0
आफ्नै अतीततिर फर्केर घोत्लिँदा त मेरी बास्सै जीवनमा अग्घोरै लामो यात्रा पो पार गरिएछ हाउ भन्ने लाग्छ। यो मैले एकपछि अर्को गर्दै प्रयोग गरेका लेखन प्रविधिसम्बन्धी यात्राका उर्धमुखी खुट्किलाहरुको कथा हो। बाल्यकालमा अक्षरसँग नाता गाँस्ने शुभमुहुर्तमा मैले धूलौटामा कपुरी लेख्न थालेको थिएँ। घुम्दैफिर्दै, जीवनका अनेक कुइनेटा छिचोल्दै अहिले म साइबरको जङ्गलमा पुगेको छु। कहाँको लोसे सामन्ती धूलौटो, कहाँको वायुपङ्खी पूँजीवादी साइबर!  म भाग्यमानी, एकबारको जुनी लेखन प्रविधिका उपकरणहरु फेरीफेरी जिउन पाएँ।
मेरो ग्रामीण बाल्यकाल नेपाली इतिहासको धूलौटे काल थियो। ऊबेला यता काठमाडौँको सिंहासनमा मुकुटधारी राजा हातमा राजदँड बोकेर बस्थ्यो। त्यो योग्यता र क्षमता तथा इमान र नैतिकताका आधारमा होइन,  जन्म र जात, धर्म र वंश एवं भाषा र लिङ्गका आधारमा बन्ने बाहुबली सामन्ती राजा थियो। सुदूर पूर्वको मेरो गाउँ ज्ञान र विज्ञान तथा प्रविधि र प्रगतिका हिसाबले सघन अन्धकारमा थियो। भगवानका कृपामा चल्ने आदिम प्रकृतिको कृषि अर्थव्यवस्था थियो, र नवीन घटनाशून्य, एकरस र निरस जीवन थियो मियोमा नारिएर लघुवृत्तमा घुमिरहने अभागी बूढो गोरुजस्तो। माटो खनीखोस्री जेनतेन गोजेरो भर्नु, ता हुनु, सन्तान पैदा गर्नु र फुस्स मर्नु जीवनको नित्य चक्र थियो। न कुनै नवीन वादविवाद, न कुनै नवीन अन्वेषण, न कुनै नवीन सिर्जना, न कुनै नवीन आविष्कार–जीवन हदैसम्मको जडताको कैदी थियो। कतिकति अघिदेखि यसैगरी चलिआएको आएको त्यही सुस्त जीवनचक्रको एउटा क्षण भएर म जन्मेँ।
त्यो सुस्त र शुष्क जीवनमा रोचक र रोमाञ्चक एवं कौतुकमय र आल्हादकारी खासै केही चीज नभए पनि मेरो कालीदासीय कपुरी क भने अवश्यै थियो। जीवन र जगत्लाई हेर्ने मेरा आँखा खोलिदिने मेरो कपुरी क, जीवन र जगत्सँग सत्सङ्ग गर्ने माध्यमरुपी मेरो कपुरी क, जीवनको जटिल यात्रामा पहुँच र अवसरका ढोका खोलिदिने मेरो गुनिलो कपुरी क, र जीवनभरिको अभिन्न मित्र मेरो ढ्याके कपुरी क। त्यो अर्थपूर्ण कपुरी क लेख्ने मेरो धूलौटो थियो। धूलौटो भन्नु के छ, त्यस्तै अढाइ बाई एक फुटजतिको फलेक छ, फलेकमा धूलो छ र धूलोमा छ कपुरी क लेख्ने बाँसको डीको। अगाडि गुरुको आसनमा गजधम्म मुद्रामा बसेका छन् मेरा बा।
