0
गोल्डेन न्यूज संवाददाता
तीन दिनदेखि बन्द पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड आज बिहीबारदेखि खुल्ने भएको छ । व्यवस्थापनले बुधबार राति १०ः३० बजे विज्ञप्ति प्रेषित गर्दै पोखरा ट्रेडमल बिहीबारदेखि खुल्ने जनाएको छ। यद्यपि आन्दोलनरत व्यवसायीहरुले भने  केही बताएका छैनन् । पार्किङ शुल्क विवादले तीन दिनदेखि ट्रेडमल बन्द थियो । बुधबार दुवै पक्षबीच वार्तामा पाकिङ विवाद अन्त्य गर्ने र पोखरा ट्रेड मल बिहीबारदेखि संचालन गर्ने सहमति भएको व्यवस्थापन समूहले जनाएको छ । सहमति अनुसार ट्रेड मलको पार्किङको ब्यवस्थापन गर्ने जिम्मा ब्यवसायीहरुले नै लिएका छन् । साथै आगामी दिनमा पोखरा ट्रेड मलको ब्यवसायिक वातावरण अझ सशक्त बनाउन एक जुट भएर अघि बढ्ने समेत सहमति भएको बताइन्छ ।  पार्किङ विवादको कारण बन्द पोखराकै ठूलो ब्यापारिक मल  दावी गरिएको पोखरा ट्रेड मलका सटर ३ दिनसम्म बन्द थिए । ट्रेडमल बन्द हुँदा सामान खरिदका लागि त्यहाँ पुगेका ग्राहक त्यसै फर्किने गरेका थिए। बुधवार मलका एकाध सटर मात्रै खुलेपनि अन्य सबै बन्द थिए । मल भित्रको दुई वटा सिनेमा हल भने सञ्चालनमा थिए । यद्यपि मलका सटर बन्द भएकाले सिनेमा हलमा पनि त्यसको प्रभाव परेको देखिन्थ्यो । पार्किङ शुल्क विवादको कारण मलमा भाडामा बसेका ब्यापारीहरुलेनै सटर बन्द गरेका हुन् । पाँच सय तीन सटरको ट्रेड मलमा भाडामा रहेका ब्यापारीले आफ्नो सटर बन्द गरेपनि शेयर सदस्यहरुद्वारा सञ्चालित पसलको सटर भने खुल्ला थियो । मलभित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर ती पसल खुलेका हुन् । ट्रेड मलको आन्तरिक पार्किङ शुल्क हटाउनुपर्ने माग सहित ब्यवसायी आन्दोलनमा उत्रिएका थिए । टे«ड मलको भूमिगत पार्किङ स्थलमा सवारी राखेवापतको शुल्क खारेज गरी निःशुल्क हुनुपर्ने उनीहरुको माग छ । ट्रेड मलमा पार्किङ गरेबापत मलका ब्यवसायीलाई दुईपांग्रे सवारीको प्रति महिना एक सय रुपैयाँ र चारपांग्रे सवारीको प्रति महिना पाँच सय रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै अन्य ब्यक्तिका लागि दुईपांग्रे सवारीलाई प्रति तीन घण्टा पाँच रुपैयाँ र त्यसपछिको प्रतिघण्टा थप पाँच रुपैयाँको दरले शुल्क लाग्ने ब्यवस्था गरिएको छ । चारपांग्रे सवारीलाई तीन घण्टाको १० रुपैयाँ र त्यसपछिको प्रति घण्टा १० रुपैयाँको दरले थपिंदै जाने प्रावधान छ । यसैगरी भाडाका सवारीसाधन पार्किङ गरेवापत प्रतिघण्टा २० रुपैया लिने गरिएको छ । झण्डै ८ सय मोटरसाईकल र ३६ वटा कार अट्न सक्ने क्षमताको भूमिगत पार्किङ ब्यवस्थापनका लागि भन्दै पोखरा ट्रेडमल ब्यवस्थापन समितिले ठेकेदारसँग सम्झौता गरेको थियो । मोतिलाल पौडेलसँग भएको पार्किङ ठेक्का सम्झौता अनुसार साउन १ गतेबाट शुल्क लिन थालिएको हो । दुई बर्षको लागि भएको सम्झौतामा ठेकेदारले ट्रेडमल ब्यवबस्थापन समितिलाई मासिक २० रुपैयाँ बुझाउनुपर्ने उल्लेख छ । पार्किङबाट उठेको अन्य रकमबाट रंगरोगन, ट्राफिक लाईट, कर्मचारी परिचालन लगायत ब्यवस्थापनको काम ठेकेदारलेनै गर्नुपर्नेछ । आन्दोलनरत ब्यपारीले मलका ब्यवसायीको साथै आउने ग्राहकलाई पनि पार्किङ निशुल्क हुनुपर्ने अडान लिएका छन् । माग पूरा नभएसम्म सटर नखोल्ने उनिहरुको अडान छ । तर ट्रेड मल ब्यवस्थापन समितिका प्रबन्ध निर्देशक मिनराज काफ्लेले पार्किङ ब्यवस्थापनको लागि नै ठेक्कामा दिएको बताए ।  निःशुल्क दिदा वाहिरी मानिसहरुको सवारीले पार्किङ स्थल भरिने र मलका ब्यापारीको साथै ग्राहकले समेत राख्ने ठाँउ नहुदा शुल्क निर्धारण गर्न बाध्य भएको उनको धारणा छ । मल गत बर्षको असोज महिनादेखि सञ्चालनमा आएको थियो ।








Post a Comment

 
Top