0
गोल्डेन न्यूज संवाददाता
राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी समिति कृषि उपज बजार शान्तिवनको कार्यसमितिको एक सदस्य बाहेक सबै पदमा माओवादी केन्द्र निकट व्यवसायीहरु निर्वाचित भएका छन् । मुलुकभर एमाले तथा कांग्रेस निकटको लहर चलिरहे पनि यो संघमा भने अनौठो संयोग भएको छ । समितिको अधिवेशन शुरु भएको एक सातापछि भएको निर्वाचनमा माओवादी निकटहरुलाई जिताउन कांग्रेस निकट व्यवसायीहरुले सहयोग गरेको बुझिएको छ। एमाले निकटलाई सहयोग गरेपनि कांग्रेस निकट व्यवसायी भने कुनैपनि पदमा छैनन् । स्रोतका अनुसार माओवादी केन्द्र निकट कुमार लामा लगायतले रकम नै खर्च गरेर कांग्रेस निकटका व्यवसायीको मत किनेका थिए । कांग्रेस निकट व्यवसायीको समर्थन पाएर समितिको अध्यक्ष पदमा एमाओवादी केन्द्र निकट छेवाङ तामाङ (कुमार लामा) निर्वाचित भएका छन्। उनले नेकपा एमाले निकट कर्ण गिरीलाई २० मतको अन्तरले पराजित गरेका थिए । समितिमा १४७ मतदाता रहेकोमा १४० जना मतदानमा सहभागी थिए । जसमध्ये तामाङले ७९ र गिरीले ५९ मत प्राप्त गरे भने २ मत मदर भएको बताइन्छ । अध्यक्षमा निर्वाचित कुमार लामा यसअघि पनि २ पटक समितिको अध्यक्ष भैसकेका व्यक्ति हुन् भने गिरी संचालक समितिको अध्यक्ष भएर काम गरेका थिए। लामालाई जिताउन समितिका पूर्व अध्यक्षहरु रुद्रप्रसाद खनाल, रामकृष्ण दवाडी, विष्णु बाँस्तोला, हरि फुँयाल र भरत पौडेल लगायत केही अग्रज व्यवसायीहरु खुलेर लागेको बताइन्छ । व्यवसायी तथा अन्य सामाजिक गतिविधिमा पूर्व अध्यक्षद्वय खनाल र दुवाडी एक–अर्कामा कट्टर मानिन्छन् तर समितिको चुनावमा एमाओवादी निकटका व्यवसायीलाई जिताउन दुवैजना खुलेर लागेका थिए । पूर्व अध्यक्ष रुद्रप्रसाद खनाल हाल संचालक समितिको अध्यक्ष समेत हुन् । स्रोतका अनुसार लामालाई जिताउन समितिमा आवद्ध मधेशी तथा भारतीय मूलका व्यवसायीलाई धम्क्याइएको समेत बताइन्छ। धम्कीपछि मधेशी तथा भारतीय मूलका सबै व्यवसायीले लामा तथा एमाओवादी निकटका व्यवसायीलाई मत दिएका थिए ।
यसैगरी समितिको उपाध्यक्ष पदमा एमाओवादी निकटकै निर्मल प्रसाद बाँस्तोला निर्वाचित भएका छन् । उनले एमाले निकट विष्णु हमाललाई पराजित गरेका हुन् । बाँस्तोलाले ७६ र हमालले ५७ मत प्राप्त गरे । बाँस्तोला यसअघि सचिव र सल्लाहकार भएर काम गरिसकेका छन् ।
यस्तै समितिको सचिव पदमा अक्कलबहादुर सिके निर्वाचित भएका छन् । उनी पनि माओवादी केन्द्र निकट हुन् । यसअघिको कार्यसमितिमा सल्लाहकार रहेका सिके निर्वाचनबाट ७१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमाले निकट गोकर्ण अधिकारीले ५७ मत मात्र प्राप्त गरे । स्रोतका अनुसार अधिवेशनको उद्घाटन सत्रसम्ममा अधिकारी सचिव पदमा निर्विरोध हुने पक्का–पक्की थियो । जब माओवादी निकट व्यवसायीले कांग्रेस निकटका व्यवसायीको मत किन्यो र जित्ने पक्का भएपछिमात्र सिकेले सचिव पदमा उम्मेदवारी दिएका थिए । अधिकारीलाई सचिव बनाउन उनका आफ्नै मामा तथा समितिका पूर्व अध्यक्ष रुद्रप्रसाद खनालले निकै पहल गरेका थिए तर उनको प्रयास असफल भएको स्रोत बताउँछ । 
समितिको सह–सचिवमा  गुणराज थपलिया (कमल) निर्वाचित भएका छन् । उनीपनि माओवादी निकट मानिन्छन् । उनले एमाले निकट सरस्वती श्रेष्ठलाई पराजित गरेका थिए । थपलिया र श्रेष्ठ दुवै एउटै जिल्ला धादिङ निवासी हुन् । निर्वाचनमा थपलियाले ६८ र श्रेष्ठले ५५ मत प्राप्त गरे । उनीहरु एउटै जिल्लावासी भएको नाताले सह–सचिव पदमा सर्वसम्मत उम्मेदवार बनाउने प्रयास पनि नभएको होइन तर चुनावी माहोल दुवैजना निर्वाचनमा होमिन बाध्य भएका थिए। उनीहरुलाई सर्वसम्मत १ मात्र उम्मेदवार बनाउन धादिङ जिल्लावासी तथा पूर्व अध्यक्षद्वय रुद्रप्रसाद खनाल, रामकृष्ण दवाडी र अग्रज व्यवसायी नवराज दवाडी पनि सक्रियपूर्व लागेपनि उनीहरुको प्रयास सफल हुन नसकेको स्रोत बताउछ ।