बाको समीपमा उस्तै परे चेलालाई मायालु भावले मरम्मत गर्ने चिम्टा छ। मेरो धूलौटो हुनुसम्म किफायती छ। लेख्यो, मेट्यो, फेरि लेख्यो, फेरि मेट्यो, अनि फेरि खराखरी लेख्यो र फेरि स्वाट्ट मेट्यो। जति लेख, जति मेट, धूलो निख्रिँदैन, डीको खिइँदैन। धूलौटाको बैगुन एउटै छ— मेरो अनुहार धूलाले धुस्रैफुस्रै हुन्छ। र, चन्चले हावाको झोँक्काले जनाउ नै नदिई मेरा आँखाभरि हठात् धूलो कोचिदिन्छ। तर जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ त्यो दुःखदायी धूलो कोचाइको पनि एउटा फाइदा छ। बाका चिम्टाको डर नमानी आँखा मिच्दै अलिबेर चैनले सास फेर्न पाइन्छ।
मेरो धूलौटे बाल्यकालको जीवन अनेकथरी पिराहा र कष्टकर तत्वहरुले पलपल घेरिएको थियो। एउटा अदृश्य हाउगुजी थियो जसले घरिघरि मेरो सातो लिइरहन्थ्यो। मलाई अत्याउनु र मेरो मुख थुन्नु प¥यो कि जो पनि ‘चुप लाग्, हाउगुजी आउला’ भन्थ्यो। देख्नु कतै केही छैन, हाउगुजीको कुरा उठ्यो कि डरले मेरो आङ त्यसैत्यसै सिरिङ्ग भइहाल्ने। मेरा कथाहरुमा भूत र प्रेत थिए, बोक्सी र डङ्किनी थिए, वनझाँक्री र मुर्कट्टा थिए। मेरालागि ती सबै भयानक त्रासका मुहान थिए। त्रासका ती दुच्छर मुहानहरु मेरो बाल्यकालको आनन्दका हत्याराहरु थिए। ती मेरा चुल्बुले खुल्दुली, मेरा कलिला प्रश्न र मूर्त्त आकार लिइनसकेका मेरा विमतिहरुका बाटाका काण्डे तारका बार थिए। ती सब जीवनको जीवन्त स्पन्दनको हुर्मत लिने तत्वहरु थिए। ती मेरो मुख थुन्ने बुजो थिए, ती मेरा कान थुन्ने ठेडी थिए, ती मेरा आँखा घोच्ने झीर थिए। ती सब मलाई रुढ र त्रू्कर परम्पराको मृतवत् गोटी बनाउने निषेधकारी साधनहरु थिए। र, मेरो बाल्यकालको जीवन ती यावत् भयकारी तत्वहरुको घेराभित्रको निरुपाय कैदी थियो। त्यो निसासलाग्दो जीवनमा मेरो धूलौटे कुपुरी क मेरो आशाको एकमात्र धिपधिपे जूनकीरी थियो। जीवनको विराट् विस्तारमा अहिले म जहाँ छु, खासमा मलाई यसतर्फ डोर्रुयाउने आरम्भिक धूमिल ज्योति मेरो त्यही धूलौटे कपुरी क हो।
जब म धूलौटामा बाराखरी लेख्ने अभ्यासमा पारङ्गत भएँ, धूले संसारबाट खबटे संसारमा मेरो बढुवा भयो। प्रविधिको एक तह उक्लिएर अब म भालुबाँसका खबटामा लेख्न पाउने भएँ। बाँसघारीमा खबटा खोज, घाममा सुकाएर खबटालाई समतल बनाऊ, खबटाको झुस धूलाले रगेडेर फाल, र खबटामा झारपातका झोलको मसी र बाँसको कलमले लेख। लेखाइको त्यो खबटे अभ्यास तुरिएपछि पहाडे कागतमा मेरो बढुवा भयो। अरे हाउ, ग¥यो त केटाले! व्यग्र प्रतीक्षापछि हात लागेको त्यो सफलताको गर्वले मेरो नाक फुलेर घिरौँलो जत्रो भयो। फुरुङ्ग पर्दै मनमनै भनेँ–हेर है, अब भने म पनि बा र दाइहरुसरह भएँ। आखिर तिनले लेख्ने पनि त घुँडामा राखेर त्यही पहाडे कागतमा हो। लौ त तिनले अब मलाई हेपून्!
