0
गोल्डेन न्यूज संवाददाता
कानूनी लिखत विनाको व्यवहारिक लेनदेनका कारण समाजमा धेरै समस्याहरु भोगिरहेको बेला पोखराका तमु आमाहरु तमसुक लेख्न जुटेकाछन् । नेपाल बन्दका दिन पनि सोमवार पोखरा–९, नयाँबजारस्थित तमु धिं नेपालमा विभिन्न तमु समाजहरुबाट आमाहरु तमसुक लेखन प्रशिक्षणका लागि करिब बीस जना आमाहरु जुटेका हुन् । तमु धिं नेपाल अन्तर्गत रहेको तमु धिं नेपाल केन्द्रीय आमा समितिले आमाहरुलाई सोमवार पोखरामा लेनदेन कसरी गर्ने र कपाली तमसुक कसरी लेख्नेबारे प्रशिक्षण दिएको हो । आमा समितिद्वारा प्रत्येक महिनाको १० गते तमु आमाहरुलाई विभिन्न सचेतनामूलक, स्वरोजगार, व्यवसायिक तालिम प्रदान गर्ने क्रममा साउन महिनाको १० गते सोमवार कानूनी सचेतना अन्र्तगत लेनदेन र कपाली तमसुक लेख्ने प्रशिक्षण नेपाल बार एशोसिएसनका निर्वतमान केन्द्रीय उपाध्यक्ष तथा तमु धिं नेपालका द्वितीय उपाध्यक्ष अधिवक्ता अनिता तमुले प्रदान गरेका हुन् । आमाहरुलाई तमसुक लेखनबारे सहजीकरण गर्दै अधिवक्ता तमुले आर्थिक कारोवार एवं लेनदेन रीतपूर्वक लिखत नगरेकै कारण धेरै आमाहरु समस्यामा परेकाले आमाहरुले आफैले तमसुक लेख्न सिक्नुपर्नेमा जोड दिए । कागजपत्र गरी कारोवार वा लेनदेन गरेमा भोलि कसैले बेइमान गरेमा अदालत पुगेर समेत खोज्न सकिने भएकाले तमसुक बिना लेनदेन नगर्न आमाहरुलाई सुझाव दिए । कार्यक्रममा सहभागी दुर्गामाया तमुले तमसुकको आवाश्यकता र व्यवहारिक महत्वको बारेमा धेरै ज्ञान पाएकोमा खुशी व्यक्त गर्दै तमसुक लेख्ने आधारभुत ज्ञान प्राप्त भएकोमा आफू कहीकतैबाट लेनदेनमा समस्यामा नपर्ने बताइन । नयाँबजार तमु समाजकी बुद्धिकुमारी तमुले आफू व्यवहारिकतामा लेनदेन गर्दा समस्या परेका अनुभव सुनाउँदै अबका दिनमा लेनदेन गर्दा तमसुक बनाएर मात्रै कारोवार गर्ने बताइन। आमा समितिका सहसचिव बिना तमुले कानूनी अज्ञानताले समाजमा धेरैले समस्या भोगी रहेकाले आधारभूत कानूनी ज्ञान आमाहरुलाई अत्यावश्यक देखेर उक्त सचेतना कार्यक्रम आयोजनाले आफूलाई पनि लेनदेन गर्दा कपाली तमसुक बनाउनुपर्ने आवाश्यकता र तमसुक लेख्न आधारभुत ज्ञान प्राप्त भएकोमा खुशी व्यक्त गरिन् । ब्रेज मेश्रों घान्द्रुक तमु समाजकी ७६ वर्षीय रसकुमारी तमुले आफूहरुलाई लेनदेनमा अब कुनै समस्या नपर्ने भन्दै आफै तमसुक लेख्न नसक्ने अवस्थामा तमसुक लेख्न जान्नेहरुबाट लिखत बनाएर मात्रै लेनदेन गर्ने बताइन । तमु धिं नेपाल केन्द्रीय आमा समितिका अध्यक्ष हरिमाया तमुको अध्यक्षतामा भएको कार्यक्रममा बगालेटोल तमु समाजकी ललिता तमु, तमु सेवा समिति नयाँबजार तमु समाजकी सचिव बालकुमारी तमु लगायतले प्रशिक्षण कार्यक्रम अत्यन्तै उपयोगी भएको विचार व्यक्त गरेकी थिइन ।





Post a Comment

 
Top