0
गोल्डेन न्यूज संवाददाता
मितेरी नारी समूह लेकसाइडको आयोजना तथा पद्मावती हस्तकलाको सहयोगमा पोखराको लेकसाइडमा पाँच दिने फेब्रिकद्वारा हस्तकला निर्माण तालिम सम्पन्न भएको छ। तालिममा सहभागी हरुले फेब्रिकबाट व्याज, माला लगायतका सामग्री निर्माण गरेका थिए । झण्डै ३० जना सहभागी तालिममा पुष्पा पहारी प्रथम, विष्णु तिवारी द्वितीय, सरु भट्टराई तृतीय तथा कमला बज्राचार्य, शान्ति थापामगर, इन्दिरा पहारी र तिला बराल सान्त्वना भए । उनीहरुलाई पद्मावती हस्तकलाका साधना तिवारीले तालिम प्रदान गरेकी हुन् । तालिमका विजेता तथा सहभागीहरुलाई समापन समारोहका प्रमुख अतिथि महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जिसीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन् । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसिले खेर गएका सामग्रीहरुको पनि सदुपयोग गर्न सकिने बताइन्। साथै उनले तालिममा लिएका ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरिन् । कार्यक्रममा आमा समूहको तर्फबाट अन्नपूर्ण आमा समूहका शान्ता रेग्मी, टोल विकास संस्थाको तर्फबाट अम्बोट टोल विकास संस्थाका अध्यक्ष कल्पना पहारी, महिला समन्यव समितिका अध्यक्ष लक्ष्मी खाती, वडा नागरिक मञ्चका संयोजक एवं संस्थाका कानुनी सल्लाहकार अधिवक्ता भगवती पहारी, सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष हिरु पुन, तालिम संयोजक लक्ष्मी भट्टराई, प्रशिक्षार्थीको तर्फबाट इन्दिरा पहारी लगायतले तालिमको महत्वबारे प्रकाश पारेका थिए । आयोजक संस्थाका अध्यक्ष कमला पहारीको अध्यक्षतामा भएको समापन समारोह संस्थाका सचिव तारा आचार्यले सञ्चालन गरेकी थिइन् । यसैगरी सिद्धार्थ राजमार्ग टोल विकास संस्था, हिमालीटोलले फेब्रिकद्वारा निर्मित हस्तकला सामग्री सम्बन्धी महिलालाई तालिम दिएको छ । महिलालाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले २ दिनसम्म चलेको तालिममा टोलका ४० जना महिलाको सहभागिता थियो । संस्थाका सल्लाहकार भगवती गुरुङ र कोषाध्यक्ष दुर्गा पौडेलले तालिम दिएको संस्थाका अध्यक्ष आत्मा तुलाचनले जानकारी दिइन् । प्रशिक्षार्थीलाई फूलको बुकी, माला बनाउने लगायत तालिम दिइएको हो । तालिम अवसरमा वडा सचिव रमेश पौडेल, वडा नागरिक मंचका अध्यक्ष टोपराज ढुंगाना, वडा समन्वय समितिका अध्यक्ष गीता सुवेदी, ड्यामसाइड क्लबका अध्यक्ष पदम ढकाल लगायतले तालिमलाई व्यवहारमा प्रयोग गर्नुपर्ने सुझाव दिए । संस्थाका अध्यक्ष आत्मा तुलाचनले सीप सिकेका महिलालाई हस्तकलाका सामग्री बनाउनेबारे रोजगार दिई आयआर्जनको बाटो देखाउने बताइन् ।

Post a Comment

 
Top