लेखन यात्रामा कोरा पहाडे कागत र बाँसको ढ्याके कलमपछि छरितो सोह्र पाने कापी र चिटिक्क परेको फुल्टिनमा मेरो  स्तरबृद्धि भयो। उता म कत्ति न जान्ने हुँ भन्ने मेरा जोतिसी बा पहाडे कागतमै अड्किए, यता म फड्को मारेर काइदाको कापी समात्न पुगेँ। अब भने बाको चिम्टा थाकेर कतै कुनामा थन्कियो। र, विजयभावले मेरो शिर सगरमाथाको चुचुरो भयो। यिनै कापी र फुल्टिनको सहाराले मैले औपचारिक पढाइको मेसो तुरेँ, र यिनकै सहाराले मैले लामो समयसम्म मौलिक लेखन र अनुवाद गरेँ। धेरैपछि, विक्रमाब्दको चालीसको दशकमा अर्को फड्को मारेर म टाइपराइटर स्पर्श गर्न पुगेँ। सेकन्ड हेन्ड भएर के भो, कार्ल मार्क्सको जर्मनीमा बनेको मेरो रेमिङ्टन टाइपराइटर गजपको थियो। त्यसले छिपासरहका अक्षर टाइप गर्थ्यो।
चल्तीका टाइपराइटरहरु हेरी त्यो किञ्चित् दुर्लभ थियो, त्यसैले त त्यसको शानै अर्कै थियो। औँला नचाउँदै मुरली मकै पड्किएझैँ पटटको अविराम लयमा मैले त्यो टाइपराइटरले थुप्रै किताब उल्था गरेँ। त्यो थियो कलमभन्दा कता हो कता छिटो र साफी गर्ने लेठोबाट मलाई मुक्ति दिने  बडो कल्याणकारी यन्त्र। धन्य हो, मेरो टाइपराइटरले मेरो लेखन–यात्रामा गति र प्रगति थपिदियो।
अर्को दशकमा उत्सवी आनन्द लिएर मेरो घरमा आयो जादूगरी कम्प्यूटर। पहिले धूलौटे कालमा बा मेरा गुरु थिए, कम्प्यूटर कालमा छोरो मेरो गुरु भयो। कहाँको त्यो चिप्लेकीरो सरी चल्ने धूलौटे युग, कहाँको तुफानी वेगमा चल्ने यो कम्प्यूटर युग!  समयले पल्टा खायो। र, किशोर वयको छोरो कत्ति न जान्ने हुँ भन्ने उसको बाबुको गुरु बन्यो। कम्प्यूटर मेरालागि एकसाथ रोमाञ्च र रहस्यको वस्तु हुनगयो। आम्मामामा, त्यसका चमत्कारमय जुक्तिहरु त कति कति! त्यसको बिछट्टको चातुर्य, त्यसको अचुक स्मरणशक्ति, त्यसको अनुपम आज्ञाकारिता, ती सबको म खै कसरी बयान गरु? धन्य कम्प्यूटर, तैँले मेरो लेखनको गति ह्वात्तै बढाइदिइस् र मेरो वृत्ति आर्जनमा निकै नै सघाउ पुर्रुयाइस्। लेख्ने कम्प्यूटरमा र पत्रिकामा छाप्न पठाउने फ्याक्स मिसिनमार्फत्। यसरी मेरो लेखन यात्रामा अर्को छलाङकारी मोड आयो। अब समय र पैसा खर्चेर धाईधाई पत्रिकाको अड्डा जाने झ्याउलो छुट्यो। अनि त्यसपछि आयो तमासा देखउँदै गगनमार्गी इमेल। शानले कुर्सीमा बसेर कम्प्यूटरमा फटाफट लेख्यो, घर बसीबसी इमेलबाट हुत्त फाल्दियो, चीज