0
गोल्डेन न्यूज संवाददाता
पोखराको लेकसाईड स्थित फेवाताल किनारमा रहेको हिमागृह भाडामा दिने गरी जारी ठेक्का प्रक्रिया बिरुद्ध पोखरेली सडकमा उत्रिएका छन् । राष्ट्रिय सम्पदाको रुपमा रहेको हिमागृह ठेक्का प्रक्रियामा खारेजीको माग गर्दै विहिवार पोखरामा बिरोध जुलुस सहित कोणसभा सम्पन्न भयो । विप्लव माओबादी निकट जिल्ला जनपरिषद् कास्कीको अगुवाईमा आयोजित बिरोध कार्यक्रममा पोखराका पर्यटन ब्यवसायी तथा नागरिक समाजका अगुवाहरुको पनि सहभागिता थियो । विरोध जुलुसमा सहभागिले हिमागृह बेच्न पाईदैन, सार्वजनिक सम्पत्तिको संरक्षण गरौ, ठेकेदारी प्रथाको अन्त्य गरौ लगायत लेखिएको प्लेकार्ड तथा ब्यानर वोकेका थिए । जुलुसपछि हिमागृह गेट अघि भएको कोणसभामा बोल्नेहरुले हिमागृहलाई कुनैपनि हालतमा निजिकरण हुन नदिने प्रतिबद्धता जनाए । नेकपा माओबादी गण्डकी अञ्चल इन्चार्ज सावित्रा दुराले हिमागृह सहित पोखराका अन्य सम्पदा तथा सार्वजनिक सम्पत्तीहरुको संरक्षणमा आफूहरु लागि पर्ने बताईन्। उनले हिमागृहलाई निजीकरण गरेर देखाउन सरकारलाई चुनौति समेत दिईन् । हिमागृह बचाउन गरिने जुनसुकै बिरोधका कार्यक्रममा आफ्नोे पार्टीको साथ र समर्थन रहने उनले बताईन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारी नालायकीपनले सार्वजनिक सम्पदाहरुको विनास भैरहेको बताए । उनले पोखराको ऐतिहासिक सम्पदा संरक्षण गर्न सबै पोखरेली जुट्नुपर्ने खाचो औंल्याए । नेपाल ट्रस्टले गत बैशाख १८ गते हिमागृहलाई भाडामा दिने प्रयोजनले १५ दिने सूचना प्रकाशित गरेको गरेपछि परेको ८ वटा प्रस्ताबमा यति एयरलायन्सका प्रबन्धक आङछिरिङ शेर्पा समुहले बाजी मारेको थियो । बार्षिक एक करोड पाँच लाख रुपैयाँ दिने गरी भाडामा लिएको सूचना सार्वजनिक भएपछि हिमा गृह भाडा प्रक्रियाबाट वाहिरिन नागरिक समाज पोखराले चेतावनी दिदै आएको छ । नागरिक समाजले ठेक्का प्रक्रियाबाट पछि नहटे यति एयरका सबै पोखरा उडान ठप्प पार्ने चेतावनी दिईरहेका बेला नेकपा माओबादीले पनि यसमा साथ दिएको हो । नागरिक समाज पोखराका संयोजक राम बहादुर पौडेलले पोखरामा रहेका राष्ट्रिय सम्पदा संरक्षणको लागि जस्तोसुकै आन्दोलन पनि गर्न तयार रहेको बताए । पर्यटन ब्यवसायी अग्नी कंडेलले हिमा गृह प्रयोग गरेर देखाउन यति एयरलाई चुनौती दिए । विभिन्न वाहानामा पोखराको सम्पदामाथि हस्तक्षेप भैरहेको भन्दै उनले हिमागृहलाई ब्यवसायिक प्रयोजनमा लगाउन नदिने चेतावनी दिए । राजसंस्था कायम रहेका बेला तत्कालिन राजपरिवारको विश्राम स्थलको रुपमा रहेको अर्को एतिहासिक सम्पदा रत्न मन्दिर आगामी हप्तादेखि पर्यटकलाई खुल्ला गर्ने तयारी छ । तर हिमागृह ब्यवसायिक प्रयोजनको लागि भाडामा दिएपछि पोखरेलीले बिरोध गरेका हुन् । नेपाल ट्रस्टले ताल किनारको १० रोपनी ४ आना क्षेत्रफलको हिमा गृह ५ बर्षको लागि भाडामा दिने निर्णय गरेको हो । सो स्थानमा शेर्पा समुहले पाँच तारे होटल सञ्चालन गर्ने तयारी गरिरहेको स्रोतले बताएको छ । स्रोतका अनुसार शेर्पा सहितका केहि ब्यक्तिहरु प्रभाव र पहुँचको आधारमा हिमा गृहको संरचना बदल्दै रत्न मन्दिरमाथि पनि प्रभुत्व जमाउन चाहन्छन् । वसुन्धरा पार्क, हिमा गृह, रत्न मन्दिर र फेवाताल किनारमा रहेको वाराहीघाट मैदानलाई समेत ब्यवसायीक प्रयोजनको नाममा निजिकरण गर्ने आन्तरिक चलखेलमा उनीहरु लागेको पोखरेलीको आंशका छ । ऐतिहासिक महत्वका राष्ट्रिय सम्पदा एबं सार्वजनिक सम्मत्तीको दोहन गर्ने यो कार्यक्रमा केहि पोखरेली पर्यटन ब्यवसायीले समेत साथ दिएको आन्दोलनरत ब्यक्तिहरुले आकलन गरेका छन् । फेवातालको मापदण्ड भित्र पर्ने एतिहासिक सम्पदाको संरक्षण गर्नुको सट्टा सरकारले अस्तित्वनै मेटाउने काम गरेको भन्दै पोखरेलीले कुनैपनि हालतमा हिमा गृह निजी क्षेत्रलाई प्रयोगमा ल्याउन नदिने चेतावनी दिएका छन् ।





Post a Comment

 
Top