँदै जान्छ। त्यसैले घरमा भएका खानेकुरा खान दिने गर्दा खाना थुक्ने, नाक खुम्च्याउने बानीलाई बढवा नदिने र खानेकुरा थुक्दा पहिलेदेखि नै त्यसो गर्न हुँदैन भन्ने कुरा शब्दमा व्यक्त गर्नुपर्छ । सानैदेखि यस्ता बानी–व्यवहारलाई रोकेपछि धेरै समस्या कम हुन्छ । जसले गर्दा बालबालिकालाई अनावश्यकरुपमा बजारका महँगा तर कम पोषण भएका खाना खाने बानी लाग्नबाट बचाउन सकिन्छ र उनीहरुलाई कुपोषण हुने समस्याबाट पनि जोगाउन सकिन्छ ।
स्रोत ः स्वास्थ्य खबर पत्रिका













Post a Comment

 
Top