भोलिपल्ट बिहान जस्ताकोतस्तै छापिएर आउँछ। भएन त हाइसन्चो! अर्को डेढ दशकपछि आनाकानी गर्दागर्दै म साइबरको जङ्गलमा पुगेँ। ख्यालख्यालमै पुगेँ र उम्किनै नसक्ने जन्जालमा फसेँ म। मेरा कतिपय युवा पाठकहरु मलाई कर गरिरहन्थे–हाई ब्रो, ट्वीटरमा जाऊँ, त्यहाँ अर्कै संसार भेटिन्छ। एक त प्राविधिक उपकरणहरु चलाउने काममा म महाको बुद्धु छु, अर्को्तिर जीवनका झैझमेलाहरु मेरालागि यसै पनि पर्याप्त छन्। त्यसैले थप झमेलाहरु निम्त्याउन म किन त्यता लागूँ? यता यसो भन्दै म पन्छिइरहेँ, उता साइबरको जङ्गलमा पसेकाहरुले निःशुल्क अर्तिबुद्धि दिँदै मलाई सम्झाइरहे— फेसबुक ठीक छैन, त्यहाँ झल्लाहरुको बाहुल्य छ। ट्वीटर तैबिसेक ठीक छ। कारण त्यसमा शब्दका सीमा छन्। त्यो सीमाभित्र बसेर केही भन्नलाई थोरै भए पनि बुद्धितत्व र भाषाको कौशल चाहिन्छ। त्यसैले त्यहाँ झल्लाहरुको संख्या अपेक्षाकृत कम छ। आ... नदुखेको टाउको बित्थामा किन दुखाउनु? मुख बंग्याउँदै म पन्छिइरहेँ। एक दिन मेरा एकजना ता मित्रले ओठमा मृदु मुस्कान झुन्ड्याएर मनोविनोदी पाराले उद्घोष गरे–ल है, ट्वीटर अकाउन्ट खोलियो। जाने हैन बूढा साइबरको जङ्गल घुम्न? सुनेर म त्यसैत्यसै रनभुल्ल परेँ। तै तै हेरिहालूँ न त के रहेछ यो साइबरको जङ्गल, मेरो जिद्दीले यसरी घ्याप्पै घुँडा टेक्यो। र, नाइँनाइँ भन्दाभन्दै म साइबरको घना जङ्गलको होस्ल्याङे यात्री बन्न पुगेँ।
थरीथरीका ट्वीटे पार्टनरहरुको संसारमा पाइला टेक्नु के थियो, म अनायासै चौतर्फी घेराउमा परिहालेँ। गर्नलाई ट्वीटरको रहस्यमय भित्तोमा एउटा सूत्र–वचन टाँस्नु सिवाय म केही नै गर्दिनँ। त्यो पनि दिनदिनै कहाँ हो र? कहिले त कतिकति दिनसम्म म हात बाँधेर चुपचाप बस्छु। ट्वीटे जगत्मा म कसैसँग दोहोरो वार्ता गर्दिनँ। म प्रश्नोत्तरमा भाग लिन्नँ। जबाफी आक्रमण म गर्दिनँ। न त म कसैलाई धन्यवाद नै भन्छु। म केवल एउटा सूत्र–वचन फाल्छु र कसले के प्रतिक्रिया ग¥यो होला भनेर फुर्सदको बेला यसो चियाएर हेर्छु। तर अचम्म छ, खास चाखै नमान्दा पनि यो नाथे साइबरे जङ्गलको नशा लाग्दो रहेछ। हैन, कसैले केही नयाँ कुरा पो भन्यो कि? कतैका कसैको दिव्य वचनको अमृतरसबाट म वञ्चित पो भएँ कि? नशाको तोडले उखर्माउलो खसखस लागेर आउने, अनि आ... हेर्दिनँ भन्दाभन्दै ट्वीटे जगत्मा अग्घिनै पुगिहालिने। फसियो त हाउ, ब्रो!
