0
गोल्डेन न्यूज संवाददाता
घरमा फोहोर थुप्रिएर नगरपालिकाको गाडी कतिबेला आउला भनेर चिन्ता गर्दै हुनुहुन्छ ? कि सेफ्टी ट्याङ्की भरिएर बर्षेनी पैसा खर्च गर्दै सफा गर्नुपरेको छ ? तपाईले चाहनुभयो भने यो समस्या पनि समाधान हुने र खाना पकाउने ग्यासको खोजीमा सिलिण्डर बोकेर भौतारिनु पर्ने अबस्थाको पनि अन्त्य हुनेछ । पछिल्लो समय सफल परीक्षण गरिएको बायो ग्यास प्लान्ट जडान गरेमा घर भित्रको फोहोर घरमै ब्यवस्थापन हुने र ग्यास उत्पादन गरी ढुक्क सँग खाना पकाउन सकिन्छ । अल्टरनेटिभ वायो ईनर्जी प्रालिले पोखरा उपमहानगरपालिका परिसरमा यहि प्रविधि अन्तर्गत फोहोरबाट ग्यास उत्पादन गरेको छ । नगरपालिका कार्यालयबाट उत्पादित फोहोरबाट उत्पादन गरिएको ग्यास कार्यालयकै क्यान्टिनमा जोडिएको छ । बायो ग्यास प्लान्टको सोमवार आयोजित कार्यक्रमका बीच निमित्त कार्यकारी प्रमुख ओमराज पौडेलले उद्घाटन गरे । १ क्युबिक क्षमताको ट्याङ्की प्रयोग गरी ग्यास उत्पादन गरिएको हो । यो प्लान्ट अन्तर्गत मानव मलमुत्रबाट हालको सेफ्टीट्याङ्कीको सट्टा फेब्रिकबाट बनेको ट्याङ्की प्रयोग गरी ग्यास उत्पादन गर्न सकिन्छ । प्रालिले एलपी ग्यासको विकल्पको रुपमा परीक्षण स्वरुप पोखरा सहित नारायणगढ र काठमाडौंमा ग्यास उत्पादन गरेको हो । प्रालिका प्रबन्ध निर्देशक सेसन शाक्यका अनुसार एक क्युबिक क्षमताको ट्याङ्कीबाट दैनिक ७ देखि ८ किलो झोल ग्यास उत्पादन हुने र दुई घण्टा खपत गर्न सकिनेछ । ठोस घरायसी फोहोरलाई प्रयोग गरी ग्यास उत्पादन गर्न सकिन्छ । घरबाट निस्कने कुहिने फोहोरलाई ट्रिटमेन्ट प्लान्टमा जम्मा गरी जैविक ग्यास उत्पादन गर्न सकिन्छ । परिवारको संख्या हेरी विभिन्न क्षमताका प्लान्टहरु बजारमा उपलब्ध भएको शाक्यले बताए । यो प्रबिधिबाट घरलाई चाहिने ४० देखि ५० प्रतिशत ग्यास उत्पादन हुन्छ । त्यस्तै मानव मलमुत्र जम्मा हुने शौचालयको सेफ्टी ट्याङ्कीको सट्टा फाईबरबाट निर्मित यो प्लान्टको ट्याङ्की प्रयोग गरी ग्यास उत्पादन गर्न सकिने उनले बताए । यो प्रबिधि अन्तर्गत ६० देखि ७० प्रतिशत ग्यास उत्पादन हुने प्रालिको दाबि छ । ‘नयाँ भवन निर्माण गर्दा सिमेण्टको सेफ्टी ट्याङ्कीको सट्टा फाईबरको यो ट्याङ्की प्रयोग गर्दा खर्च कम लाग्छ’, शाक्यले भने,–‘ दैनिक फोहोर उठाउने गाडी र बर्षेनी पैसा खर्च गरेर सेफ्टी ट्याङ्की सफा गर्ने झन्झटबाट पनि मुक्त भईन्छ । यो प्रविधि अन्तर्गत बायो ग्यास उत्पादनको आयु २५ बर्ष सम्म रहने र त्यसपछि पनि ट्याङ्की मर्मत गर्न सकिन्छ । त्यस्तै जडान गर्ने कम्पनीले सम्पूर्ण मर्मत गर्ने गरी ५ वर्षको लागि वारेण्टी समेत दिने बताईएको छ । कम्पनीका अनुसार झण्डै ६ जनाको परिवारलाई पुग्ने १ क्युबिक क्षमताको प्लान्ट जडानको लागि ७० हजार रुपैया पर्नेछ । गाउँघरमा यसअघि प्रयोग हुदै आएको गोवरग्यास प्यान्टको तुलनामा यो गुणस्तरीय र भरपर्दो रहेको प्रालिको दावी छ । सिमेण्टबाट बनेको ट्याङ्कीको तुलनामा फाईबर ट्याङ्की ग्यास उत्पादनको लागि उपयुक्त हुने बताईएको छ । बायो ग्यास प्लान्ट अन्तर्गत आफुलाई अनुकुल स्थान घरको छत, आगन, पिडी जहा पनि यो ट्याङ्की राखेर ग्यास उत्पादन गर्न सकिनेछ । नयाँ बन्दै गरेको घरमा पानीको पाईप जस्तै भित्र भित्रै पाईप जडान गरी घरको भान्छासम्म ग्यास पुर्याउन सकिने दावी गरिएको छ । बायो ग्यास बढी भएको खण्डमा भण्डारण गरेर राख्न सकिने प्रालिले जनाएको छ । नगरपालिकाका निमिक्त प्रमुख पौडेलले घर भित्रको फोहोर घरमै ब्यवस्थापन गर्न सकिए नगरलाई स्वच्छ सफा राख्न सकिने बताए । उनले नगर क्षेत्र सफा राख्न नगरवासी आफै जागरुक हुनुपर्नेमा जोड दिए । यो प्लान्ट शहरी क्षेत्रमा झनै उपयोगी हुने भएकाले नगरपालिका कार्यालयमै नमुनाको रुपमा ग्यास उत्पादन गरिएको बताए ।





Post a Comment

 
Top