0
मुलुककै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात वर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेपछि दुर्घटना बढ्ने खतरा भएपछि असारको पहिलो सातादेखि नै यातायात सेवा अवरुद्ध भएको हो । यातायात अवरुद्ध भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दा यातायातको सुविधाबाट वञ्चित बनेका छन् । विगत १६ वर्षदेखि व्यावसायिक रुपमा स्टिमर सञ्चालन भएपछि दर्जनौँ गाविसका बासिन्दालाई हरेक नौ महिनासम्म यातायात सुविधा पुग्दै आएको थियो । वर्षात्को समयमा भने तीन महिना अवरुद्ध हुने गरेको छ । दक्षिण पर्वतको शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मिसम्म करिब आठ किलोमिटरको दूरीमा जलयात्रा सञ्चालनमा आएपछि पर्वतका दक्षिणवर्ती झन्डै डेढ दर्जन गाविसका बासिन्दाका साथै गुल्मी र स्याङ्जाका गरी २५ भन्दा बढी गाविसका बासिन्दालाई सहजरुपमा यात्रा गर्ने तथा मालसामान ओसार–पसार गर्ने सुविधा पुग्दै आएको थियो ।  यातयातको पहुँच नभएको तीनवटै जिल्लाका त्यस क्षेत्रका लागि स्टिमर सेवा बरदान सावित भए पनि वर्षायाममा भने सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो रहेको छ । पानीको सतह घटेपछि मात्र सञ्चालनमा आउने व्यवसायी हरिप्रसाद भट्टराईले जानकारी दिए । “असोजको दोस्रो सातापछि पानीको सतह कम हुने भएकाले त्यसपछि मात्र सञ्चालन गर्छौं अन्यथा जोखिम बढ्ने भएकाले बन्द गरेका हौँ,”–उनले भने । यातायात अवरुद्ध हुँदा दैनिक आधा घन्टामा सकिने यात्रा चार घन्टा पैदल हिँडेर स्याङ्जाको मिर्मिसम्म पुग्न स्थानीयवासी बाध्य भएका छन् । हिँउदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यवसायी खच्चरमार्फत महँगो शुल्कमा सामान ढुवानी गर्न बाध्य छन् । यहाँको एकमात्र भरपर्दो यातायात सेवाको रुपमा सञ्चालित स्टिमरले उक्त क्षेत्रका बासिन्दाको आर्थिक अवस्थामा समेत सुधार आएको छ । पहिले कालीगण्डकीमा ताल बन्दा बजार डुबानमा पर्ने चिन्ता गर्नेका लागि अहिले त्यही जलाशय बरदान जस्तै बनेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । जलाशयमा दैनिकरुपमा सञ्चालित आठ वटा स्टिमर अहिले ठप्प छन् । स्टिमरमा २४ जनाले प्रत्यक्षरुपमा र दर्जनौँ व्यक्तिले अप्रत्यक्ष रुपमा रोजगारी समेत पाएका छन् ।
स्टिमर सुचारु हुँदा प्रतिकिलो ५० पैसामा ढुवानी गर्दै आएका व्यवसायी खच्चरबाट प्रतिकेजी रु चारमा सामान ढुवानी गर्न बाध्य भएका छन् । कालीगण्डकी जल यातायात समितिका सचिव हरिप्रसाद भट्टराईका अनुसार पहिले डुङ्गा र साना स्टिमर भए पनि अहिले मालबाहक ट्रकको इन्जिन र जिपका इन्जिन राखेर सञ्चालन गरिँदै आएको छ ।” यसले मालबाहक ट्रककै जस्तै वहन क्षमता राख्दछ । विसं २०५७ देखि सञ्चालनमा आएको सो सेवाबाट यात्रा तथा सामान ढुवानी गर्न निकै सहज भएको भट्टराईले बताए। स्टिमरबाट दैनिक एक हजारभन्दा बढीले ओहोर–दोहोर गर्ने गरेका छन् । रासस






Post a Comment

 
Top