साइबरको जङ्गल त मेरीबास्सै, वैचारिक झडपको दोहोरी र वादहरुको घर्षणको अखाडा पो रहेछ।  कोलाहलमय ट्वीटे जगत्मा विचार र मनोवृत्तिका हिसाबले मोटामोटी चारथरी मनुवाहरुसित मेरो जम्काभेट भयो। हुनलाई ती र त्यस्ताहरुसित यता मुद्रण माध्यममा पनि मेरो बारम्बार भेट भएकै हो। तैपनि त्यो अदृश्य संसारको अनुभव मलाई किञ्चित् रोमाञ्चक लाग्यो। त्यहाँ तिनका अनुहारको केवल अचल छविछायाँमात्र देखिन्छ। छुपेरुस्तमहरुको त त्यही छायाँछविसम्म पनि गोचर हुँदैन। ती आफ्ना मत र विमत वा निवेदन र आक्षेपका पन्तुरा बोकेर अघि सर्छन्। र, जो जे हो, जो जस्तो हो र जो जताको हो, तिनले आफ्ना वचनमा आफ्ना वास्तविक अनुहार ख्वात्तै उजागर गर्छन्।
 मेरा ट्वीटे पार्टनरहरुको पहिलो कित्तामा मेरा शुभचिन्तकहरु स्नेहशील र मुस्कानमय मुद्रामा खुरखुर–खुरखुर प्रकट हुन्छन्। दृष्टिकोाँको साम्यता र भावनाको समानुभूतिका कारण ती मेरा निकटवर्ती मित्रहरु रहेछन्। सूत्र–वचनमा म जेसुकै लेखूँ, त्यसको ती कि त सह्राहना गर्छन् वा हाम्रै बूढाले भनेको कुरा हो भनेर मौन बस्छन्। ती पक्कै पनि न्यूनाधिक निजत्वसहितका मानिस हुन्, त्यसैले मसँग अवश्यै तिनका विमति हुँदा हुन्। तर मसँग थान थाप्न, विमति जनाउन वा घर्षणकारी मुद्रामा भिड्न ती कहिल्यै अघि सर्दैनन्। ट्वीटेको दोस्रो कित्तामा मसित बहुधा असहमत हुने मनुवाहरु पर्छन्। आफूसित केही न केही बौद्धिक सामथ्र्य र अभिव्यक्तिको कला हुनाले यी पार्टनरहरु धेरथोर शिष्ट र मर्या्दित तरिकाले मतिस विमति जनाउँछन्। यिनले मप्रति कठोर कटाक्ष नै गर्दा पनि शैलीगत विशिष्टताका कारण मलाई त्यो उतिसाह्रो तिक्त लाग्दैन।
 अनि एकथरी सीधा स्वभावका आदर्शवादी छन्, जो मलाई बडो प्रेमले यो जटिल जगत्मा पूरा गर्न नसकिने परामर्श दिइरहछन्। विनयशील भाकामा ती भन्छन्–गुरु! हजूरले वाद र विवाददेखि पर हटेर र दल र दलीय झडपभन्दा माथि उठेर स्वच्छ, पवित्र र कञ्चन कुराहरु लेखिदिए लोकलाई कति राम्रो हुन्थ्यो! म मान्छु, यो निःसन्देह सदाशयतायुक्त र सुन्दर परामर्श हो, तर दुर्भाग्यवश, दृष्टिकोाँ र स्वार्थमा चर्कोसँग ध्रुवीकृत भएको यो अस्वच्छ, अपवित्र र अकञ्चन जगत्मा यो परामर्शले गरिखान असम्भव छ। ध्रुव–ध्रुवमा, कित्ता–कित्तामा र कोण–कोणमा विभाजित एवं पलप्रतिपल घर्षणकारी जगत्मा वाद र विवाददेखि पर हट्नु भनेको जीवनदेखि नै पर हट्नु हो, र दल र दलीय झडपभन्दा माथि उठ्नु भनेको आफैँ आफ्ना कान समातेर माथि हावामा उठ्नुजस्तै हो। मलाई माफ गर मेरा प्रिय मित्रगण, हामी बाँचेको समाजमा यो ‘पर’ र ‘माथि’को कुनै अस्तित्व छैन।
आयो अब चौथो कित्ताका झक्की ट्वीटेहरुको कारुणिक प्रसङ्ग। साइबरको संसारका यी अजीवका जीव हुन्। यिनका सपाट दृष्टिमा जीवन सरल रेखामा सुरुसुरु हिँडछ्। र, जीवनलाई सदैव सरल रेखामा हिँडाउन यी ट्वीटेहरु गर्नुबिधि गिद्दी गर्छन्। यिनको अभिव्यक्तिको रुप बिल्कुल एकांकी र एक आयामिक छ। त्योबाहेक मानौँ अभिव्यक्तिको अर्को कुनै रुपको अस्तित्वबारे यी बिलकुल अनभिज्ञ छन्। यिनको सपाट बुझाइमा विमति र विद्वेषबीच कुनै भेद छैन। आलोचना र निन्दाबीच कुनै पार्थक्य छैन। ब्यङ्ग्य र भत्र्सनाबीच कुनै सीमारेखा