समितिको कोषाध्यक्ष पदमा माओवादी केन्द्र निकटकै रामप्रसाद लामिछाने निर्वाचित भएका छन् । उनले एमाले निकट कृष्ण प्रसाद शाहलाई पराजित गरेका हुन् । छामिछानेले ४४ र शाहले ४२ मत प्राप्त गरे । कार्यसमितिको सदस्य पदमा ४ जना आवश्यक वर्नेमा ११ जनाले उम्मेदवारी दिएका थिए । राधिका थापा ५७, सूर्यराज त्रिपाठी ५५, कृष्णप्रसाद धोवी ६४ र र केशरबहादुर पुलामी ५८ मतका विजयी भएको बताइन्छ ।  सदस्यमध्ये पुलामीमात्र एमाले निटक मानिन्छन् भने अन्य माओवादी निकटका हुन् ।
अध्यक्षमा पुनः निर्वाचित लामाले व्यवसायीको हक हितमा केही सकारात्मक र राम्रा काम गरेपनि संचालक समितिको नविकरणमा भने खासै पहल नगरेको बताइन्छ । केही महिनादेखि कृषि उपज बजार संचालक समितिको नविकरण पोखरा उपत्यका नगर विकास समितिले गरिदिएको छैन । नविकरण शुल्कमा पोखरा उपत्यका नगरविकास समिति र कृषि उपज बजारबीच कुरा नमिल्दा नविकरण हुन नसकेको बताइन्छ । यसअघि संचालक समितिसंग निकै कम मूल्य लिंदै आएको पोखरा उपत्यका नगर विकासले हाल संचालक समितिले व्यवसायीसंग लिने भाडा रकमको ७० प्रतिशत लिन खाजेपछि केही महिनादेखि विवाद कायम छ । पोखरा उपत्यका नगर विकास समितिको नेतृत्व कांग्रेस नेता प्रकाश मोहन खनालले गरिरहेका छन् । तरकारी थोक व्यवसायीको साधारणसभा तथा अधिवेशनमा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल र नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई अतिथिको रुपमा निमन्त्रण गरिएको भएपनि दुवै जना तथा कुनैपनि प्रतिनिधि सहभागी भएनन् । कृषि उपज बजार संचालक समितिमा आवद्ध व्यवसायीका ढलान फुटेर पसलमा पानी चुहिने, ट्वाइलेट पनि उपयुक्त नभएको, बजारमा फोहोरको व्यवस्थापन हुन नसकेको र बजारसम्म पुग्ने सडक लामो समयदेखि मर्मत हुन नसकेको लगायत विविध समस्या छन् । व्यवसायी समितिमा निर्वाचित अध्यक्ष कुमार लामाको यिनै समस्या चुनौतिको रुपमा रहेको छ । 
यसैबीच राष्ट्रिय फलफूल तथा तरकारी थोक व्यवसायी समितिको साधारणसभा तथा अधिवेशनको एकसाता अघि उद्घाटन गर्दै व्यवसायी समितिका केन्द्रीय अध्यक्ष खोम घिमिरेले देशभरका कृषि उपज बजारमा पोखराको जस्तै समस्या रहेको स्पष्ट पार्दैै उक्त समस्या समाधानमा महासंघले पहल गरिरहेको बताए । उनले कृषि उपज बजारमा रहेको समस्याको समाधानमा सरकारले पहल गर्नुपर्नेमा जोड दिंदै सरकारले वेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनी थिए । 
कार्यक्रममा गण्डकी मिनि मार्केटका बमबहादुर कार्की, हङकङ बजारका संरक्षक रामकुमार सुवेदी, तरकारी ढुवानी मजदूर संघका अध्यक्ष मेघबहादुर न्यौपाने, नेकपा माओवादी केन्द्र कासकी सदस्य दीलिप रायमाझी, एमालेका जिल्ला सदस्य लक्ष्मी अधिकारी, पोउमनपाका निरीक्षण शाखा प्रमुृख वसन्त चालिसे, वडा सचिव लोकदर्शन कोइराला, कृषि उपज बजार संचालक समिति सदस्य तथा कृषक प्रतिनिधि नवराज बराल, समितिका पूर्व अध्यक्षहरु रुद्रप्रसाद खनाल, रामकृष्ण दवाडी, केदार पौडेल सल्लाहकार निर्मल बाँस्तोला लगायतले कृषि उपज बजार संचालक समितिमा देखिएको समस्या र समाधानका विषयमा आ–आफ्ना भनाइ राखेका थिए । 










Post a Comment

 
Top