0
गोल्डेन न्यूज संवाददाता
पोखरावासीले आगामी चारवर्ष भित्र विश्व स्वास्थ्य संगठनले तोकेको मापडण्ड अनुसारको शुद्ध पिउने पानी पाउने भएका छन् । पोखरेलीको धारामा आउने सो पानी बिना हिच्किचाहट घुटुघुटु पिउन सकिने खालको हुनेछ । घंजापानी सहयोग नियोग (जाइका) ले पोखराको खानेपानी आयोजनाको लागि करिब ५ अर्व अनुदान सहयोग दिने भएपछि यो अवस्था आएको हो । पोखरा उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको पोखराको खानेपानीको समस्या र समाधानका उपायहरु विषयक अन्तत्र्रिmया कार्यक्रममा नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. परमेश्वर पोखरेलले पोखरलीको शुद्ध खानेपानीको चाहना पूरा हुन लागेको जानकारी दिए । अध्यक्ष पोखरेलका अनुसार जापान सरकारले अनुदानबारे सैद्धान्तिक सहमति जनाएपनि अनुदान सम्झौता भने भइसकेको छैन । जापान सरकारले चालु अङ्ग्रेजी वर्षको सेप्टेम्बरमा अनुदान दिने सम्बन्धमा अन्तिम निर्णय गर्नेछ भने अक्टोबरमा अनुदान सम्झौतामा हस्तारक्षर गर्ने कार्यक्रम रहेको छ । सम्झौता लगत्तै काम सुरु हुने र सन् २०२० को जनवरीसम्म आयोजनाको सम्पूर्ण काम सकिने उनको दावी छ । उनले भने–‘यो परियोजना अन्तर्गत खानेपानीको पाइप लाइन बिस्तार, पानी शुद्ध पार्नको लागि ट्रिटमेण्ट प्लाण्ट निर्माण र पोखराका विभिन्न ३ ठाउँमा पानी संकलन ट्याङ्की (रिजर्भर ट्याङ्की) निर्माणको काम एकैचोटी हुनेछ ।’ परियोजना संचालन भएपछि पोखराको मुख्य पानीको स्रोत मर्दीखोलाका वरपरका बासिन्दाको मागलाई सम्वोधनको प्रयास गरिने उनले बताए । स्थानीयबासीले सो क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गरिनुपर्ने, नदी कटान नियन्त्रण गरिनुपर्ने, स्थानीयहरुलाई रोजगारी दिनुपर्ने, सो क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने लगायतका मागहरु राख्दै आएका छन् । कार्यक्रममा सहभागी मर्दीखोला सरोकार समितिका पूर्व अध्यक्ष गोपाल गिरीले सो क्षेत्रमा शवदाह गृह निर्माण लगायतका स्थानीयका मागहरुको सम्वोधन नगरिएको आरोप लगाए । सरोकार समितिका उपाध्यक्ष राम गुरुङले खानेपानी परियोजनाले हरेक वर्ष २० सेन्टिमिटर ड्याम बढाउँदा स्थानीयको जग्गा डुवानमा परेको गुनासो गरे । उनले पोखरेलीले शुद्ध पानी खान पाउन् भन्ने स्थानीयको सदासयतालाई नजरअन्दाज नगर्न चेतावनी दिए । अर्का स्थानीयवासी नवराज अधिकारीले खानेपानी मुहान क्षेत्रमा पहिरो नियन्त्रणको कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । स्थानीयबासी खिमबहादुर थापाले परियोजनाले गर्दा आफ्नो खेत नै बगाएको बताउँदै यस्तै परिस्थिति रहे पानीको मुहानका बासिन्दा आन्दोनलमा उत्रनुको विकल्प नभएको बताए । अर्का स्थानीयवासी विष्णुप्रसाद लामिछानेले खानेपानी संस्थानले हिजो गरेका प्रतिवद्धता कार्यान्वयन नगरेकोमा आपत्ति जनाए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले शुद्ध खानेपानीको उपलब्धता पोखरेलीको सरोकारको विषय भएकाले परियोजना कार्यान्वयनमा सघाउने प्रतिवद्धता जनाए । परियोजना संचालन गर्दा मुहान क्षेत्रमा रहेका सरोकारवालाको माग संवोधन गरिनुपर्ने, पोखराको दीर्घकालीन आवश्यकतालाई ध्यान दिनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल खानेपानी संस्थान पोखराका प्रमुख निरन महर्जनले पोखरामा हाल दैनिक ६ करोड ५० लाख लिटर पानीको आवश्यकता भए पनि ४ करोड ५० लाख लिटरमात्र आपूर्ति गर्न सकिएको बताए । उनले पोखरामा ३ सय किलोमिटरजति पाइपलाइन बिस्तारको माग भए पनि वार्षिक रुपले करिब ६ किलोमिटर मात्र पाइप बिस्तार गर्न सक्दा ५० प्रतिशत जनताले पानी नपाएको बताए । उनका अनुसार सहरी क्षेत्रमा मात्र खानेपानी आपूर्ति गर्दै आएको संस्थानले अहिले थपिएका वडाहरुमा पनि खानेपानी आपूर्तिबारे सर्वेक्षण थालेको छ । संस्थानको पोखरा शाखाले ३४ हजार ८ सय ९९ जना ग्राहकलाई मिटर जडान गरेर पानी उपलब्ध गराउँदै आएको छ । उनका अनुसार पोखराको मुख्य पानीको स्रोत मर्दी खोलामा बाढीले गर्दा ड्याम र  मुख्य पाइप लाइन नै जोखिममा परेको छ । नदीको गिटी बालुवाको उत्खनन र बाढीका कारण सो समस्या आएको उनले बताए । ‘मर्दी खोलाको गिटी बालुवा निकाल्न जिल्ला विकास समितिले ३०÷४० लाखको टेण्डर निकाल्छ र नदीको दोहन हुन्छ’, उनले भने–‘सोही कारणले सिर्जित नदीको कटान नियन्त्रणको लागि करोडौँ रुपैयाँको परियोजना संचालन गर्नुपर्ने अवस्था आएको छ ।’ व्यापक जनदवाबपछि जिविसले सो क्षेत्रको गिटी बालुवा निकाल्ने टेण्डर भने स्थगित गरेको छ । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मीनराज काफ्ले, महासचिव रवीन्द्रबहादुर प्रजू, कार्यसमिति सदस्य विश्वशंकर पालिखे, नागरिक अगुवा रामबहादुर पौडेल, अग्रज पत्रकार नारायण कार्की, भरत कोइराला र अमृत सुवेदी, कस्मेटिक व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद बाँस्तोला, सर्वेश्वर मार्ग व्यवसायिक समितिका अध्यक्ष धर्ममानसिँह भण्डारीलगायतले खानेपानी संस्थानले आफ्ना ग्राहकलाई शुद्ध खानेपानी उपलब्ध गराउन व्यवस्थापकीय सुधार आवश्यक रहेको औंल्याएका थिए । उनीहरुले  खानेपानीको मुहान माथि सार्नुपर्ने र स्थानीयको माग संवोधन हुनुपर्नेमा जोड दिएका थिए ।

Post a Comment

 
Top