छैन। व्यञ्जना र लक्षणाबीच कुनै बेग्लोपना छैन। यिनका दृष्टिमा जीवन खालि मालिक र भक्तमा विभक्त छ। यिनको परिभाषामा यी दुईथरी नाता र यी दुईथरी प्रवृत्तिबाहेक जीवनमा अन्य नाता र प्रवृत्तिको न कुनै अस्तित्व छ, न त्यस्तो अस्तित्वलाई यो नरलोकमा कुनै स्थान नै छ। यी ट्वीटेहरु साइबरका दूलाबाट कमिलाझैँ ह्वार्ह्वार्–ह्वार्ह्र्वा बाहिर निस्कन्छन् र मेरो गर्नु नगर्नु बद्ख्वाइँ गर्छन्। यी मलाई ‘तँ’को संज्ञाले सम्बोधन गर्छन्। जस्तो कि ‘तँ चोर, तँ गधा, तँ भाते, तँ किन नमरेको? तँ प्रचँडको पुच्छर, तँलाई बाबुरामले पैसा पठाउन छाड्यो कि कसो? साले, तँलाई परैबाट हान्दिउँ जस्तो’ आदि। जो आफ्नो मालिकको भक्त होइन उसलाई मेरा यी झक्की मित्रहरु परचक्री ठान्छन्।
मप्रति लक्षित यिनका दिव्य कथनहरुमा मानौँ ‘मेरो काइदाको मालिक हुँदाहुँदै तँ अर्काको भक्त हुने’ भन्ने भाव लुकिबसेको हुन्छ। यी ट्वीटेहरु ठोक्रामा शब्दका विषाक्त तीरहरु बोकेर मानौँ कुन बेला त्यो आउला र ठाकूँला भन्दै हर्दम्  कुरिबसेका हुन्छन्। अनि मेरो सूत्र–वचनके विषय, सन्दर्भ र अभिप्रायको एकरत्ती पर्वाह नगरी अन्धाधुन्ध तीर चलाउँछन्। रोचक कुरा के भने यस्ता आठ–दश ट्वीटेले ममाथि धावा बोलेपछि एउटा सानो मानिस खुर्खुर दगुर्दै आउँछ र यिनका नितम्ब वा ढाडमा पयर चुम्बन प्रदान गरी हावामा विलुप्त हुन्छ। त्यो दृश्य हेर्दै म मुसुमुसु हाँस्छु।
घडीको सुई हर्दम् सीमाबद्ध वृत्तभित्र घुमिरहे पनि मेरो समय सीमावद्ध छैन। त्यो अविच्छिन्नरुपले अगाडि बढिरहन्छ। तर मेरा यी चौथो काँटका ट्वीटे मित्रहरुको समय नित्य घडीको उही वृत्तभित्र घुमिरहन्छ। एकबारको जुनीमा के गर्ने र के नगर्ने, केलाई समर्थन गर्ने र केको विरोध गर्ने यसबारे मेरा आफ्नै मत र निष्ठाहरु छन्। यो गर्नु र नगर्नुको आदेश म कसैसँग कतै माग्दिनँ,  म आफ्नै अन्तस्करणबाट आदेश ग्रहण गर्छु।  म जे गर्छु वा जे गर्दिनँ त्यसका नतिजाहरुप्रति म स्वयं जिम्मेदार छु। समकालीन राजनीतिका न्यायमुखी परिवर्तनका एजेन्डाहरुको मूल बाहक को हो? हजूर–हामीलाई मन परे पनि मन नपरे पनि यसको अकाट्य उत्तर हो— माओवादी। अरु त अरु, उग्र सनातनीहरुसमेत अनिच्छापूर्वक यो कुरा मान्न विवश छन्। भीक्षण संघर्षको वेदीबाट जब मानव मुक्तिका एजेन्डाहरु उठ्छन्, विधिको लिखतमा तिनलाई लिकिरुणाद्ध गर्ने कर्ताहरु त हुन्छन् नै। मैले जम्माजम्मी तिनै एजेन्डा र तिनै कर्ताहरुप्रति क्रियाशील समभाव राख्ने गरेको छु। यो त बख्त बख्तको बात पो हो जी। 
जीवन कुनै स्थिर विन्दुमा अड्किएर जाम हुँदैन। जीवनका उकाली र ओराली हुन्छन्। र नै प्रगतिशील परिवर्तनका एजेन्डाका कर्ताहरुका जीवनका पनि आफ्नै उकाली र ओराली हुन्छन्। सामाजिक घर्षणको आगोबाट एजेन्डाको उठानकर्ता र बाहक आफ्नो सामाजिक–नैतिक दायित्वबाट च्यूत हुँदै गए त्यसलाई बाँदरले मरेको बच्चालाई बोक्न नछाडेझैँ बोकिरहने कि बिसाउने? म त बिसाउँछु। तर लोकको हित गर्ने परिवर्तनका एजेन्डाहरु भने नित्य–निरन्तर मेरो जीवन–यात्राका अभिन्न अङ्ग हुन्। बरु जीवन छाडिएला, म तिनलाई कहिल्यै छाड्दिनँ। तर फसाद छ, चौथो काँटका मेरा अविस्मरणीय ट्वीटे मित्रहरुलाई यो कुरा म कसरी बुझाउँकि ?
 आफ्नै शब्दहरुको ऐनामा यी ट्वीटे पार्टनरहरुका अनुहार विचित्रका देखिन्छन्। तीनवटा ‘म’प्रति अर्थात् माओवादी, मधेशी र जनजातिप्रति यिनका चित्तमा चर्को घृणा छ। यी माओवादीको बिम्बमा राक्षस देख्छन्। मधेशबासी सहनागिकहरुको अस्तित्वमा यिनलाई बिदेशी गन्हाउँछ। र, जनजातिहरुका पहिचानका आकांक्षामा यिनका आँखामा जातीय विद्वेषको चित्र नाच्छ। यी दुःखी हुन्, कारण जीवनका सबै जटिल प्रश्नहरुका उत्तर यी मनुवा रुढ परम्परामा, सरल रेखामा र सेतो–कालो रङमा खोजिहिँड्छन्। आफ्ना उत्तरहरु जब मेरा उत्तरहरुसँग मिल्दैनन्, यी मित्रहरु दाह्रा किट्दै मतिर धारे हात लगाउँछन्। त्यसो गर्दा तिनलाई आनन्द आउँछ भने तिनको आनन्दप्रति मलाई कुनै इर्ष्या छैन। यसरी तर्कना गर्दै म साइबरको जङ्गलबाट फुत्त बाहिर निस्कन्छु।
 मेरा ट्वीटे मित्रहरुको यो झुन्डमा थुप्रै छद्मभेषी अन्तरेहरु प्नि छन्। ती न साइबरको भित्तोमा आफ्नो फोटो टाँस्छन् न आफ्नो सक्कली नाम नै लेख्न आँट गर्छन्। अनुहार लुकाउँछन्, नाम लुकाउँछन् र मलाई भन्नु नभन्नु भन्छन्। रिसानी माफ होस् जी, अनुहार र नाम लुकाएर जीवनमा दुई नम्बरी क्रीडा गर्ने धन्दा त चोरको पो हो!
मुद्रण माध्यममा स्पेसको सीमा हुन्छ। त्यो सीमित स्पेसमा मुन्टो लुकाउने ठाउँ पाउन केही न केही योग्यता हुनैपर्छ। अलिकता अन्तर्दृष्टि र स्वप्नदृष्टि, अलिकता अभिव्यक्ति कला र अभिव्यक्तिको मर्यादा आदि। त्यो सीमाभित्र ठाउँ खोज्न क्यूमा उभिनेहरुको लर्को सदैव लामो हुन्छ। तीमध्ये कति अभागी त ठाउँ नपाएर सुस्केरा हाल्दै बीचैमा अलप हुन्छन्। उसो त त्यहाँ ठाउँ पाउने भाग्यमानीहरुको भाग्य पनि कठोर प्रतिस्पर्धाको चक्करमा सधैँ खतरामा हुन्छ। तर साइबरको जङ्गलमा भने स्पेस जति पनि छ। त्यो स्पेस पाउन न कुनै रोकटोक हुन्छ, न कुनै योग्यता खाँचो। त्यसैले ट्वीटर जगत्का चारनम्बरी मित्रहरुबारे मलाई दुःख एउटै कुरामा छ, यिनले जीवनमा कहिल्यै केही नसिक्ने पो हुन् कि!
 ‘उत्तरआधुनिक अन्तरेपथ’ निबन्ध संग्रहबाट (स्रोत ः सेतोपाटी)









Post a Comment

 
Top